Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

बागमती

संयुक्त रूपमा चुनावी सभा गर्दै सत्तारूढ गठबन्धन

इकागज |
कात्तिक १, २०७९ मंगलबार १८:२२ बजे

मकवानपुर- आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि सत्तारूढ गठबन्धनको सहमतिअनुसार मकवानपुरमा उम्मेदवार बनाइएका यि दलका उम्मेदवारहरूले संयुक्त रूपमै चुनावी सभा सुरु गरेका छन् ।

लोकतान्त्रिक वाम गठबन्धनको संयुक्त कार्यालय समेत स्थापनालाई तीव्रता दिइएको छ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मकवानपुरको क्षेत्र नम्बर १ का उम्मेदवार एवं नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार एवं नेकपा एकीकृत समाजवादी स्थायी कमिटी सदस्य विरोध खतिवडाले संयुक्त चुनावी प्रचार कार्यालयको उद्घाटन गरे ।


मकवानपुर गढी गाउँपालिको ८ वटा वडामध्ये ४ वटा वडा निर्वाचन क्षेत्र नम्बर १ र ४ वटा वडा निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ । ती वडामध्ये ४ वडा निर्वाचन क्षेत्र नम्बर १ को (क) मा पर्छ । यहाँ लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी छिन्तु उम्मेदवार छन् । ४ वटा वडा निर्वाचन क्षेत्र नम्बर २ को पनि (क) मा पर्छ, त्यहाँ पनि माओवादी पोलिटब्युरो सदस्य एवम् बागमती प्रदेशमा सामाजिक विकास मन्त्री कुमारी मोक्तान उम्मेदवार छिन् ।

कार्यलय उद्घाटन गर्दै निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले संविधान, संसद र लोकतन्त्रको हरण हुनबाट जोगाउन लोकतान्त्रिक वाम गठबन्धन कायम रहने बताइन् ।

'जसले यो संविधान अपनत्व गर्दै हस्ताक्षर गरेको छैन, त्यस्ता शक्तिहरुले लोकतन्त्र बचाउँछ भन्नु भ्रम हो,' उपाध्यायले भनिन् । उपाध्यायले आफू पहिलो पटक पूर्वी मकवानपुरको भूगोलमा उम्मेदवार भए पनि पूर्वी मकवानपुरको विकासमा उल्लेख्य बजेटहरू पहिलादेखि नै व्यवस्था गर्दै आएको बताइन् ।

कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार, नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले पश्चिम मकवानपुरको विकासमा आफ्नो दशकौँ लगानी रहेको बताए । बिजुली, खानेपानी, स्वास्थ्य, शिक्षा, विकास, भौतिक पूर्वाधार सबै क्षेत्रमा कायापलट गराउने काममा आफ्नो भूमिका रहेको बताए ।

'तीन वर्ष मुख्यमन्त्री भएका कसैले कुनै एउटा योजना १० करोड माथि पारेको भेटिनँ, मेरो कुरा काटेरै दिन बिताएछन्,' उनले भने । खतिवडाले केपी ओलीले दुई/दुई पटक संसद् विघटन गरेर लोकतन्त्र मास्न खोजेको र अहिले पनि कमल थापा, राजेन्द्र लिङ्देनहरू बोकेर संविधानको मर्ममा प्रहार गर्दै अराजकता मच्चाउन खोजेको आराेप लगाए ।

कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री एवं माओवादी पोलिटब्युरो सदस्य कुमारी मुक्तानले पाँच वर्षमा आफ्नो भूगोलमा विकासका कार्यक्रमहरू पारेको बताउँदै गठबन्धन विजय नजिक पुगिसकेको दाबी गरिन् ।

बागमती केन्द्र सरकार, प्रदेश सरकारमार्फत हुने विकास निर्माणका कामका लागि पनि गठबन्धनलाई मत दिन आग्रह गरिन् । उनी मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ को (क) मा उम्मेदवार छिन् ।  

यसैगरी नेकपा माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी छिन्तुले नेकपा एमाले र राजावादी शक्तिहरूको बदमासीविरुद्ध गठबन्धन उभिएको र मकवानपुरको समग्र विकासका लागि मत दिन आग्रह गरे । अनेक आश्वासन दिने, भ्रम फैलाउनेबाहेक एमालेको खास काम नदेखिएको पुलामीको भनाइ थियो । उनी मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ को (क) मा उम्मेदवार छन् ।

नेपाली कांग्रेस मकवानपुरका नेता एवं मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ को (ख) का उम्मेदवार आनन्दराम पराजुलीले एमालेले 'तपाईंको पार्टीका उम्मेदवार नै छैनन्' भन्दै मतदाता भड्काउने बाहेक कुनै नयाँ एजेण्डा नभएको बताए ।

उनले गठबन्धनले सबैलाई समेट्ने र मकवानपुरको विकासका लागि पर्ने भएकाले मकवानपुरका ६ जना नै उम्मेदवारलाई मत दिन आग्रह गरे । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ (ख) का उम्मेदवार एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ भने पश्चिम मकवानपुरको मनहरी लगायतका भूगोलमा भएको कार्यक्रममा सरिक भएनन् ।


Author

थप समाचार
x