खतिवडा र बानियाँलाई आयोगले सोध्यो स्पष्टीकरण
मकवानपुर- आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको चुनावी प्रचारमा रहेका विरोध खतिवडा र इन्द्रबहादुर बानियाँलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आयोगले एकीकृत समाजवादीका मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार खतिवडा र नेपाली कांग्रेसका मकवानपुर क्षेत्र नम्बर २ ख का प्रदेश सभा उम्मेदवार बाँनियालाई स्पष्टीकरण सोधेको हो । आफ्नो निर्वाचन क्षेत्रभित्र रहेको मनहरी बहुमुखी क्याम्पसका विद्यार्थीलाई भ्रमणका लागि १५/१५ हजार दिएको समाचार आएपछि आयोगले खतिवडा र बाँनियालाई स्पष्टीकरण सोधेको हो ।
उनीहरूले नगद रकम प्रदान गरेपछि सामाजिक सञ्जालमा समेत आलोचना गरिएको थियो । आयोगले मतदातालाई प्रभाव पार्ने गरी रकम हस्तान्तरण भएको बारे के कसो भएको हो ? भनी प्रश्न गरेको छ ।
'यदि तपाईंबाट नगद वितरण कार्य भएको हो भने निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदफा (२) बमोजिम किन कारबाही हुनु नपर्ने हो ?' आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ । २४ घण्टाभित्र स्पष्टीकरण दिन आयोगले उनीहरूलाई भनेको छ ।
बानियाँ र खतिवडाले शुक्रबार निर्वाचन आचारसंहिताविपरीत पैसा बाँडेपछि क्याम्पसको आधिकारिक फेसबुक पेजमै उनीहरूलाई धन्यवाद भन्दै मतदानका लागि अपील गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया