Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

बागमती

रैथाने प्रजातिको अन्‍न प्रवर्द्धन गर्दै मकवानपुरगढी

इकागज |
कात्तिक १२, २०७९ शनिबार १८:११ बजे

मकवानपुर- हावापानी र माटो सुहाउँदो प्रजातिको अन्न तथा फलफूल उत्पादन गर्न सके विकटको पाखो र भिरालो जग्गाबाट पनि उपार्जन लिन सकिन्छ ।

जग्गा बाँझो नराख्‍नका लागि तीनै तहको सरकारले प्रोत्साहन गर्ने लक्ष्य लिए पनि कस्तो जग्गामा के लगाउने भन्नेबारे रणनीति र कार्यनीति देखिँदैन । दुरगामी भिजन नभएपछि ग्रामीण भेगका जमिन बाँझो नै रहने गरेका छन् । स्थानीयका अनुसार रैथाने बालीनाली पनि लोप हुँदै आएका छन् । मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ६ तिर केही वर्ष अघिसम्म राज्मा (रातो सिमी) प्रशस्तै उत्पादन हुने गरेको थियो ।


उत्पादन घट्न थालेपछि एक दशकदेखि यो सिमी लगाउनै छाडिएको स्थानीय कल्पना देवकोटाले बताइन् । 'हामी रातो सिमी, सेतो सिमी र कोदो लगाउथ्यौँ,अहिले फल्नै छाड्यो, बारी बाँझै छ,' उनले भनिन् ।

यता गाउँपालिकाकाे चिनो भनिने रैथाने धानबाली लगाउन किसानलाई प्रोत्साहन गर्दै आइएको छ । नेपालको उच्च पहाडी क्षेत्रमा परापूर्वकालदेखि धानकोदो (चिनो) 'पाेर्साे मिलेट' खेती हुँदै आएको पाइन्छ ।

विभिन्न अध्ययन अनुसन्धानले नेपालका विभिन्न पहाडी जिल्लाहरूमा यसको खेती भइरहेको उल्लेख भएपनि मकवानपुर जिल्लाको मकवानपुरगढी वडा नं. १ मा पनि करिब ५० वर्षदेखि धानकोदो खेती हुँदै आइरहेको वडा न.१ का वडाध्यक्ष आईत सिं लोले जानकारी दिए ।

केही वर्ष पहिला बढी मात्रामा लगाउँदै गरेको धानकोदो पनि क्रमश: घट्दो अवस्थामा छ । मकवानपुरगढी वडा न.१ रानीडाँडा लगायतका स्थानमा हाल अनुमानित एक सय रोपनी क्षेत्रफलमा धानकोदो खेती लगाएको कृषक छोइशान्ति दोङ्गले बताइन् । दोङ्गले अहिले ५ कट्ठामा धानकोदो लगाएकी छिन् ।

धानकोदो (चिनो) को दाना फलेर भुस हटाई भात वा खीरका साथै दाना भुटेर वा पिठो बनाएर विभिन्न परिकार बनाई खाने गरिन्छ । यसको दानामा ११.९ प्रतिशत पानी १२.५ प्रतिशत प्रोटिन, १.१ प्रतिशत चिल्लो पदार्थ, ७०.४ प्रतिशत कार्बोहाइड्रेट पाइन्छ ।

मधुमेह रोगको समस्या भएका मानिसका लागि चिनो अति उत्तम खानेकुरा मानिन्छ । चिनोमा फेनोल्स, फाइटेट्रस नाम गरेका क्यान्सर निरोधक फाइटोकेमिकल्स र क्याल्सियम, म्याग्नेसियम, सोडियम, म्याग्निज, आइरन जस्ता खनिज तत्वहरू पाइने मकवानपुर गढी गाउँपालिका कृषि शाखा प्रमुख कृषि अधिकृत चन्द्रकान्त चौधरीले बताए । हाल यो धान पनि पाक्ने बेला भएको छ । 


Author

थप समाचार
x