Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

बागमती

पर्यटन प्रवर्द्धनका लागि थाहा नगरपालिकाले फोटो प्रदर्शनी गर्ने

इकागज |
कात्तिक १६, २०७९ बुधबार २०:३७ बजे

मकवानपुर- मकवानपुरको थाहा नगरपालिकाले थाहा फोटो प्रदर्शनी गर्ने भएको छ । पर्यटन प्रवर्द्धनका लागि थाहा नगरपालिकाले काठमाडौँको बसन्तपुरको कालभैरव डबलीमा थाहा ३ दिन फोटो प्रदर्शनी गर्ने भएकाे हाे । थाहा फाेटाे प्रदर्शनी कार्तिक १८, १९ र २० गते आयोजना गर्न लागिएको थाहा नगरपालिकाले जनाएकाे छ ।

पर्यटन प्रवर्द्धनका लागि फोटोको माध्यमबाट प्रचारप्रसार गरेर घुम्न आउने पर्यटकका लागि प्रेरित गर्ने उद्देश्यसहित ३ दिने फोटो प्रदर्शनी आयोजना गर्न लागिएको थाहा नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर विष्टले जानकारी दिए । प्रदर्शनीमा थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका क्षेत्रको प्राकृतिक सुन्दरता, हिमशृङखलाको दृश्यावलोकन, ऐतिहासिक मठमन्दिर, पार्टी पौवा, सभ्यता संस्कृति, धार्मिक क्षेत्र मेला जात्रा, ग्रामीण जीवनशैली, स्वच्छ तथा सफा वातावरणका फोटोहरू राखिने नगरप्रमुख बिष्टले बताए ।


फोटो प्रदर्शनी काठमाडौँ उपत्यकाका विभिन्न संघ संस्था, शैक्षिक संस्थाहरू, पर्यटन व्यवसायी, ट्राभल एजेन्सी र आमनागरिकलाई लक्षित गरेर आयोजन गरिएको हो । प्रदर्शनीमा थाहा र इन्द्रसरोवरका विभिन्न विधाका करिब एक सय तस्बिरहरू अवलोकनका लागि राखिने छ । यसैगरी तस्बिरका बारेमा जानकारी खुल्ने लेख समेत राखिने भएकाे छ । कार्यक्रम स्थलमा सूचना केन्द्र समेत स्थापना गरिने नगरपालिकाले जनाएको छ ।

त्यसैगरी प्रदर्शनीमा राखिएका विभिन्न फोटोहरूका बारेमा जानकारी दिन स्वयंसेवकहरू समेत व्यवस्था गरिने छ । प्रदर्शनी प्रत्येक दिन बिहान १० देखि साँझ ४ बजेसम्म हुने बताइएकाे छ । कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले कार्तिक १८ गते बिहान साढे ११ बजे गर्ने भएका छन् । थाहा फाेटाे प्रदर्शनी, २०७९ का संयोजन इन्द्रबहादुर श्रेष्ठले कार्यक्रममा उपस्थितिका लागि सम्पूर्णमा आग्रह गरेका छन् ।


Author

थप समाचार
x