Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

बागमती

घरदैलो अभियानमा मोक्तान : जनताकाे माग लालपूर्जा

इकागज |
कात्तिक १७, २०७९ बिहीबार १४:५२ बजे

मकवानपुर- मकवानपुरकाे प्रदेश सभा सदस्य पदका उम्मेदवार कुमारी मोक्तानले आजबाट आफ्नाे क्षेत्रमा घरदैलाे अभियान सुरु गरेकी छिन् । मकवानपुरकाे क्षेत्र नम्बर २ काे (क) का वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)की मोक्तानले गरेकाे घरदैलाे अभियानमा हेटौंडा ११ सिमलटारका स्थानीयले जग्गाकाे लालपूर्जा उपलब्ध गराइदिन आग्रह गरेका थिए ।

मोक्तानले बिहीबार बिहान हेटाैंडा ११ सिमलटारमा अभियान सुरु गर्दै सिमलटारवासीको समस्या, गुनासो र अपेक्षाहरू सुनेकी थिइन् । आफ्नो टोलमा मत माग्दै आइपुगेकी मोक्तानसँग स्थानीयहरूले बसोबास गर्दै आएको जमिनको लालपूर्जा छिट्टै उपलब्ध गराउन पहल गरिदिन आग्रह गरेका हुन् ।


मोक्तानसँगको भेटमा एक सय छ वर्षीया धनमाया पाख्रिनले भनिन्, ‘यो बस्तीमा बाटो, बिजुली ल्याइदिनुभयो । अब एउटा पूर्जा दिनुहोला जमिनको ।’ अघिल्लो पटक पनि मोक्तनलाई आफूहरूले जिताएर पठाएको बताउँदै उनले फेरि मत दिन पाउने भएपछि खुसी लागेको बताइन् ।

घरदैलो अभियान पछि काेणसभामा बोल्दै मोक्तानले यस क्षेत्रको समस्याबारे परिचित रहेको र लालपूर्जा उपलब्ध गराउन आफूले सकेको पहल गर्ने बताइन् । ‘तपाईंहरूले तटबन्धन र सडक स्ल्याप माग्नुभयो, त्यो पूरा भएको छ . अब जग्गधनी लालपूर्जाको लागि पनि म तपाईंहरूसँगै रहेर पहल गर्नेछु,' मोक्तानले भनिन्, ‘गठबन्धनलाई विजयी गराइदिनुहोला । हाम्रो सरकार बनेपछि तपाईंहरूका धेरै अपेक्षा हामी पूरा गर्नेछौं ।’

सिमलटारमा मकवानपुरको विभिन्‍न क्षेत्रबाट आएर बसोबास गरेका करिब दुई हजार परिवार रहेको छ ।


Author

थप समाचार
x