रजैया बस्ती बचाउन बाइपास सडक निर्माण गर्छु : बर्ताैला
मकवानपुर- प्रतिनिधि र प्रदेश सभा निर्वाचनकाे मिति नजिकिएसँगै मकवानपुरमा उम्मेदवारहरू घरदैलाे, काेणसभा तथा भेटघाटमा व्यस्त हुन थालेका छन् । कार्तिक १७ गतेबाट उम्मेदवार तथा राजनैतिक दलहरूले चुनाव प्रचारप्रसार गर्न पाउने भएपछि कार्यक्रम समेत तीव्र गर्दै लगेका छन् ।
२ प्रतिनिधि सभा तथा ४ प्रदेश सभा क्षेत्र रहेकाे मकवानपुरमा सत्ता गठबन्धन तथा नेकपा एमालेकाे बीच प्रतिस्पर्धा हुने आकलन गरिरहँदा दुवै पक्षले प्रचारप्रसार व्यापक गरिरहेका छन् । चुनावी घरदैलाेमा स्थानीय मतदाताले उम्मेदवारसँग आफ्नाे क्षेत्रमा विकास निर्माण, शिक्षा, स्वास्थ्य , लालपूर्जालगायतका आधारभूत कुरामा सुलभ पहुँचकाे माग गरेका छन् भने उम्मेदवारहरूले समेत विभिन्न आश्वासन दिन थालेका छन् ।
प्रचारप्रसारकै क्रममा नेकपा एमालेबाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार महेश बर्तौलाले मनहरीको रजैया बस्ती बचाउन बाइपास सडक निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । बर्ताैलाले आफू निर्वाचित भएमा रजैया बस्ती बचाउँदै बाइपास सडक निर्माणमा जोड दिने बताए । मनहरीको रजैयामा नेकपा एमालेद्वारा आयोजित कोणसभा तथा भेटघाट कार्यक्रममा बर्तौलाले रजैया बस्तीलाई राप्ती खोलाबाट बचाउँदै रजैयादेखि आश्रम क्षेत्रसम्म बाइपास सडक निर्माणमा आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
यसैगरि नेकपा एमालेको निर्वाचन केन्द्रित कार्यक्रममै मनहरी ८, सिम्पानीस्थित टासी फुन्छ्योक छोइलीङ्ग गुम्बामा ६५ फिट अग्लो बुद्दको मूर्ति निर्माण गर्ने बताएका छन् । मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती हुँदा सुरुवात गरिएको गुम्बामा पर्यटन क्षेत्र विकास गरी पर्यटन भित्र्याउने, तामाङ भाषा, संस्कृति विकासमा आफूले महत्त्वपूर्ण भूमिका खेल्ने बर्ताैलाले बताए ।
उम्मेदवार बर्तौलाले आफूले मनहरी राक्सिराङ्ग र कैलाश भेगमा अशिक्षा, गरिबी र बेरोजगारी रहेको बताउँदै शिक्षा, स्वास्थ्यको विकास, युवा श्रम शक्तिलाई रोजगारीसँग जोड्ने, स्वरोजगार सिर्जना, सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउने आफ्नो योजना रहेको प्रष्ट पारे ।
कार्यक्रमपछि रजैया आसपास र ज्यामिरेको केही क्षेत्रका स्थानीयसँग बर्ताैलाले भेटघाट समेत गरेका थिए । कार्यक्रममा क्षेत्र नम्बर–२ को प्रदेश सभा (ख) का उम्मेदवार लालबहादुर थापाले अन्य दलका उम्मेदवारलाई लक्षित गर्दै फिरन्ते उम्मेदवार भएर पाहुना बन्दै भोट मागेको बताए । थापाले आफू चेपाङ्ग र तामाङ्ग समुदायको बीचमा खाई, खेली हुर्केर जनताको सेवा गर्दै आइरहेको तथा तामाङ्ग र चेपाङ्गको जात्रा, संस्कार र संस्कृतिमा सहभागी भई संस्कृति जगेर्नामा लागेकाे समेत बताए । यसैले यस क्षेत्रबाट नेकपा एमालेले जीत हासिल गर्ने बताए ।
कार्यक्रममा एमाले मकवानपुरको नेता श्रीधर पोखरेलले एमालेको उम्मेदवार ३२ लक्षणले युक्त रहेको दाबी गरेका थिए । पोखरेलले गठबन्धनका उम्मेदवारलाई इंगित गर्दै भोटे कुकुर पालेर गेटमा ठूला ताल्चा झुण्ड्याउने काजी साप जसरी बोरामा लुटेको धन बोकेर गाउँ पसेको आरोप लगाए । उनले मंसिर ४ गते जनताले सूर्य ध्वजावाहक उम्मेदवारलाई जिताएर न्याय गर्ने र एमालेको सरकार निर्माण भइ पाँच वर्ष जनमुखी काम गरिने दाबी गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया