सरकार बनेपछि १० हजार गरिबका घर बनाउँछौँ : बानियाँ
मकवानपुर- मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर-२ को प्रदेश सभा (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँले गरिब निमुखा जनतालाई सुरक्षित आवासको व्यवस्था गर्न १० हजार घर बनाउने प्रतिबद्धता जनाएका छन् । नेपाली काँग्रेस बागमती प्रदेश सभापति तथा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका बानियाँले गठबन्धनकाे सरकार बनेमा ५ वर्षमा १० हजार घर बनाइने बताएका हुन् ।
भीमफेदी गाउँपालिका–९ बाघमारामा गठबन्धनकाे चुनावी सभालाई सम्बोधन गर्दै बानियाँले प्रदेशमा गठबन्धनको सरकार बनेपछि गरिब, निमुखा तथा पिछडिएका वर्गलाई सुरक्षित आवास बनाइदिने बताएका हुन् । ‘आर्थिक अवस्था कमजोर भएकै कारण नाना, छाना र खानाबाट आम प्रदेशवासी बञ्चित हुनुपर्ने छैन । निर्वाचनपश्चात बागमती प्रदेशमा गठबन्धनको सरकार बन्छ । हामी ५ वर्षको अवधिमा १० हजार घर बनाउने योजनामा छौँ,’ उनले भने ।
नेकपा एमाले सरकारमा छँदा पूर्वाधार विकासको कामलाई उपेक्षा गरे पनि गठबन्धनको सरकार आएसँगै १० महिनाको अवधिमा अर्बौं बजेट क्षेत्र नम्बर २ कै लागि विनियोजन गरिएको उनले बताए । उनले विश्व स्वास्थ्य संगठनले गाँजालाई लागूऔषधको सूचीबाट हटाइसकेको अवस्थामा गठबन्धनको सरकारले नेपालमा उत्पादित गाँजालाई औषधिका रूपमा विदेश निर्यात गर्ने र गाँजा ओसारपसारको मुद्दामा परेकाहरूलाई विधेयक बनाएर जेलबाट निकाल्ने बताए ।
गठबन्धनको क्षेत्र नम्बर–२ प्रदेश सभा (क) की उम्मेदवार कुमारी मोक्तानले एमालेले आफ्नो प्रदेश र स्थानीय सरकार हुँदा विकासका कुनै काम गर्न नसकेको भन्दै गठबन्धनको प्रदेश सरकारले छोटो समयमा गाउँमा प्रयाप्त बजेट हालेको बताइन् । जनताको हरेक सुखदु:खमा लोकतान्त्रिक बाम गठबन्धन साथमै रहने उनले प्रतिबद्धता जनाइन् ।
कांग्रेस भीमफेदी–९ का सभापति राजकुमार पुडासैनीको सभाध्यक्षतामा भएको कार्यक्रममा, नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देल, गठबन्धन अनुगमन समितिका जिल्ला संयोजक माईकल रामचन्द्र अर्याल, माओवादी केन्द्रका जिल्ला सदस्य आत्माराम मोक्तान, कांग्रेस क्षेत्रीय प्रवक्ता मिलन पुडासैनीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया