गुमनाम महिला उम्मेदवार, ७ मध्ये चर्चामा २ अनुहार मात्रै
मकवानपुर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि मकवानपुरबाट कुल ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा ७ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । २ प्रतिनिधि सभा र ४ प्रदेश सभा रहेको मकवानपुरमा एकातिर प्रत्यक्षतर्फ महिलाको उपस्थित भने न्यून छ ।
अर्कोतिर स्वतन्त्र उम्मेदवारी गर्नेहरुको चर्चा नै हुने गरेको छैन । दलकै पछि लागेर दलका उम्मेदवारहरुको मात्रै चर्चा गर्ने परीपाटीको कारण आफूहरु ओझेलमा परेको गुनासो अन्य महिला उम्मेदवारहरुले गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार प्रत्यक्षतर्फ प्रतिनिधि सभामा मकवानपुरबाट एक मात्रै महिलाको उम्मेदवारी रहेको छ । प्रतिनिधि सभामा मकवानपुरको क्षेत्र न १ बाट नेपाली काँग्रेस नेतृ महालक्ष्मी उपाध्याय डिनाको उम्मेदवारी रहेको हो । उनी सत्ताधारी गठबन्धनको साझा उम्मेदवार हुन् ।
यसैगरी प्रदेश सभातर्फ भने ६ जना महिलाको उम्मेदवारी परेको छ । जसमा कुमारी मोक्तान १ जना मात्रै राजनीतिक दलबाट उम्मेदवार बनेकी हुन् भने अन्य ५ जना स्वतन्त्र उम्मेदवार हुन् ।
मकवानपुरको प्रतिनिधि सभा २ को प्रदेश सभा ख मा लक्ष्मी गुरुङ, निर्मला गौतमले नेपाली काँग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिएका छन् । कमला गौतम र लक्ष्मी अधिकारी लामिछानेले पनि प्रदेश सभा २ को ख तर्फ स्वतन्त्रण उम्मेदवारी दिएका हुन् ।
यसैगरी प्रतिनिधि सभा २ को प्रदेश सभा ख बाट चुनावी मैदानमा आउने गरी शान्ति दाहालले पनि स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार मकवानपुर जिल्लामा प्रतिनिधि सभातर्फ क्षेत्र १ मा २ स्वतन्त्र समेत गरी १६ जनाले उम्मेदवारी दिएका छन् । भने प्रतिनिधि सभाको क्षेत्र २ मा १ स्वतन्त्र समेत गरी १० जनाको उम्मेदवारी परेको छ ।
यता प्रदेश सभातर्फ भने ४ क्षेत्रमा ४३ जनाको उम्मेदवारी परेको छ । जसमा १४ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । प्रदेश सभा १ को क मा ३ जना, ख मा ६ जना तथा प्रदेश सभा २ को क मा २ जनार ख मा ३ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
निर्वाचनमा हारजितलाई सहज बनाउनको लागि गरिएको गठबन्धनको कारण महिला उम्मेवदार कम भएको विश्लेषण गरिएपनि यस पटक गठबन्धनबाटै २ जना महिलाहरु प्रत्यक्षमा उम्मेदवार बने तर, गठबन्धनसँग प्रतिष्पर्धामा उत्रेका अन्य दलहरुले भने महिललाई उम्मेदवार बनाएनन् । महिलाको सिट सुरक्षित गर्नको लागि आफू प्रत्यक्षमा आएको नेपाली काँग्रेस नेतृ महालक्ष्मी उपाध्यायले बताइन् ।
यसैगरी प्रत्यक्षतर्फ तेस्रो लिङ्गीबाट पनि उम्मेदवारी शून्य रहेको निर्वाचन कार्यालयको तथ्याङ्कले देखाएको छ ।
मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारहरू मत माग्न मतदाताको घर आँगन पुग्न थालिसकेका छन् । विभिन्न आश्वासन बाँड्दै मकवानपुरका उम्मेदवारहरू मत माग्न टोल/टोल पुग्ने गरेका छन् ।
जिल्लामा प्रतिनिधिसभाको निर्वाचनको लागि क्षेत्र नम्बर एकमा दुई स्वतन्त्रसहित १६ र क्षेत्र नम्बर २ मा एक स्वतन्त्रसहित १० गरी २६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । यसै गरी प्रदेशसभाको निर्वाचनको लागि क्षेत्र नम्बर १ (क) मा ८ जना, (ख) मा १० तथा क्षेत्र नम्बर २ (क) मा १० जना र (ख) मा १५ गरी ४३ जनाले उम्मेदवारी दर्ता गराएकोमा जिल्लाका राजनीतिक दलको तर्फबाट दुई जना महिलाले मात्रै प्रत्यक्ष तर्फको टिकट हात पारे ।
मकवानपुरमा मात्रै होइन देशभर नै राजनीतिक दलहरूले प्रत्यक्ष निर्वाचनतर्फ महिलालाई टिकट दिन कञ्जुस्याइँ गरेका छन् । संविधानले प्रतिनिधिसभा र प्रदेशसभामा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । तर प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि २३ असोजमा मनोनयन गराएका उम्मेदवारमध्ये नौ प्रतिशत हाराहारी मात्रै महिला छन् । प्रमुख राजनीतिक दलहरूमा महिला उम्मेदवारको हिस्सा झनै न्यून छ ।
जिल्लामा राजनीतिक सत्ता गठबन्धन तर्फबाट दुई महिलाले प्रत्यक्ष तर्फको टिकट पाएका हुन् । पाँच दलीय सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसको तर्फबाट महालक्ष्मी उपाध्याय (डिना) ले मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा र नेकपा माओवादी केन्द्रबाट कुमारी मोक्तानले प्रदेश सभा क्षेत्र नम्बर २ को (ख) मा उम्मेदवारी दिएकी छन् । अन्य दलहरु नेकपा एमाले, एकीकृत समाजवादी, जनता समाजवादी लगायतका पार्टीहरूले भने प्रत्यक्ष तर्फ महिलालाई अवसर दिएका छैनन् । नेकपा एमाले मकवानपुरले सूर्य चिन्हका लागि ६ जना नै पुरुष उम्मेदवार मात्रै खडा गरेको छ ।
उम्मेदवार चयनको प्रक्रिया सुरु नहुँदै महिला नेतृहरूले सडकदेखि सदनसम्म प्रत्यक्ष निर्वाचनमा महिलाको प्रतिनिधित्व बढाउनुपर्ने सवाल उठाउँदै आएका थिए । उम्मेदवार सिफारिसका समयमा पनि आफ्नो हक अधिकारको लागि महिलाहरूले आवाज नउठाएका भने होइनन् । महिलाको मान राख्नैको लागि भए पनि सिफारिसमा नाम राखिएता पनि केन्द्रको आदेश भन्दै प्रत्यक्ष तर्फको उम्मेदवारीबाट महिलाहरूलाई पछि पार्दै आइने चलनको अन्त्य यो निर्वाचनमा पनि हुन नसकेको प्रस्ट छ । निर्वाचन आयोगले भने दलहरूलाई एक तिहाइ सिटमा महिलालाई उम्मेदवार बनाउन निर्देशन दिएको थियो । तर दलहरूले सार्वजनिक बहस र आयोगको निर्देशन समेतलाई लत्याउँदै उम्मेदवार चयनमा पुरानै प्रवृत्ति दोहोर्याएका छन् । संसद्मा महिलाको हिस्सा एक तिहाइ पुर्याउन दलहरूले फेरि पनि समानुपातिक उम्मेदवारबाटै बढी प्रतिनिधित्व गराउनुपर्ने भएको छ ।
दलका महिला उम्मेदवार ढुक्क, अन्यलाई छटपटी मात्रै
“दलको तर्फबाट टिकट पाएर मैदानमा आउँदाको हैसियत नै अर्कै हुन्छ” एक स्वतन्त्र उम्मेदवारले भनिन् “उहाँहरु जतिबेला पनि दलबल समित हिड्नुहुन्छ, खर्चमा पनि साथ सहयोग हुन्छ, हामी एक्ला एक्लै हुन्छौ, खर्च पनि गर्न सक्दैनौ, हाम्रा कार्यकर्ता पनि हुनुहुन्न धेरै, अनि प्रचारमा पछाडि हुन्छौ ।”
यसअघि पटकपटक चुनावी मैदानबाट पराजय भोगेकी नेपाली काँग्रेस नेतृ महालक्ष्मी यसपटक चुनाव जित्नेमा ढुक्क छिन् । गठबन्धन दलका उम्मेदवारहरू आफूलाई मत दिन हतारमा रहेको उनले प्रतिक्रिया दिँदै आइरहेकी छिन् । यस अघिका हारहरूले धेरै पाठ सिकेर आएको कारण आगामी निर्वाचनमा जित्नेमा ढुक्क रहेको उनी बताउँछिन् ।
२०४८ सालको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर(२ बाट उम्मेदवार बनेकी उनी तत्कालीन समयमा एमालेका उम्मेदवार विरोध खतिवडासँग पराजित भएकी थिइन् । २०५१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि उनी खतिवडासँगै पराजित भइन् । २०५६ मा भएको आमनिर्वाचनमा उनी उम्मेदवार बनिनन् । २०७४ सालमा भएको निर्वाचनमा पनि डिना पुनः एक पटक खतिवडासँगै पराजित हुन पुगिन् । अघिल्ला निर्वाचनहरूमा हार व्यहोर्न परेता पनि आगामी प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धन भएकोले विजयी हुनेमा ढुक्क रहेको उनको दाबी छ ।
अघिल्लो प्रदेशसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित मोक्तान आगामी निर्वाचनमा २ (क) बाट चुनावी मैदानमा होमिन लागेकी छन् । २०७४ सालको निर्वाचनमा नेकपा एमालेसँगको गठबन्धनमा विजयी बनेकी उनी आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको बताउँछिन् । दुई राजनीतिक दल हुँदा जितेकी उनलाई पाँच दलीय गठबन्धनले अझै भरोसा बटुलिएको छ । प्रत्यक्ष तर्फको निर्वाचनमा जनताको मतले आफूलाई जिताउने उनको भनाइ छ । पार्टीको निर्णयले नै आफूले टिकट पाएको बताउँदै मोक्तान जनताको साथ पाइनेमा दुई मत नरहेको बताइन् ।
१६ वर्षको उमेरमा जनयुद्धमा होमिएकी नेकपा माओवादी केन्द्रकी नेतृ मोक्तान नेकपा माओवादी केन्द्रबाट २०७४ सालको प्रदेशसभा निर्वाचनमा मकवानपुर २ (क) मा प्रदेशसभा सदस्य निर्वाचित मोक्तान यसअघि दुई पटक सांसद भइसकेकी हुन् । अघिल्लो निर्वाचनमा उनी १३ हजार ८९ मतको फराकिलो अन्तरले प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन् ।
तत्कालीन नेकपा माओवादी शान्ति सम्झौतामार्फत संसदीय राजनीतिमा आएपछि २०६३ सालमा मोक्तान संसद सदस्य मनोनीत भएकी भएकी थिइन् । उनी २०६४ सालमा मकवानपुर ४ नम्बर निर्वाचन क्षेत्रबाट संविधानसभा सदस्य निर्वाचित भइन् ।
मोक्तान २०५६ सालमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको अध्यक्ष हुँदा हेटौंडाको बुद्ध चोकबाट पक्राउ परेकी थिइन् । एक वर्ष जेल जीवन बिताएकी उनी २०५८ सालमा तत्कालीन नेकपा माओवादीको जिल्ला जनसरकार प्रमुख, २०५९ सालमा जिल्ला सेक्रेटरी भएकी थिइन् । मोक्तान २०६४ सालमा मकवानपुर इन्चार्ज भएकी थिइन ।
परिवार भन्दा पार्टी राजनीतिमा आफूहरुले समय लागएको कारण पार्टीले आफूहरुको लागि सहयोग गर्नु कर्तव्य ठान्छिन् मोक्तान् । “मेरो व्यक्तिगत हार जित हैन, यो सिङ्गो पार्टी र गठबन्धनको हारजितको विषय हो, त्यसैले पनि हामी सबै एक भएर मैदानमा छौ” मोक्तानले भनिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया