बागमती गाउँपालिकामा पहिलाे पटक नमुना मतदान
मकवानपुर- मकवानपुरको बागमती गाउँपालिकामा पहिलाे पटक नमुना मतदान अभ्यास गरिएकाे छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन लक्षित नमुना मतदान अभ्यास गरिएकाे प्रदेश निर्वाचन कार्यालयले जनाएकाे छ ।
प्रदेश निर्वाचन कार्यालय हेटौंडाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी आइतबार गाउँपालिका कार्यालय झुरझुरेमा नमुना मतदानको आयोजना गरेको हो ।
निर्वाचनमा मतदातालाई स्पष्टता दिन तथा मतदान केन्द्रसम्म पुग्ने, मतदान कति ठाउँमा दिने, कसरी मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्नेलगायत जागरुक बनाउन नमुना मतदानको आयोजना गरिएको प्रदेश निर्वाचन कार्यालय बागमतीका निर्वाचन अधिकारी लुम्बनाथ पोखरेलले जानकारी दिए । उनले नमुना मतदानबाट मतदाताहरूलाई मत बदर हुनबाट जोगाउन मद्दत गर्ने समेत बताए ।
नमुना मतदानमा महिला र पुरुष गरी ५३ जना मतदाता सहभागी भएका थिए । नमुना मतदानका क्रममा प्रतिनिधि सभा प्रत्यक्षतर्फको मात्रै मतगणना गरिएको थियो । जसमा खसेको ५३ वटा मतमा ५२ सदर भएको र १ वटा मत बदर भएकाे पोखरेलले बताए । नमुना मतदानकाे अभ्यास साेमबार बकैया गाउँपालिकामा गरिने बताइएकाे छ ।
यसैगरी, मकवानपुरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएकाे छ । गत शुक्रबारबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएकाे निर्वाचन अधिकारी पाेखरेलले जनाएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालयले मकवानपुरको १० वटा स्थानीय तहको १ सय २ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सुरु भएको हाे ।
मकवानपुरमा मतदाता शिक्षा कार्यक्रमका लागि स्थानीय तहहरूसँगकाे समन्वयमा वडा तहमा कर्मचारी परिचालन गरी मतदाता शिक्षा सुरु गरिएको पोखरेलले जानकारी दिए । वडा–वडामा खटिएका स्वास्थ्य स्वयंसेविकाहरूले मतदान केन्द्रसम्म पुग्ने, मतदान गर्ने, मतपत्र पट्याउने, मतपत्र मतपेटिकामा खसाल्ने लगायतकाे जानकारी मतदातालाई दिने छन् ।
गत स्थानीय तहकाे निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा बदर मतकाे संख्या बढी भएकाले यस पटक बदर मत कम गर्न मतदाता शिक्षा प्रभावकारी हुने बताइएकाे छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया