Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

बागमती

महेश र विष्णुकाे प्रतिबद्धताः चुनाव जितेपछि जनताका हरेक समस्यामा सँगै

इकागज |
कात्तिक २१, २०७९ सोमबार २०:९ बजे

मकवानपुर- ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाकाे निर्वाचन नजिकिँदै गर्दा मकवानपुरमा उम्मेदवारहरूले घरदैलाे तथा प्रचारप्रसारकाे कार्यक्रमलाई तीव्र पारेका छन् । हरेक दिन विहानैदेखि बेलुकासम्म नै उम्मेदवारहरू आआफ्नाे क्षेत्रका घरदैलाेमा मतदातासँगै रहने गरेका छन् ।

चुनावी प्रचारप्रसारमा हरेक गाउँ तथा बस्ती पुग्ने गरेका उम्मेदवार तथा दलका नेताहरूले निर्वाचनपछि नाक मुख नदेखाउने गरेकाे आराेप स्थानीय मतदाताहरूले लगाउने गरेका छन् । तर, मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार महेशकुमार बर्तौला र क्षेत्र नम्बर–२ को प्रदेश सभा (ख) मा उम्मेदवारी दिएका विष्णुप्रसाद ढकालले चुनाव जितेपछि जनताका हरेक समस्यामा सँगै रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।


प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्तर्गतका कार्यक्रममा उनीहरूले जनतासँगै रहने प्रतिबद्धता व्यक्त गर्ने गरेका छन् । साेमबार मकवानपुरकाे भीमफेदी गिाउँपालिकामा घरदैलो तथा सभामा दुवै जना उम्मेदवारहरूले चुनाव जितेर गएपछि काठमाडौं र हेटौंडा केन्द्रित भन्दा पनि यस क्षेत्रका नागरिकका हरेक समस्यामा सधैं हातेमालो गरेर अगाडि बढ्ने बताएका हुन् ।

बर्तौला र ढकालले भीमफेदी गाउँपालिका वडा नम्बर–१ को किसेडी, २ नम्बर वडाको कालिकाटार, ३ नम्बर वडाको केरावारी, ४ नम्बर वडाको चिउरी बगैंचा लगायतका क्षेत्रमा घरदैलो र टोल टोलमा भएका सभालाई सम्बाेधन गर्दा स्थानीय वासिन्दाहरूले अघिल्ला निर्वाचनमा विजयी भएका उम्मेदवारहरू जितपछि आफ्ना क्षेत्रमा खासै नफर्किएको तथा विकास निर्माण र जनताकाे आधारभूत आवश्यकतामा समेत ध्यान नदिएकाे बताएका थिए । अहिलेका उम्मेदवारहरू चुनावका बेलामा घरमा आएर समस्या सुन्न आए जसरी नै नियमित आउने र स्थानीयका समस्या समाधान गर्न पहल गर्ने हाे भने मात्र मतदान गर्ने समेत प्रतिवद्धता जनाएका छन् ।

युवा उम्मेदवार गाउँ पुग्दा फूलमालाले स्वागत

मकवानपुर निर्वाचन क्षेत्र नं. २ को एमाले तर्फबाट प्रतिनिधि सभा सदस्य युवा उम्मेदवार महेश बर्तौला मकवानपुरगढी गाउँपालिकाका गाउँ पुग्दा स्थानीयले फूलमालाले स्वागत गरेका छन् । स्थानीयले युवा उम्मेदवारमाथि विकास, समृद्धि र परिवर्तनको अपेक्षा राखेका छन् । आफ्नाे क्षेत्रबाट पटक पटक सांसद भएका बिरोध खतिवडा जसरी नहराउन आग्रह समेत गरेका छन् । नेकपा एकीकृत समाजवादीका खतिवडा उक्त क्षेत्रबाट गठबन्धनका तर्फबाट उम्मेदवार छन् ।

युवा उम्मेदवार बर्तौलाले मकवानपुर गढी गाउँपालिका क्षेत्रको आमभन्ज्याङ्ग, डुम्रेकुना, सुकौरा र बुढिचौरमा चुनावी सभामा सम्बोधन गरेका थिए । बर्तौलाले स्थानीयवासीसमक्ष आफूले देश र जनताको पक्षमा काम गर्ने बताए । जनताको विश्वास जोगाइराख्ने र जनताको चाहना विपरीत कुनै काम नगर्ने समेत उनले विश्वास दिलाएका थिए । उम्मेदवार बर्तौलाले आफूले चुनाव जितेर सहिद बासुदेव मार्ग र बस्ती संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

नेकपा एमालेकाे विद्यार्थी संगठन अनेरास्ववियुमा लामो समय विद्यार्थी राजनीति गरेर अहिले पार्टी राजनीतिमा सक्रिय रहेका बर्तौला उम्मेदवार मनाेनयन गरेपछि मकवानपुरगढी ६ कञ्चनथलीमा रहेकाे जनआन्दालन २०६२/०६३ का मकवानपुरे शहीद वासुदेव घिमिरेकाे घर पुगी उनका पिताबाट आशीर्वाद लिएका थिए ।


Author

थप समाचार
x