मंसिर ४ पछि कांग्रेस नेतृत्वकाे सरकारः महत
हेटौंडा- नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मंसिर ४ पछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । महतले मंसिर ४ पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताउँदै यस्ताे दाबी गरेका हुन् ।
नेपाल प्रेस युनियन मकवानपुरले मंगलबार बिहान हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले चुनवापछि बन्ने सबभन्दा ठूलो पार्टी कांग्रेस नै बन्ने ठाेकुवा समेत गरे ।
आगामी निर्वाचनमा प्रत्यक्ष तर्फको १६५ सिटमध्ये ९१ सिटमा एक्लै प्रतिस्पर्धा गरेको कांग्रेसले अधिकांश स्थानमा जित हात पार्ने तथा अधिकांश क्षेत्रमा कांग्रेस विजयी हुने आकलन प्रस्तुत गर्दै महतले भने, 'सबभन्दा ठूलो दलको नेताले प्रधानमन्त्रीमा दाबी गर्न पाउने भएकाले देउवा नै आगामी सरकारको प्रधानमन्त्री बन्नुहुन्छ ।'
पाँच दलीय गठबन्धन घटक नेकपा माओवादी केन्द्रले आगामी प्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रचार गरिरहेको समयमा ठूलाे दलकाे हैसियत नभए पनि गठबन्धनकै सरकार बन्नेतर्फ संकेत गर्दै उनले गठबन्धनबाट भावी प्रधानमन्त्रीको विषयमा कुनै सहमति भइ नसकेको उल्लेख गरे । प्रधानमन्त्री हुने विषयमा अहिलेसम्म प्रचण्डले कुनै पनि औपचारिक दाबी नगरेको भन्दै उनका केही समर्थकले प्रचार गरेकाे महतले बताए ।
महतले गठबन्धन दलहरूको बैठकमा सरकारको नेतृत्व कसले गर्ने भन्ने बारेमा छलफल भने नभएको स्पष्ट पारे । प्रवक्ता महतले फुटाउनेभन्दा पनि जुटाउने नेतृत्व आजको आवश्यकता भएकाले माओवादी केन्द्र र समाजवादीलाई समेत सँगसँगै लिएर हिँडेको स्मरण गराए । देउवाले मात्रै सबैलाई एकै ठाउँमा मिलाएर लान सक्ने दाबी महतकाे थियाे ।
नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी (कुमार)को अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सह–महामन्त्री एवं प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीना, मकवानपुरका पार्टी सभापति बुद्ध लामा, सचिव भिमसेन महत, प्रवक्ता अर्जुन चौलगाईंलगायत नेपाली कांग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया