स्वतन्त्र पार्टीको घाँटी राजावादीसँग जोडिएको छः बानियाँ
मकवानपुर- राजावादीसँग स्वतन्त्र पार्टीको घाँटी जोडिएको मकवानपुर क्षेत्र नम्बर २ प्रदेश सभा (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँले बताएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बानियाँले राजावादीहरूसँग राष्ट्रिय स्वतन्त्र पार्टीको साँठगाँठ रहेको दाबी गरेका छन् । गणतन्त्र र धर्मनिरपेक्षताविरोधी तत्वसँग आफूहरू स्वतन्त्र हौं भन्ने रवि लामिछानेको ‘घाँटी जोडिएको’ बानियाँले बताएका हुन् ।
मकवानपुरकाे मनहरी गाउँपालिकामा भएकाे गठबन्धनको संयुक्त चुनावी भेलालाई सम्बोधन गर्दै बानियाँले भने, ‘रवि लामिछानेको स्वतन्त्र पार्टीको राजावादीसँग घाँटी जोडिएको छ ।' लामिछानेले संघीय व्यवस्था हटाउन प्रदेशमा उम्मेदवारी नदिएकाे समेत बाँनियाले आराेप लगाएका छन् । ‘कांग्रेस हुँ भन्दै अरू नै चिह्न लिएर उठ्नेहरूसँग भ्रममा नपर्नुहोला,’ बाँनियाले आफ्नाे क्षेत्रमा प्रचारप्रसारमा भने, 'देशको व्यवस्था बदलिएको छ अब जनताको अवस्था बदल्न लोकतान्त्रिक वाम गठबन्धनले भूमिका खेल्नेछ ।'
ओलीको व्यक्तिगत लहडमा परेर संसद् विघटन गर्ने र व्यवस्था नै मास्ने काममा लागेपछि केपी ओली ‘बार्दली’मा पुगेको बानियाँको भनाइ थियो । एमाले नीति, नियत र नेता ठीक नभएको नक्कली कम्युनिष्ट भएको भन्दै अबको चुनावमा जनताले गठबन्धनको पक्षमा भारी मत प्रदान गर्ने बानियाँले विश्वास व्यक्त गरे ।
नेपाली कांग्रेस मनहरी ४ का सभापति आइतराम तितुङको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवम् मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडा, माओवादी केन्द्रका केन्द्रीय सदस्य मानकुमारी नेपाली, कांग्रेस जिल्ला सभापति बुद्ध लामा, माओवादी बागमती प्रदेश कमिटी सदस्य ओम घलान, कांग्रेस महासमिति सदस्य उमा दाहाल, मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, माओवादी केन्द्रका मनहरी अध्यक्ष सञ्जिव पाठकलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया