Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

बागमती

उम्मेदवार श्रेष्ठकाे प्रतिबद्धतापत्र सार्वजनिक : पूर्वाधार विकास प्राथमिकतामा

इकागज |
कात्तिक २५, २०७९ शुक्रबार १५:५२ बजे

मकवानपुर- नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–१ को प्रदेश सभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठले आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

उनको प्रतिबद्धपत्रमा महत्वाकांक्षी योजनाहरू समावेश गरिएका छन् । नगरका वडा सडक सञ्जालले जोडिनेदेखि लामो तथा छोटो दूरीको विद्युतीय बस सेवा सञ्चालनसम्म रहेका छन् । बिहीबार हेटौंडामा सार्वजनिक गरिएको प्रतिबद्धतामा एमाले सरकारले सुरु गरेका विकासका काम पूरा गर्ने समेत रहेको उम्मेदवार श्रेष्ठले बताए ।


एमालेको निर्वाचन परिचालन कमिटीले पत्रकार मार्फत सम्मेलन गर्दै सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा हेटौंडा उपमहानगरका सबै वडाहरू र बस्तीहरूलाई सडक सञ्जालमा समेटिने गरी नगरका सडकलाई व्यवस्थित गरिने उल्लेख गरिएको छ । साथै कर्रा तथा राप्ती खोलामा करिडोर निर्माण गरी पर्यटकीय गतव्य स्थान बनाइने छ । यसै गरि हेटौडाबाट लामो तथा मध्यम दूरीको विद्युतीय बस सञ्चालन गर्न आवश्यक गृह कार्य गर्ने समेत प्रतिबद्धतामा छ ।

पूर्वाधार विकासमा जोड दिइएको प्रतिबद्धता सार्वजनिक गर्दै उम्मेदवार श्रेष्ठले भने, ‘हालसम्म सडकको पहुँच नपुगेका बस्तीहरूमा सडकको पहुँच पुर्याई सडकको स्तरीकरण तथा विस्तार गरिनेछ । ‘सडक विस्तारको मुद्दा पेचिलो बनेको हेटौंडा बजार क्षेत्रका सडक फराकिलो बनाई बाइपास सडकका साथै वैकल्पिक चक्रपथको निर्माण गरी हेटौंडाको सडक र बसोबासलाई व्यवस्थित गर्न सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गरिनेछ,’ उनले भने । यसका साथै उपयुक्त स्थानको खोजी गरी हेटौंडामा विमानस्थलको निर्माणका लागि पहल गरिने समेत प्रतिबद्धता गरिएको छ । यसै गरि निर्माणाधिन कान्ति लोकपथको निर्माण तत्काल सम्पन्न गराउन पहल गर्नुका साथै पूर्ण रूपमा सञ्चालनमा ल्याइने बताइएको छ

‘हेटौंडा उपमहानगरपालिकालाई महानगर बनाउनका लागि आवश्यक पूर्वाधार तयार गरिने’ श्रेष्ठले भने ‘हेटौंडा–काठमाडौँ सुरुङमार्ग राज्यको लगानीमा निर्माण गर्न पहल गरिने छ ।’ शिक्षा तथा खेलकुद विकासका क्षेत्रमा देखिने गरि काम गरिने उनले बताए । हेटौंडालाई शैक्षिक हवको रूपमा विकास गर्दै हेटौंडामा प्रदेश विश्वविद्यालय स्थापना तथा सञ्चालन गरिने उनले बताए । प्राविधिक जनशक्ति तयार गर्न प्राविधिक शिक्षा (जस्तैः वन, कृषि, पशु, इन्जिनियरिङ्ग, स्वास्थ्य) शैक्षिक संस्थाहरूको स्थापना तथा सञ्चालन गर्न पहल गरिने उम्मेदवार श्रेष्ठले बताए ।

यस्तो छ प्रतिबद्धतापत्र:

राजनीतिक स्थायित्व, राष्ट्रियता, सुशासन र समृद्धि
वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य र रोजगारीको अभिवृद्धि

विश्व परिवेशको परिवर्तित अर्थराजनीति एवम् शक्तिकेन्द्रमा देखिन थालेको फेरबदलको सन्दर्भमा मार्क्सवाद दर्शनसहित समाजवादी चिन्तन एवम् मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको वैचारिक आलोकमा देशका तमाम समस्याहरूको समाधान गर्दै कमरेड केपी शर्मा ओलीको अर्जुनदृष्टिका रूपमा रहेको समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षालाई पूरा गर्न नेकपा एमालेको सरकार आवश्यक रहेको छ । देशकै प्रगतिशील, राष्ट्रवादी एवम् जनउत्तरदायी पार्टीको रूपमा आफूलाई प्रमाणित गरिसकेको नेकपा एमालेको पक्षमा मङ्सिर चार, ओली सरकार भन्ने नाराका साथ देशभर जनलहर तयार भइसकेको छ । पाँच वर्ष–एमालेले गर्छ भन्ने उद्घोषका साथ २० ग्यारेन्टीलाई प्रतिबद्धताका रूपमा प्रस्तुत गर्दै यस आमनिर्वाचनपछि जनताको मतका आधारमा बन्ने एमाले सरकारको मार्गदृष्टि स्पष्ट गरिएको छ । यही पृष्ठभूमिमा मकवानपुर जिल्लाबाट प्रगतिशील, राष्ट्रवादी एवम् जनउत्तरदायी योग्य जनप्रतिनिधिका रूपमा एमालेले आफ्ना उम्मेदवारहरू जनतासामू अगाडि सारेको छ । मकवानपुरे जनताका आकाङ्क्षाहरू पूरा गर्दै सक्षम, सक्रिय एवम् इमानदार जनप्रतिनिधिका रूपमा प्रतिनिधि सभा र प्रदेश सभामा देश र जनताका पक्षमा आवाज बुलन्द गर्नसक्ने सूर्यध्वजा वाहक उम्मेदवारहरूलाई विजयी गराऔँ । हाम्रो निर्वाचन क्षेत्रको समग्र विकास र समृद्धिका लागि हाम्रा प्रतिबद्धताहरू यस प्रकार रहेका छन्ः

भौतिक पूर्वाधार विकास

सडक, खानेपानी, विद्युतीकरण, पुलपुलेसा, सिंचाई, तटबन्ध, नदी नियन्त्रण, शहरी विकास, बस्ती संरक्षण लगायतका निर्माण कार्यलाई गुणस्तरीय, दीगो एवं उपलब्धिमूलक बनाउने नीतिलाई प्राथमिकतामा राखिनेछ । छरिएका एवं मसिना योजनाहरूलाई भन्दापनि ठूला तथा लक्षितवर्गसम्म पुग्ने योजनाहरूलाई कार्यान्वयनमा ल्याइनेछ । मकवानपुर जिल्लाको पूर्वी क्षेत्र अन्तर्गतको शहरी, अर्धशहरी, ग्रामीण तथा विकट भेगसमेत पर्ने यस क्षेत्रमा सडक सञ्जाललाई गुणस्तरीय रूपमा विकास गरी कृषि, शिक्षा, स्वास्थ्य र बजारीकरणलाई सघाउ पुर्‍याउने भौतिक निर्माणमा जोड दिइनेछ । यस क्रममा निम्नानुसारको भौतिक निर्माण हाम्रो प्राथमिकतामा रहनेछन् ।

नगरका सबै वडाहरू र बस्तीहरूलाई सडक सञ्जालमा समेटिने गरी नगर सडकलाई व्यवस्थित गर्नुका साथै कर्रा तथा राप्ती खोलामा करिडोर निर्माण गरी पर्यटकीय गतव्य स्थान बनाइनेछ ।
हेटौँडाबाट लामो तथा मध्यम दूरीको विद्युतीय वस सञ्चालन गर्न आवश्यक गृह कार्य गर्ने ।
हालसम्म सडकको पहुँच नपुगेका वस्तीहरूमा सडकको पहुँच पुर्‍याई सडकको स्तरीकरण तथा विस्तार गरिनेछ ।
हेटौंडा बजार क्षेत्रका सडक फराकिलो बनाई वाइपास सडकका साथै वैकल्पिक चक्रपथको निर्माण गरी हेटौंडाको सडक र बसोबासलाई व्यवस्थित गर्न सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गरिनेछ ।
उपयुक्त स्थानको खोजी गरी हेटौंडामा विमानस्थलको निर्माणका लागि पहल गरिनेछ ।
कान्ति लोकपथको निर्माण तत्काल सम्पन्न गराउन पहल गर्नुका साथै पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ ।
हेटौंडा उपमहानगरपालिकालाई महानगर बनाउनका लागि आवश्यक पूर्वाधार तयार गरिनेछ ।
हेटौंडा–काठमाण्डौ सुरुङमार्ग राज्यको लगानीमा निर्माण गर्न पहल गरिनेछ ।

शिक्षा तथा खेलकुद विकास

हेटौंडालाई शैक्षिक हवको रूपमा विकास गरिनेछ ।
हटौंडामा प्रदेश विश्वविद्यालय स्थापना तथा सञ्चालन गरिनेछ ।
प्राविधिक जनशक्ति तयार गर्न प्राविधिक शिक्षा (जस्तैः वन, कृषि, पशु, इन्जिनियरि¨, स्वास्थ्य) शैक्षिक संस्थाहरूको स्थापना तथा सञ्चालन गर्न पहल गरिनेछ ।
खेलकुद क्षेत्रको विकास गर्न एक विद्यालय एक खेल शिक्षकको नीतिगत व्यवस्थाका लागि पहल गरिनेछ ।
व्यवसायिक खेलकुदको विकासका लागि खेल प्रतिष्ठानको स्थापना गरी खेलाडी तथा खेल क्षेत्रको पूर्वाधार विकास गर्न जोड दिइनेछ ।
गौरीटार रंगशालालाई आधुनिक र व्यवस्थित गर्दै खेल पर्यटनको रूपमा विकास गरिनेछ ।
कर्रा करिडोर र मनकामना डाँडा हुँदै शिखरकटेरी—रानीखोलाको किनार हुँदै साइक्लिङ ट्रेल निर्माण गर्न पहल गरिनेछ ।
हुप्रचौर वा अन्य उपयुक्त स्थान छनौट गरी क्रिकेट विशेष प्रशिक्षण केन्द्रका रूपमा विकास गरिनेछ ।
क्याम्पाडाँडा खेलमैदानलाई प्रादेशिक रङ्गशालाका रूपमा विकास गरिनेछ ।
सबै वडामा व्यवस्थित खेल मैदान बनाइनेछ ।

स्वास्थ्य, खानेपानी तथा सरसफाइ

विश्वसनीय तथा गुणस्तरीय स्वास्थ्य सेवाका लागि हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेशकै गौरव योजनाको रूपमा विकास गरी उक्त प्रतिष्ठानबाट एम.बी.बी.एस. स्तरको कक्षा सञ्चालन र उच्च स्तरको प्राविधिक जनशक्ति उत्पादन तथा विशिष्ट स्तरको स्वास्थ्य सेवा प्रदान गर्ने धरोहरको रूपमा विकास गरिनेछ ।

ओ.पी.डी. सेवाको लागि शहरी स्वास्थ्य क्लिनिकमै चिकित्सकबाट स्वास्थ्य परीक्षण गर्ने, क्लिनिकबाटै स्वास्थ्य विमाको व्यवस्था मिलाइ औषधी समेत वितरण गराई हेटौंडा अस्पताललाई शल्यक्रिया र इमरजेन्सी सेवा मात्रै सञ्चालन गर्ने गरी अहिलेको हेटौंडा अस्पतालको चाप घटाइनेछ ।

नसर्ने रोगहरूको स्वास्थ्य परीक्षण सतप्रतिशत निःशुल्क गर्न पहल गर्ने ।
द्रुत गतिमा शहरीकरण बढ्दै गएका कारण उत्पादित फोहोर मैला व्यवस्थापनका लागि अत्याधुनिक प्रविधिको प्रयोग गरिनेछ ।
एक घर एक धाराको अवधारणालाई अनिवार्य गर्दै गुणस्तरीय र सर्वसुलभ स्वच्छ खानेपानीको उचित व्यवस्था गरिनेछ ।
स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी र सेवाग्राहीमैत्री बनाइनेछ ।

पर्यापर्यटन

मध्यवर्ती क्षेत्रका वनहरू (सामुदायिक, धार्मिक र कवुलियति) को संरक्षण एवं विकासका लागि स्थानीय सरकारसँग समन्वय र सहकार्य गरी पर्यापर्यटन, वनजन्य उत्पादनहरू, नदीजन्य पदार्थहरूको सहज उत्पादन तथा बिक्री वितरणका लागि नीतिगत व्यवस्था मिलाइनेछ ।
जैविक विविधतामा आधारित पर्यटन क्षेत्रको उपयोग संस्थागत विकासका साथै पर्यटकीय गन्तव्यहरूको पहिचान, संंरक्षण, विकास र प्रचारप्रसार गरी पर्यटकीय वस्तुको उत्पादन गरिनेछ ।
यस क्षेत्रमा रहेका ड्राईभर डाँडा, पदमपोखरी पर्यटकीय क्षेत्र, लक्ष्मी नारायण मन्दिर, चुरियामाई, भुटनदेवी, कुष्माण्ड, वनस्खण्डी, गोरक्षेश्वर, गुम्वा, मस्जिद, चर्च आदि धार्मिक क्षेत्र, र पार्कहरूलाई समेटी एकीकृत पर्यटकीय विकास अभियान प्रारम्भ गरिनेछ ।
हेटौँडाको राप्ती र कर्रा नदीको बहुउपयोग, सभ्यता र संस्कृतिको संरक्षण, पर्यटन प्रवर्द्धन, ताल निर्माण, पानीमा आधारित जीवजन्तुको पालन, नदी व्यवस्थापन, जोखिम तथा विपद् व्यवस्थापनसमेत हुनेगरी रिभर फ्रन्ट आयोजनाहरू सञ्चालन गर्न पहल गरिनेछ ।

कृषि क्षेत्र

सुख्खा टारी क्षेत्रमा भूमिगत सिंचाईको संभाव्यता अध्ययन गरी सिंचाइको व्यवस्था गरिनेछ । साथै भूगोल अनुसारको खेतीयोग्य जमिन सिंचाई गर्न बोरि¨, लिफ्ट, आकाशे पानी र थोपा सिंचाई प्रणालीको व्यवस्था गरिनेछ ।
कृषि प्राविधिक, उन्नत बीउविजन तथा रासायनिक मल कृषि सहकारी संस्था मार्फत् किसानलाई उपलब्ध गराइनेछ ।
सार्वजनिक जग्गा, नदी उकास र हाइटेनसन लाइनमुनिका खाली जग्गाहरूलाई उपयोग गर्ने नीतिअनुसार फलफूल, बेसार, भुईकटहर, तरबुजा, बदाम आदि खेती प्रणालिको विकास गर्ने कार्यक्रम लागू गरिनेछ ।
कृषि तथा पशु विकास स्रोत केन्द्रहरूको स्थापना गरी संस्थागत रूपमा कृषि तथा पशु विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
कृषि उपज सङ्कलन, भण्डारण तथा बिक्री केन्द्र निर्माण गरिनेछ ।
कृषक र कृषि उद्यमीलाई परिचय पत्रको व्यवस्था गरी छुट, सहुलियत र सम्मान प्रदान गर्न पहल गर्नुका साथै कृषि उपजको न्यूनतम मूल्य निर्धारण गरी बिक्री नभएका उपजहरू खरिद गर्ने व्यवस्था मिलाइनेछ ।
स्थानीय सरकारसँग समन्वय गरी बाँझो जमिनको तथ्याङ्क लिई भूमि बैंकको स्थापना गरेर बाँझो जमिनमा विज्ञको सहयोगमा उपयुक्त खेती प्रणालीको विकास गरिनेछ ।
सहकारीको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गरी सहकारीमा आधारित उत्पादन प्रणालीको विकास गरिनेछ ।

भू तथा जलाधार संरक्षण

जलाधार क्षेत्रहरूको संरक्षणका साथै कर्रा खोला, राप्ती नदी र कुखरेनी खोला लगायत खहरे नियन्त्रणका लागि तटबन्धनको निर्माण गरिनेछ । खोलामा रहेको ओभरडिपोजिट नदीजन्य पदार्थहरूको उचित व्यवस्थान गर्ने साथै नदी उकास क्षेत्रहरू संरक्षण गरी आयमूलक कार्यक्रम संचालन गरिनेछ ।
चुरे लगायतका क्षेत्रको वन तथा वन्यजन्तुहरूको संरक्षणका लागि वृक्षारोपण, तटबन्धत तथा संरक्षणका विविध प्रविधिहरू अवलम्वन गरिनेछ ।
कर्रा, राप्ती र कुखरेनी नदी क्षेत्रको वास्तविक बहाव क्षेत्र पहिचान गरी वहाव क्षेत्र संरक्षण गरिनेछ ।
लामो समयदेखि समाधान हुन नसकेको भूमि सम्बन्धी समस्या हल गरी जोतभोग गरिरहेका जग्गाधनीहरूलाई जग्गाधनी प्रमाण पूर्जा प्रदान गरिनेछ ।
जैविक विविधता संरक्षण एवम् हेटौँडाको बढ्दो तापक्रम नियन्त्रण तथा वन र वन्यजन्तु संरक्षणका लागि भैरबडाँडा, शिशौघारी कृषि तथा वन विज्ञान अध्ययन संस्थानको जङ्गल र वृन्दावन क्षेत्रलाई समेटी जैविक विवधता संरक्षण क्षेत्र बनाउनका लागि पहल गरिनेछ ।

सामाजिक विकास

सामाजिक विकासका लागि समतामूलक, सुखी एवं समृद्ध समाजको निर्माण गर्न शिक्षित र स्वस्थ जनताको नीतिलाई प्राथमिकता दिइनेछ । सामाजिक न्यायसहितको गुणस्तरीय जीवन बाँच्न सक्ने अवस्था कायम गर्नु हाम्रो मुख्य लक्ष्य हो । यसका लागि हाम्रा नीति तथा योजनाहरू निम्नानुसार रहेका छन्ः

अपाङ्ग नागरिकहरूलाई सिपयुक्त बनाई स्वरोजगार सिर्जना गरिनेछ साथै अपा¨मैत्री पूर्वाधारका साथै अपाङ्ग तथा जेष्ठ नागरिकमैत्री विद्युतीय यात्रुवाहक साधनहरूको व्यवस्थाका लागि पहल गरिनेछ ।
लैंङ्गिक समानता र सामाजिक समावेशीकरणका कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
हिंसा, विभेद र वहिस्करणमा परेका महिला, बालबालिका, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र अन्य नागरिकको जीवन रक्षा र सम्मानित जीवन जिउने वातावरण बनाउने ।
लागुपदार्थ दुर्व्यसनी नियन्त्रणको कार्यलाई तीब्रता दिइनेछ ।
स्थानीय भाषा, संस्कृति र कलाको संरक्षण एवम् विकासमा नीतिगत व्यवस्था गरिनेछ ।
समाजमा विद्यमान सम्पूर्ण विभेदहरू अन्त्य गर्नको लागि पर्ने ।

उद्योग, उद्यम विकास तथा रोजगार

वडा नं. १४ मा स्थापित औद्योगिक क्षेत्र समेतलाई समेटी स्वदेशी कच्चावस्तुमा आधारित उद्योग तथा कलकारखाना खोल्न प्रोत्साहन गर्ने, उद्योगमैत्री वातावरण विकास गरी रोजगारीको सिर्जना गर्ने साथै मकवानपुर जिल्लालाई औद्योगिक जिल्लाको रूपमा विकास गर्ने कार्यलाई अघि बढाइनेछ ।
विद्यार्थीहरूलाई पढाइसँग सम्बन्धित विषयसँग मिल्दो उद्यम विकास तालिमहरूमा सहभागी गराई विद्यार्थीको चाहना र बजारको मागअनुसार आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालनका लागि पहल गरिनेछ ।
शहरी गरिबहरूको रोजगार र उद्यमशील क्षमताको विकास गरी श्रम रोजगारी र स्व–रोजगारीमा वृद्धि गर्न आवश्यक कार्य गर्ने ।
बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउने उपयुक्त नीतिहरू अवलम्बन गरी रोजगारीको सिर्जना र उद्यमशीलता सिप सिकाईको विकास गरिनेछ ।
लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालन गर्न पहल गर्ने साथै हेटौंडा सिमन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाइने छ ।
असंगठित क्षेत्रका श्रमिकहरूका लागि योगदानमा आधारित सामाजिक सुरक्षा, स्वास्थ्य विमा, न्यूनतमा ज्याला, परिचयपत्र शिशु स्याहार केन्द्रको व्यवस्थाको नीतिगत व्यवस्थाका लागि पहल र समन्वय गरिनेछ ।

अन्य क्षेत्र

हेटौंडामा प्रदेश राजधानीको आकर्षक र सुविधा सम्पन्न स्थायी संरचना बनाउन डीपीआर तयार गरी उपयुक्त स्थानमा भौतिक निर्माण गरी व्यवस्थित बनाइनेछ ।
हेटौंडालाई पाल, प्लास्टिक र खरको छानोमुक्त नगर बनाउने ।
जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका घरपरिवारलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्ने साथै भूमिहीन पहिचान गरी जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासलाई व्यवस्थित गरिनेछ ।
सबै जात धर्मका समुदायको मृत्यु संंस्कार स्थललाई उपयुक्त स्थानहरूमा सम्मानपूर्वक व्यवस्थित गरी संचालन गर्ने ।
भ्रष्टाचार शून्य गतिविधिका लागि उपयुक्त रणनीति अवलम्बन गरिनेछ ।
अघिल्लो प्रदेश सभाले निर्माण गर्न बाँकी रहेका नीति नियम र ऐन कानुन अविलम्ब निर्माण गरिनेछ । सुधार गर्नु पर्ने ऐन कानुनहरू समय सापेक्ष संशोधन गरिनेछ ।
प्रतिबद्धता पत्र कार्यान्वयनको अवस्था र सोबाट प्राप्त उपलब्धिहरूको सम्बन्धमा वार्षिक रूपमा समीक्षा गरिनेछ ।

 


Author

थप समाचार
x