फरक शैलीमा चुनावी प्रचारमा मैनाली : गाँजालाई वैधानिक बनाउनु पर्ने एजेन्डा
मकवानपुर- मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि दल सम्बद्ध उम्मेदवार चुनावी सभामा व्यस्त छन् । उम्मेदवारहरू कोण सभा तथा घरदैलो गर्दा समेत दलबलसहित व्यस्त रहने गरेका छन् । कतिपय उम्मेदवारहरू फरक दलका उम्मेदवारलाई गाली गर्न मै व्यस्त देखिन्छन् । अहिले दल मात्र हैन चुनावमा स्वतन्त्र उठेका व्यक्तिहरू पनि समूह लिएर नै चुनावमा उत्रिएका छन् ।
तर, मकवानपुरका एक जना दलका उम्मेदवार भने फरक शैलीमा चुनावी अभियानलाई सञ्चालन गरिरहेका छन् । गाँजालाई वैधानिक बनाइनुपर्ने मुल मुद्दाको प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रिएका छन् राप्रपाको तर्फबाट उम्मेदवार राजन मैनाली । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार मैनाली गाँजालाई वैधानिक बनाइनुपर्ने मुख्य एजेन्डासहित चुनाव प्रचारलाई समेत फरक शैलीमा सञ्चालन गरिरहेका हुन् ।
उनको कार्यक्रममा अरू दलको जस्तो तामझम देखिँदैन भने कुनै मञ्च, सभाध्यक्ष र वक्ताहरू पनि देखिँदैनन् । उनले निर्वाचन आयोगले दिएको उम्मेदवार परिचयपत्रको माला लगाउँदै एउटा हाते माइकको प्रयोग गरी आफ्नो क्षेत्रमा प्रचारमा लागेका छन् ।
मैनाली मतदाताले सुन्ने गरी आफ्ना एजेन्डा सुनाउने गर्छन् । राजालाई आदर्श मान्ने पार्टीको उम्मेदवार भए पनि मैनालीको चुनाव प्रचारको तरिकामा कम्युनिष्ट झल्कने स्थानीय मतदाताहरूले बताएका छन् । उ बेला रुपचन्द्र विष्टले यसरी नै हाते माइक लिएर टोलटोलमा भाषण गर्दै हिँडेको झल्को मैनालीको चुनाव प्रचारले दिएको बताउँछन् स्थानीय मतदाता । मैनालीको चुनावी एजेन्डा पनि अन्य दलको जस्तो धेरै थरी छैन । भौतिक निर्माण, स्वास्थ्य खानेपानी, शिक्षा आधारभूत वस्तु रहेको र त्यो निरन्तर विकास हुँदै जाने भन्दै मैनालीले यो पटक गाँजाको मुद्दालाई प्रमुख बनाएका छन् ।
आफूले उम्मेदवारी दिएको क्षेत्र नम्बर २ मा गाँजाका कारण हजारौँ युवाहरू अहिले जेलमा छन् भने वैध भएको अवस्थामा लाखौँ रुपैयाँमा बिक्री हुने गाँजा अहिले गाउँलेका लागि ‘नखाउँ भने दिनभरीको शिकार । खाउँ भने कान्छा बाहुको अनुहार’ भन्ने उखान जस्तै भएको भन्दै आफूले सो मुद्दालाई महत्वका साथमा उठाएको बताए । गाँजालाई वैध बनाउन सके मकवानपुरको मात्र नभएर देशकै आर्थिक अवस्थामा ठूलो परिवर्तन आउने बुझाई मैनालीको छ । नेपालको गाँजालाई अवैध बनाउन दबाब दिने अमेरिकासहित पश्चिमाका धेरै मुलुकहरूले गाँजा प्रतिबन्ध फुकुवा गरिसकेको बताउँदै उनले नेपालले पनि अब ढिला गर्न नहुने उल्लेख गरे ।
जिल्लाको राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, थाहा नगरपालिका, भिमफेदी गाउँपालिका, मनहरी गाउँपालिकाका केही स्थानमा गाँजाको अवैधानिक खेती नै हुने गरेको छ । २ प्रतिनिधि सभा क्षेत्र रहेका ति पालिका जिल्लाको क्षेत्र नम्बर २ मा पर्छन् । गाँजालाई वैधानिक बनाउने गठबन्धनका उम्मेदवारहरूले समेत चुनावी सभामा बोल्दै आएका छन् ।
आफ्नो क्षेत्रमा गाँजा उत्पादन हुने क्षेत्र रहेकाले मतदाता आकर्षित गर्न उम्मेदवारहरू गाँजालाई चुनावी अस्त्र बनाउने गरेको स्थानीय बताउँछन् । गाँजा ओसारपसारमा भरिया पक्राउ पर्ने तर मुख्य व्यक्ति पक्राउ गर्न नसक्दा भरियाहरूले मुद्दा झेल्दै आएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया