पत्रकारलाई दलीय आस्थाबाट माथि उठ्न नागरिक समाजको अपिल
मकवानपुर- आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको पेरिफेरिमा मिडियाले निष्पक्ष भएर समाचार प्रवाह गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् ।
फ्री मिडिया नेटवर्कको आयोजनामा हेटौंडामा भएको कार्यक्रम यस्ता सवाल उठाइएको हो । प्रतिष्पर्धाको होडमा मिडियाले दिने समाचारमा सत्यता कम र पार्टीगत आस्था बढी देखिने गरेको भन्दै नागरिक समाजले सुझाव दिएका हुन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले निर्वाचन परिणाम मानवीय चासोको विषय भएकाले प्रतिष्पर्धा हुने बताउँदै त्यही अनुसारको व्यवस्थापनको विकल्प खोज्नुपर्ने निर्वाचन कार्यालय र प्रशासन समक्ष ध्यानाकर्षण गराए ।
अध्यक्ष पोखरेलले पत्रकारलाई आचारसंहिता सधैं पालन गर्न आग्रह गरे । पत्रकारिता प्रति सामाजिक विश्वास कायम राख्न निर्वाचनको समयमा अझै सचेत हुन उनले आग्रह गरे । तथ्य पत्रकारिताको लागि सधैं तत्पर रहन पत्रकारलाई उनले आग्रह गरे ।
कार्यक्रममा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले सञ्चार गतिविधिमा सही र सत्य हुनुपर्ने, कामको सिलसिलामा तोकिएको आचारसंहिताको सवालमा निष्पक्ष हुनुपर्ने, पत्रकार छुट्टै हौँ भन्ने भाव पत्रकारले नराख्न आग्रह गरे । पत्रकारको आचारसंहिता निर्वाचन केन्द्रीय मात्रै नभइ सदा आफ्नो आचरण पालन गर्न उनले आग्रह गरे ।
निर्वाचन माहोल बिग्रने समाचार सकेसम्म प्रसार नगर्नतर्फ ध्यान दिनुपर्ने प्रजिअ पाण्डेले आग्रह गरे ।
यसैगरी मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले निर्वाचनलाई भयरहित बनाउने जिम्मेवारी प्रहरी, प्रशासन, पत्रकार, आमनागरिक सबैको जिम्मेवारी बराबरी रहेको बताए । सबैले आ-आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न निरौलाले आग्रह गरे ।
आममतदातालाई मतदानका लागि प्रेरित गर्ने गरी काम नभएको, मतदानको महत्त्व र भूमिकामाथि स्पष्ट नगरिएको स्वतन्त्र पत्रकारहरूले ध्यानाकर्षण गराएका थिए ।
आसन्न निर्वाचनका लागि मकवानपुरमा २ हजार ९ सय १८ जना कर्मचारी
३६४ वटा मतदान केन्द्र, १६७ वटा मतदान स्थल, ३६६ जना मतदान अधिकृत र यति नै संख्यामा सहायक मतदान अधिकृत खटिएका छन् । उनीहरूलाई निर्वाचन केन्द्रित तालिम समेत प्रदान गरिएको निरौलाले बताए ।
निरौलाका अनुसार प्रत्येक मतदान केन्द्रमा ११ जनाका दरले सुरक्षाकर्मी खटिने छन् ।
कार्यक्रममा प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, मानव अधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्धको जिल्ला सन्जाल अध्यक्ष आरती पाठक, स्वतन्त्र पत्रकार सुरेश श्रेष्ठलगायतले सुझाव राखेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया