Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

बागमती

जन्मथलो पुगेका बर्तौलासँग स्थानीयले मागे खानेपानी र बिजुली

इकागज |
कात्तिक २७, २०७९ आइतबार १९:२९ बजे

मकवानपुर- प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको चुनावी प्रचारप्रसारमा उम्मेदवारहरू स्थानीयका समस्या, गुनासा तथा माग समेत सुनिरहेका छन् ।

उम्मेदवारहरू मतदाता आकर्षित गर्न विभिन्न प्रलोभन दिइ रहेको समयमा मकवानपुरमा एक जना उम्मेदवार आफ्नो क्षेत्र अन्तर्गत जन्मथलो पुग्दा स्थानीयले खुसी हुँदै खानेपानी र बिजुली लगायतका माग राखेका छन् ।


मकवानपुर क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा उम्मेदवार महेशकुमार बर्तौला जन्मस्थान नामटारमा पुग्दा स्थानीय बासिन्दा खुसी भएका थिए । बर्तौलाको स्वागत गर्दै नामटारको इतिहासमै पहिलो पटक स्थानीय क्षेत्रको प्रतिनिधि सभाको सदस्यका उम्मेदवार पाएकोमा उनीहरूले खुसी व्यक्त गरेका थिए । स्थानीय क्षेत्रको युवा उम्मेदवारलाई गाउँमा पाउँदा फूलमालाले स्वागत गरे ।

स्वागत कार्यक्रममा स्थानीयले गाउँमा वर्षौँ अघिदेखिका खानेपानी, बिजुलीसँगै शिक्षा, स्वास्थ्यका समस्याहरू खुलेर राखेका थिए । स्थानीयका समस्या सुनेपछि बर्तौलाले आफू जन्मिएको भूगोल भएकाले यस क्षेत्रको सबै समस्या बुझेको र समाधान गर्न तयार रहेको बताए । पहिलेका उम्मेदवारहरूले हरेक चुनावमा नामटारमा पुग्ने पक्की सडक निर्माणको कुरा उठाए पनि कार्यान्वयन नगरेकाेमा चिन्ता व्यक्त गर्दै बर्तौलाले आफूले बोलेका कुरा पूरा गरेर देखाउने स्थानीयलाई आश्वस्त पारे ।

निर्वाचनमा आफ्नो जीत सुनिश्चत रहेको बताउँदै उनले विकासका लागि आफू पाँच वर्ष यही क्षेत्रमा रहेर काम गर्ने बताए । सडक, खानेपानी र बिजुलीका विषयमा धेरै राजनीति भएको बताउँदै उनले अब काम गरेर देखाउने पालो आएको जिकिर गरे । ‘अरू नेता जस्तो चुनावमा आश्वासन मात्र बाँड्ने होइन आफू काम गरेर देखाउन उम्मेदवार भएको छु,’ बर्तौलाले भने ।

यसैगरी कैलाश गाउँपालिकाको कालिकाटारको आयोजित चुनावी सभामा बर्तौलाले जिल्लाको विकट यस क्षेत्रको हरेक विकासका काममा आफू सदैव साथमा रहने वाचा गरे ।

यस क्षेत्रबाट वर्षायाम लागेपछि सदरमुकाम हेटौंडा ओहोरदोहोर गर्न भइरहने समस्या सधैंका लागि अन्त्य गर्न सडक लगायतको पूर्वाधार निर्माणमा आफूले सक्दो सहयोग गर्ने उनले बताए ।


Author

थप समाचार
x