आश्वासन छर्ने हाेइन, विकास गर्ने हाेः उम्मेदवार डिना
मकवानपुर- मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ले आफू सपना र आश्वासन छर्न नभई जिल्लाको विकास समग्र विकास प्रत्यक्ष तर्फ उम्मेदवार भएर आएकाे बताएकी छिन् ।
गठबन्धनको तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री डिनाले यसअघिकाे चुनावी प्रचारप्रसारमा अरूलाई गालीगलाैचमै समय खर्चंने गरेकाे भए पनि आइतबारकाे चुनावी सभामा आफू सांसद मात्रै हुनका लागि उम्मेदवार भएकाे नभइ जनतासँग सुखदुःखमा रहने र जिल्लाको विकास र समृद्धिका लागि काम गर्ने योजनाका साथ आएको बताइन् ।
चुनावी अभियान अन्तर्गत आइतबार मकवानपुरगढी संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले पटक-पटक सांसद र मन्त्री हुँदा पनि केही नगर्नेहरूले अहिले पनि नारा र सपना मात्र बाँडिरहेको समेत जिकिर गरिन् ।
ऐतिहासिक मकवानपुरगढी दरबार क्षेत्र समेत मकवानपुरगढीकाे ४ वटा वडा डिनाकाे क्षेत्रमा पर्दछ । उनले भनिन्, 'मकवानपुरगढीलाई अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्र बनाउन आवश्यक पहल गर्ने छु ।' आफ्नो कार्यकालमा मकवानपुरगढीका सुकुम्बासीको समस्या समाधान गर्दै घरघरमा लालपूर्जा लिएर पुग्ने डिनाले प्रतिबद्धता जनाइन् ।
यसअघि जितेका प्रतिनिधि गाउँ फर्केरै नआएको गुनासो सुनिएको भन्दै उनले ५ वर्षसम्म जनताले चाहेको विकासका योजनामा जनतासँगै रहेर काम गर्ने बताइन् ।
मकवानपुर क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ का उम्मेदवार प्रेमबहादुर पुलामी ‘छिन्तु’ले मकवानपुरको विकास र समृद्धिका लागि चुनावपछि पनि साझा भएर काम गर्ने प्रतिबद्धता जनाए । ‘हामी गठबन्धनको साझा उम्मेदवार हौं । चुनावपछि पनि साझा भएरै काम गर्नेछौं,' नेकपा माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष समेत रहेका उनले भने, ‘संविधान र गणतन्त्रको रक्षा एवं मुलुकको विकास र समृद्धिका लागि संविधान पक्षधर दलहरू गठबन्धनसहित चुनावमा आएका छौं ।'
'संविधान नै नमान्ने र मास्न खोज्नेहरू पनि मिलेर आएका छन् । जनताले त्यस्ता तत्वलाई परास्त गर्ने बेला आएको छ,' उनले भने ।
छिन्तुले गढीदेखि ठिंगनको लटरम्मेश्वरसम्म आन्तरिक र बाह्य पर्यटक भित्र्याउने गरी विकास गर्ने प्रतिबद्धता जनाए । कांग्रेस मकवानपुरगढी ४ नम्बर वडा सभापति सुवास सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सर्केस घलान लगायतका नेताहरूले जिल्लावासीको हितका लागि गठबन्धनको उम्मेदवारको जित आवश्यक रहेको धारणा राखेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया