Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

बागमती

हाँडीखोलालाई कृषि तथा पशुपालनको हब बनाइन्छ : बानियाँ

इकागज |
कात्तिक २७, २०७९ आइतबार २१:३० बजे

मकवानपुर- कृषि क्षेत्र र पशुपालनका लागि मकवानपुर जिल्लाकाे हाँडीखाेलाले प्रसिद्धि पाएकाे छ । याे क्षेत्रबाट हेटौंडा बजारमा दैनिक कृषिजन्य उत्पादन तरकारी फलफूल लगायत आउने गरेका छन् । हेटौंडा बजार क्षेत्रकाे तरकारी आपूर्तिमा हाँडीखाेला लगायतकाे स्थानबाट हुँदै आएकाे छ । पशुपालनका लागि समेत पर्याप्त क्षेत्र र सम्भावना भएकाले पशुजन्य उत्पादन समेतकाे विकास गर्न सकिन्छ हाँडीखाेलामा ।

यसै क्षेत्रलाई मकवानपुरका प्रदेश सभा सदस्य पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले कृषि र पशुपालनकाे हब बनाइने बताएका छन् । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–२ प्रदेश सभा (ख) मा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार बानियाँले हाँडीखाेलालाई कृषि र पशुपालनकाे हब बनाइने चुनावी सभामा बताएका हुन् । नेपाली काँग्रेस बागमती प्रदेश सभापति बानियाँले गठबन्धनको सरकार बनेपछि हाँडीखाेलामा बीउबीजन तथा रासायनिक मल समयमा उपलब्ध गराउने, कृषि उपजको भण्डार र उचित बजार व्यवस्थापन गरिने बताए ।


यसैगरी मनहरी गाउँपालिकाको हाँडीखोला क्षेत्रको विकासले तीव्रता दिइने मनहरि बसन्तपुरमा आइतबार गठबन्धनले आयोजना गरेको चुनावी सभा तथा घरदैलो कार्यक्रममा बताएकाे छ । बानियाँले पूर्वपश्चिम राजमार्गसँग हाँडीखोलालाई जोड्न राप्तीखोलामा पक्की तथा झोलुङ्गे पुल निर्माणलाई निरन्तरता दिइने बताएका हुन् ।

बागमती प्रदेशमा गठबन्धनको सरकार बनेकाे समयमा राप्तीखोलामा पक्की पुल निर्माणका लागि बजेट विनियोजन भइसकेको भन्दै अबको केही समयमा ठेक्का आह्वान गरी काम सुरु हुने बानियाँले बताए । नेकपा एमालेले साढे ३ वर्ष प्रदेश सरकारको नेतृत्व गरिरहँदा हाँडीखोलालाई उपेक्षा गरेको उनले आराेप लगाए ।

'गठबन्धनको सरकार बनेपछि हामीले रजैया दरदरा जोड्ने पक्की पुल र बस्तीपुर– मनहरी ३ जोड्ने पक्की पुलमा बजेट विनियोजन गरेका छौं । यसले हाँडीखोलाबासीलाई धेरै राहत हुनेछ,’ बानियाँले भने । नेकपा एमालेले जनताले ल्याएको उपलब्धिलाई मास्न खोज्ने, राजावादी र देश टुक्र्याउन खोज्नेसँग तालमेल गर्ने जस्ता गतिविधि गरिरहेको भन्दै जनताले यो निर्वाचनमा प्रतिगमनकारीहरूलाई परास्त गर्ने बताए ।

प्रदेशका १३ जिल्लामा रहेका विपन्न र निमुखा जनतालाई आवास कार्यक्रम अन्तरगत १० हजार घर निर्माण गरी हस्तान्तरण गरिने समेत बानियाँले उल्लेख गरे ।

चुनावी सभाकै क्रममा एमालेबाट निर्वाचित पूर्व वडाध्यक्षसहित ३६ जना कांग्रेस प्रवेश गरेका छन् । एमालेबाट मनहरी गाउँपालिका ५ नम्बरका पूर्व वडाध्यक्ष शुभराज थिङ, २०७४ मा निर्वाचित वडा सदस्य सोमनाथ रुम्बासहित ३६ जना एमालेका कार्यकर्ताले नेकपा एमाले पार्टी परित्याग गरी नेपाली कांग्रेसको सदस्यता लिएका हुन् । उम्मेदवार बानियाँले नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका थिए ।


Author

थप समाचार
x