मनिषा काेइरालाकाे साथमा राप्रपा अध्यक्ष लिङ्देन पुनः मकवानपुरमा
मकवानपुर- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र केही समयकाे अन्तरालमा मकवानपुर दुई पटक आएका छन् । लिङ्देनकाे मकवानपुर आगमन निर्वाचन कार्यक्रमका लागि भएकाले मकवानपुरकाे चुनावी रौनक थपिएकाे छ ।
कात्तिक २४ गते बकैया गाउँपालिकामा आएर पार्टीका उम्मेदवार दिपकबहादुर सिंहलाई संसद्मा पठाइदिन आग्रह गरेकाे ५ दिनपछि अभिनेत्री तथा काेइराला परिवारकी सदस्य मनिषा काेइरालाका साथ लिङ्देन मकवानपुरकाे कार्यक्रममा आएका हुन् । मकवानपुरको दुईवटा प्रतिनिधि सभा क्षेत्रमै पार्टीले उम्मेदवार उठाएकाे छ तर राप्रपाले १ नम्बर क्षेत्रमा दीपकबहादुर सिंहलाई प्राथमिकतामा राखेको छ । लिङ्देन पुनः मकवानपुर आउनु सिंह जिताउने अभियान हाे भनेर बुझ्न सकिन्छ ।
साेमबार हेटौंडा उपमहानगरपालिका १३ मा पार्टीकाे आमसभामा अध्यक्ष लिङ्देनले भने, ‘देशमा भएको गलत राजनीतिकाे विरुद्ध आगामी निर्वाचन हाे ।’ निर्वाचन हाम्रो भविष्य कस्तो बनाउने भन्ने निर्णय गर्ने दिन रहेको उनले बताए । लिङ्देनले अहिलेको निर्वाचन देशमा भइरहेको दशकौँदेखिको राजनीतिक अभ्यास, भ्रष्टाचारलाई संस्कृति बनाउने, सत्ताका लागि जे पनि गर्ने विरुद्धको निर्वाचन रहेको बताए ।
अहिले पटक–पटक सत्तामा पुगेका र जनताका लागि केही नगरेका नेताहरू फेरि पनि सत्तामा पुग्न अनेक उपाय लगाएर मत माग्न आइरहेको बताउँदै उनले अब जनताले यस कुराको मूल्याङ्कन गर्नुपर्ने बताए । लिङ्देनले भोट दिने कुरा छोरी दिने भन्दा ठूलो कुरा रहेको समेत उल्लेख गरे ।
कात्तिक २४ मा लिङ्देन जिल्लाको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिका आउँदा मनिषा काेइराला आउने चर्चा भए पनि उनी उपस्थित भएकी थिइनन् । मनिषाले सोमबार भने राप्रपाकाे हेटौंडाको कार्यक्रमलाई छाेटाे समय सम्बोधन गरिन् ।
काेइरालाले लिङ्देनलाई संकेत गर्दै नेपाल आमाले बल्ल सही नेतृत्व पाएको आफूलाई लागेको बताइन् । लिङ्देनप्रति आफूलाई विश्वास लागेर यहाँसम्म आइपुगेको उनले बताइन् । ‘म त्यो विश्वास खोज्न यहाँ उभिएको छु,’ उनले भनिन्, ‘आफ्नो अमूल्य मत सही, अलस र समक्ष मान्छे राजेर दिनुहाेस् ।'
काँग्रेस परिवारमा जन्मिएर भारतीय फिल्म क्षेत्रमा सफल अभिनय गरेका काेइरालाले वीपीको विचारलाई पनि लिङ्देनले आत्मसात गरेकोमा आफूलाई गर्वबोध भएको बताइन् ।
गत शुक्रबार काठमाडाैँकाे चुनावी सभामा राजेन्द्र लिङ्देनको नेतृत्वबाट आफू प्रभावित भएकाले आफूले राप्रपाका उम्मेदवारलाई रोजेको पनि स्पष्ट पारेकी थिइन् । भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह रहेको कुरा लिङ्देनले भनेपछि आफू त्यसको पक्षमा मनैदेखि उभिएको उनको भनाइ थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया