सहिदका पिताको अनुभव
अधुरा सपना देखाउँछन् उम्मेदवारहरू
मकवानपुर– भिरालो जग्गामा साना गह्रा बनाएर लगाइएको आलीको सहायताले रोकिएको पानीको मद्दतपछि बाला लागेको धान भित्र्याउने चटारो छ, यतिखेर ८४ वर्षीय कृष्णप्रसादलाई ।
शरीरमा तागत कम हुँदै आएको छ, हातका नशा फुलेका छन्, छाला खुम्चदै आएका छन् । उनी स्याँ–स्याँमा छन् । तिर्खाएको घाँटी भिजाउन केही १० मिनेट उकालो चढ्छन् । घर पुग्छन्, पानी पिउँछन, पिँढीमा सुस्केरा हाल्छन्, अनि फेरि फर्कन्छन्, खेतैमा । उनी शरीर बृद्ध भए पनि केही न केही काम गरौं भन्ने लाग्ने गरेको बताउँछन् ।
मुलुक चुनावमा होमिएको छ । बेला बेलामा घरैमा र खेतैमा आइपुग्छन्, उम्मेदवारहरू । दैनिकी समान्य भएपनि उनी सहिदको पिता हुन् । चुनावी मैदानमा होमिने उम्मेदवारहरू सहिद पिताको आर्शिवाद लिएर उनीहरूलाई सुन्दर सपना दिँदै मत मागिरहेका छन् ।
‘यस्ता हुल आइरहन्छन्, मेरै छोरो मात्रै आउँदैन, मेरै छोराको बाटो हिँड्ने मात्रै आउँदैनन्’, कृष्णप्रसाद भन्छन्, ‘मेरो छोराले देखाएको बाटोमा देशले प्रगति गर्न सकिरहेको छैन ।’
मकवानपुरगढी गाउँपालिका–५ को कन्चनथलीमा उनको सानो घर छ । अरु समय सुनसान हुने यो बस्तीमा कच्ची बाटो भएपनि दैनिक साना गाडीहरू उनको घरैमुनि रोकिन्छन् अचेल । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेकाहरूलाई टिका र आर्शिवादका लागि कोही न कोही पुगेकै हुन्छन् ।
जनआन्दोलन २०६२–०६३ मा क्रममा उनको कान्छो छोरा बाशुदेव घिमिरेको काठमाडौंमा ज्यान गयो । लोकतन्त्र प्राप्तिका लागि ज्यान दिएका शहिद बासुदेब घिमिरे, पिता कृष्णप्रसाद र माता चित्रकुमारीको मात्रै सन्तान रहेनन् । उनी नेपाल आमाको सन्तान जसले लोकतन्त्रकै खातिर ज्यान अर्पण गरे ।
देशमा संघीय लोकतान्त्रिक शासन व्यवस्था छ । संघीयतापछिको दोस्रो कार्यकालका लागि चुनावी तयारीमा दल, नेता तथा उम्मेदवारहरू लागिपरेका छन् ।
लोकतन्त्र बहालीपछि घिमिरे परिवारलाई धेरैले धेरै थरिका आश्वासन र सपना देखाए । तर ती केही पनि व्यवहारमा देखिएनन् । २०६३ पछिका दुई वर्ष लोकतन्त्र दिवसका दिन सरकारको तर्फबाट सहिद माता–पितालाई सम्मान गरेर औपचारिकता पूरा गरे पनि पछिल्लो ३ वर्ष यता त्यो दिन समेत सम्झन छाडिएको गुनासो छ ।
सहिद माता चित्रकुमारी प्यारालाइसिसका कारण ५ वर्ष ओछ्यानमा थलिएर ७३ वर्षको उमेरमा डेढ वर्षअघि मृत्यु भयो । ओछ्यानमा रहँदा उपचारका लागि सरकारको तर्फबाट केही सहयोग नभएको बुहारी कृष्णकुमारीले बताइन् । पिता कृष्णप्रसाद आफैं पनि प्रेसर सुगरलगायतका दीर्घ रोगसँग लडिरहेका छन् ।
एक दशकअघिदेखि कृष्णप्रसादले सरकारको तर्फबाट सहिद माता–पिताको निःशुल्क स्वास्थ्य उपचार र सार्वजनिक सवारीमा सहुलियत सुविधाको व्यवस्था हुनुपर्ने माग गर्दै आएका छन् । तर अझै पूरा भएको छैन ।
२०७२ को भुकम्पले घर भत्किएपछि ६ महिना पालमा बस्यो, त्यो परिवार । त्यसपछि सरकारले अन्य नागरिकलाई दिए सरहको सुबिधा लिएर मकवानपुरगढी कन्चनथलीमा निर्माण गरिदिएको घर उनीहरूको घाम पानीबाट ओत लाग्ने थलो बनेको छ ।
८४ वर्षीय वृद्ध अवस्थामा समेत खेती किसानीमै बनिबुतो गरिरहेका छन् उनी । छोरा बासुदेबले हिँडेको बाटो कसैले नहिँडेको पिरलो छ उनलाई । ‘उसको आमा पनि छोराको सपना पूरा भएन भनेर पीर गर्दा गर्दै बितिन् अब म पनि त्यै भनिरहेको छु’ गहभरि आँसु पार्दै उनले भने, ‘सबैले राम्रो काम गरे देश बन्न समय लाग्दैनथ्यो, सबैलाई कुर्सी र आफ्नो मात्रै भलो चाहिएको रहेछ ।’
छोरा बासुदेवको सम्मानमा सहिद स्मारक बनाउन उनी आफैँले २ कठ्ठा निजी जग्गा दान गरे, तर त्यो काम पनि अधुरै छ । स्थानीय मकवानपुरगढी गाउँपालिकाले शहिद स्मारक बनाउने प्रक्रिया सुरू गरेको तर ५ वर्ष भयो, त्यो पनि पूरा हुन सकेको छैन । सहिद स्मारक बनाउन बनाइएको सानो ट्रष्टमा पराल सुकाएर राखिएको छ । ‘बनेको सानै संरचनाको समेत संरक्षण हुन सकेको छैन, कसरी त्यो स्थान पर्यटकीय बन्छ’, कृष्ण प्रसादले भने । सहिद स्मारकमा राख्न सालिक तयार गरी ल्याइएको भएपनि हाल त्यो स्थानीय प्रहरी चौकीमा राखिएको छ ।
सहिद परिवार र घाइतेहरूको परिवारमा विगतका चुनावमा जस्तै आशाका सपनाहरू देखाएर जितपछि फर्किदैनन् । सहिद बासुदेबको दाजु शम्भु घिमिरे भन्छन्, ‘भोट माग्छन् हामी भोट दिन्छौ, न त हामीलाई फेरि चिन्छन्, न त हामीहरू जस्ताको पिडा सम्झेर मल्हम पट्टी लाग्ने कुनै निर्णय नै गर्छन् । खालि आउँछन् अधुरा सपना देखाउँछन् । हाम्रो सहारामा उनीहरू आफ्नै सपना पूरा गर्छन् ।
बुढेसकालको साहरा छोरोको मृत्यु भएपछि बेसाहरा भएका कृष्णप्रसाद सहीद परिवारको परिचयपत्र समेत नदिएको गुनासो छ । ‘कोही चिने जानेको छैन, भनौँ भने नेता तथा मन्त्रीहरूसम्म घरैमा आउँछन्’ उनले भने, ‘तर भोट माग्न मात्रै आँउछन् । नेताहलाई गुनासो राखेँ, तर फोस्रो आश्वासन मात्र पाएँ । मसँग शहीदको बुबा भन्ने कुनै आधार छैन । सरकारले परिचयपत्र बनाइदिए केही राहत पुग्थ्यो । सहीदको बाबु हुँ अरु केही मागेको छैन सिर्फ परिचयपत्र माग्दा पनि पाइएन ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया