मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा
मकवानपुर- मकवानपुरको मतगणनास्थललाई सुरक्षित विश्वासनीय बनाउन तारजालीले घेरेर सिसीटिभी क्यामेरा जडान गरिने भएको छ ।
जिल्लाको २ वटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा सिद्धार्थ माध्यमिक विद्यालयको ८ वटा कोठामा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिँदै गरेको हो ।
मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामेरा जडानको काम हुँदै गरेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा चितवनमा मतपत्र च्यातिएको घटनाले देशभरका प्रायः सबै मतगणनास्थलमा तारजाली र सीसीटीभी जडान गर्ने गरिएको छ । मतगणनास्थलको सुरक्षामा ध्यान दिने गरि तारजाली र सीसीटीभी जडान गरिएको निरौलाले जानकारी दिए ।
मकवानपुर क्षेत्र नं १ र २ को मतगणना हेटौंडा २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयमा गरिने तयारी भएको छ । २ वटै क्षेत्रको लागि ४/४ ठाउँमा मतगणनाका लागि तयारी गरिएको बताइएको छ ।
जिल्लाको क्षेत्र नम्बर १ ‘क’ मा ७७ हजार ९ सय ८९ जना र ‘ख’ मा ७२ हजार १ सय ६६ मतदाता रहेका छन् । यस्तै क्षेत्र नम्बर २ ‘क’ मा ८३ हजार ०९९ र ‘ख’ मा ६७ हजार ४ सय ७९ गरी ३ लाख ७ सय ३३ मतदाता छन् ।
निर्वाचन सुरक्षाका लागि मकवानपुरमा कुल ३ हजार २ सय सुरक्षाकर्मी खटिएका छन् । जसमा म्यादी प्रहरी १ हजार ६ सय ९९, जनपथ प्रहरी १ हजार ६९, सशस्त्र प्रहरी ४ सय र नेपाली सेना खटिएको मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया