बागमती प्रदेशमा ५८ प्रतिशतले गरे मतदान
मकवानपुर- बागमती प्रदेशको सबै जिल्लाहरूमा आज प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
गत स्थानीय तहको निर्वाचनमा जस्तो मतदातामा उल्लास नभए तथ्यांकले देखाएको छ । बागमती प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशको १३ जिल्लामा औसत ५८ प्रतिशत मात्रै मत खसेको छ ।
प्रदेश निर्वाचन कार्यालय बागमतीका प्रमुख लुम्बनाथ पोखरेलका अनुसार रामेछाप जिल्लाबाट ५० प्रतिशत, सिन्धुपाल्चोक जिल्लाबाट ५३ प्रतिशत, काभ्रे जिल्लाबाट ६० प्रतिशत, सिन्धुपाल्चोक जिल्लाबाट ५५ प्रतिशत, रसुवा जिल्लाबाट ७४ प्रतिशत,नुवाकोट जिल्लाबाट ५३ प्रतिशत, धादिङ जिल्लाबाट ५० प्रतिशत, चितवन जिल्लाबाट ६१ प्रतिशत, काठमाडौं जिल्लाबाट ६० प्रतिशत, भक्तपुर जिल्लाबाट ७० प्रतिशत, ललितपुर जिल्लाबाट ६१ प्रतिशत, मकवानपुर जिल्लाबाट ५५ प्रतिशत मत खसेको छ ।
दोलखा जिल्लाबाट तथ्यांक आउन बाँकी रहेको पोखरेलले बताए ।
बागमतीमा सबै मतदान स्थलहरूमा सुरक्षा व्यवस्था बलियो भएका कारण कहीँ अप्रिय घटना नभएको प्रदेश प्रहरीले जनाएको छ ।
प्रदेशको १३ जिल्लाको प्रतिनिधि सभातर्फ मात्रै ३३ निर्वाचन क्षेत्रमा ६ सयभन्दा बढी उम्मेदवारहरू रहेका थिए । प्रदेश निर्वाचन कार्यालय बागमतीका अनुसार यस प्रदेशमा ३४ लाख १२ हजार ८ सय ३९ जना मतदाताहरू रहेका छन् । जसमा अन्य समुदायका २९ जना मतदाताहरू रहेका छन् भने महिला १७ लाख ७ हजार ९ सय ४२ जना रहेका छन् ।
प्रदेशको मकवानपुर जिल्लामा पनि बिहानैबाट उत्साहजनक रूपमा मतदान भयाे । जिल्लाको १६७ मतदान स्थलबाट ३ लाख ७ सय ३३ जनाले मतदाता रहेकोमा ५५ प्रतिशतले मतदान गरेका छन् ।
मकवानपुर जिल्लाको १९ वटा मतदान स्थललाई अति संवेदनशील र ६० वटालाई संवेदनशील सूचीमा राखिएको थियो । यद्यपि ती क्षेत्रमा पनि शान्ति रूपमा मतदान सकिएको छ ।
सबै मतदान स्थलहरूमा सुरक्षा व्यवस्था बलियो बनाइएको र मतपेटिका संकलनका लागि निर्वाचन निर्देशिका र सुरक्षा योजनाअनुसार हेटौंडा २ स्थिति सिद्धार्थ माविमा ल्याइँदैछ ।
सिद्धार्थ माविमा मकवानपुरको मतगणनाका लागि ४ वटा कोठामा तारजाली र सिसिभिटी क्यामरा जडान गरी तयारी अवस्थामा राखिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया