बागमती

निर्माणाधीन प्रदेश सभा सचिवालय अपाङ्ग मैत्री बनाउन माग

बागमती प्रदेश सभामा पहिलो पटक अपाङ्गता भएकाको क्षेत्रबाट सहभागिता

इकागज |
मंसिर २७, २०७९ मंगलबार १९:३३ बजे

मकवानपुर- बागमती प्रदेशको निर्माणाधीन प्रदेश सभा सचिवालय अपाङ्ग मैत्री बनाउन माग गरिएको छ । 

राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशले प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रदेश सभाको संरचनालाई अपाङ्ग मैत्री बनाउन माग गरेको हो । हालको सचिवालय अपाङ्ग मैत्री छैन । प्रदेश सभामा हाल रहेको भवन न्यूनतम पूर्वाधार समेत पूरा नभएका कारण समस्या भएपछि अहिले नयाँ भवन निर्माण कार्य जारी छ ।


महासंघका अध्यक्ष अश्विन लम्सालले बागमती प्रदेश सभामा पनि शारीरिक अपाङ्गता भएका ह्विलचियर प्रयोगकर्ता सदस्यलाई सहज हुने गरी प्रदेश सभाको संरचना निर्माण हुनुपर्ने माग गरे ।

४ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा समानुपातिक तर्फबाट १ जना सदस्य अपाङ्गता भएका व्यक्ति छन् । स्पाइनल कर्ड इन्जुरीका कारण ह्विलचियर प्रयोगकर्ता सांसदलाई समेत सहज हुने गरी सचिवालय निर्माण गर्न ध्यानाकर्षण गराइएको हो ।

महासंघको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यस प्रदेशमा पनि यसपटक शारीरिक अपाङ्गता भएका प्रदेश सभा सदस्य निर्वाचित भएकाले प्रदेश सभा कार्य स्थल मापदण्डसहित निर्माण गरी प्रदेश सदस्यलाई सम्मानजनक, मर्यादित र स्वतन्त्रतापूर्वक संसद् सचिवालयसम्म आवतजावत गर्ने वातावरण मिलाउन माग गर्दछौँ ।’

यस्तै, ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख सचिव खड्काले नयाँ बन्ने प्रदेश सभा बैठकको निर्माण कार्य तीव्र गतिमा भइरहेको र उक्त भवनलाई अपाङ्ग मैत्री बनाउन तत्काल पहल थाल्ने प्रतिबद्धता व्यक्त गरे ।

यसपटक बागमती प्रदेश सभामा रामेछापबाट समानुपातिकतर्फ प्रदेश सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी घिमिरे निर्वाचित भएकी छन् । बागमती प्रदेश सभाको सचिवालय गत वैशाखमा निर्माण सम्पन्न हुनुपर्नेमा काम नसिएपछि आगामी जेठसम्मका लागि म्याद थप गरिएको छ ।


Author

थप समाचार
x