बागमती

विकटका पसलमा अनुगमन, मापदण्ड विपरीत सञ्चालित चार वटालाई कारबाही

इकागज |
पुस १, २०७९ शुक्रबार १८:३९ बजे

मकवानपुर- मुख्य बजारभन्दा पर रहेका पसलहरूमा म्याद गुज्रिएको सामान बिक्री हुने सम्भावनालाई मध्यनजर गर्दै पूर्वी मकवानपुरको फापरबारीमा प्रशासनले बजार अनुगमन गरेको छ ।

बागमती गाउँपालिका वडा नं ६ स्थित फापरबारी बजारमा सञ्चालित विभिन्न ९ वटा व्यवसायमा शुक्रबार अनुगमन गरिएको हो । जिल्ला अनुगमन समितिका संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलको संयोजकत्वमा बजार अनुगमन गरिएको हो । 


अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालनमा रहेका र म्याद गुज्रेका सामग्री बिक्री वितरणका लागि राखेका विभिन्न ४ वटा पसल/व्यवसायलाई जरिवाना  गराइएको छ ।

फापरबारीमा सञ्चालित कञ्चन मेडिकल हल, बिएन एग्रोभेट, सेवा एग्रोभेट र घलान किराना पसललाई नगद जरिवाना गराइएको हो । 

अनुगमनका क्रममा अनुमति नलिई क्लिनिक सञ्चालन गरेको, म्याद गुज्रेको औषधि बिक्रीका लागि राखेको, अनधिकृत व्यक्तिले औषधि बेचिरहेको पाइएकाले कञ्चन मेडिकल हललाई १ लाख रुपैयाँ जरिवाना गराइएको प्रशासनले जनाएको छ ।

त्यस्तै औषधि व्यवस्था विभागमा दर्ता नभइ व्यवसाय सञ्चालन गरेको बिएन एग्रोभेट र सेवा एग्रोभेटलाई क्रमशः २५ हजार र १५ हजार रुपैयाँ जरिवाना गराइएको छ । दुवै पसलबाट म्याद सकिएका विषादी फेला पारी जफत गरिएको छ ।

म्याद गुज्रिएका खाद्यान्न सामग्री भेटिएको घलान किराना पसललाई १० हजार रुपैयाँ जरिवाना गरिएको हो । अन्य ५ वटा पसल, तथा व्यवसायलाई सचेत गराइएको छ । 

अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाकी निमित्त प्रमुख टीका शर्मा, उपभोक्ता हकहित संरक्षण मञ्च बागमती प्रदेशका अध्यक्ष वासु खतिवडा, जिल्ला प्रशासन कार्यालय मकवानपुरका नायब सुब्बा महेशकुमार अर्याल, घरेलु तथा साना उद्योग कार्यालय हेटौंडामा कार्यरत लेखमान रावत, खाद्य प्रविधि  तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका सहायक प्राविधिक दीपक घिमिरेलगायत सहभागी थिए । 

मकवानपुरका सबै क्षेत्रमा बजार अनुगमनलाई निरन्तरता दिइने सहायक प्रजिअ कँडेलले बताए ।


Author

थप समाचार
x