बागमती

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेकाे राजीनामा स्वीकृत

इकागज |
पुस ८, २०७९ शुक्रबार १९:४६ बजे

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पेस गरेकाे राजीनामा स्वीकृत भएकाे छ । मुख्यमन्त्री पाण्डेले शुक्रबार दिउँसाे नेपालकाे संविधानकाे धारा १६९ काे उपधारा १ काे व्यवस्था बमाेजिम बागमती प्रदेश प्रमुख समक्ष राजीनामा पेस गरेका थिए ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशका मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री पदबाट पेस गरेको राजीनामा नेपालको संविधान बमोजिम स्वीकृत गरेका हुन् । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री पाण्डेकाे राजीनामा स्वीकृत गरी नेपालकाे संविधानकाे धारा १६९ काे उपधारा ३ बमोजिम प्रदेशको अर्को सरकार गठन नहुँदासम्म मौजुदा मन्त्रिपरिषद्लाई आफ्नो कार्यभार सम्हाल्ने गरी समेत ताेकेका छन् ।


मुख्यमन्त्री पाण्डे गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा धादिङ जिल्लाकाे निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । प्रतिनिधि सभामा निर्वाचित भएपछि पदबाट राजीनामा नदिएकाे भन्दै पाण्डेकाे विराेध हुँदै आएकाे थियाे । पाण्डेले बिहीबार मात्रै प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए ।

पाण्डेले २०७८ कार्तिक ११ गतेबाट प्रदेशको मुख्यमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका हुन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्षसमेत रहेका पाण्डे प्रदेशका तेस्राे मुख्यमन्त्री हुन् । बागमतीमा नेकपा एमालेका डोरमणि पौडेल पहिलो र अष्टलक्ष्मी शाक्य दोस्रो मुख्यमन्त्रीका रूपमा कार्यभार सम्हालेका थिए ।

पाण्डेकाे राजीनामा स्वीकृत भएसँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया खुल्ला भएको छ ।


Author

थप समाचार
x