बागमती

चितवनको अवैध टहरामा डोजर चल्यो, ५८ वटा घरको पिल्लर भत्काउनुपर्ने

इकागज |
पुस ९, २०७९ शनिबार १३:५८ बजे

मकवानपुर- बागमती प्रदेशको चितवनस्थित नारायणगढ बजारमा अवैध संरचना हटाउन डोजर चलाइएको छ । पुल्चोक गोन्द्राङ ६ लेन सडक विस्तारका लागि सडक डिभिजन कार्यालय भरतपुरले अवैध घर भत्काउन थालेको हो । पुल्चोक गोन्द्राङ सडक विस्तार अन्तर्गत पुल्चोकदेखि केन्द्रीय बस टर्मिनलसम्म ५८ वटा घरको पिल्लर भत्काउनु पर्ने कार्यालयका प्रमुख रमेश पौडेलले बताए ।

एक साताभित्र यहाँको सडकमा परेका अवैध संरचना भत्काएर सडक विस्तारको काम अघि बढाएर सक्ने योजना रहेको छ । यसअघि सडक विभागले सडक अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन दुई पटक सूचना जारी गरिएको थियो । विभागले ६ लेन सडक विस्तारको काम सुरु हुँदा ३५ दिने सूचना सार्वजनिक गरेर घर भत्काउन भनिएको थियो ।


अटेर गरेपछि गत कार्तिक २४ गते १५ दिने सूचना जारी गरिएको थियो । विभागले घर टहरा धनीलाई आफैँ सुरक्षित तवरले भत्काउनको लागि सुरुमा ३५ दिने, पछि १५ सूचना दिएर म्याद दिएको र त्यसपछि पनि समय दिएको थियो। तर ढिपी गरिएको कारण आफैँले भत्काउन परेको सडक विभागले जनाएको छ ।

"कार्तिक २४ गते १५ दिने सूचना दिएको थियो । त्यसपछि पनि समय दियौं । सबै घरमा गएर सूचना टाँसेको पनि हो" पौडेलले भने "उहाँहरुले के भत्केला र जस्तो गर्नुभयो । त्यही भएर बाध्य भएर भत्काउन पर्ने अवस्था भयो ।’ विभागले शुक्रबारबाट संरचना भत्काउन सुरु गरेका हो ।

यता हेटौंडामा वर्षौदेखि अल्झँदै आएको सडक विस्तारको विवाद अझै टुङ्गोमा पुगेको छैन । हेटौंडामा सडक फरक गर्ने योजना राजनीतिक एजेन्डा र विवादको विषय बन्दै आएको छ ।


Author

थप समाचार
x