बागमती

संघीय गठबन्धनकाे असर बागमती प्रदेशमा, संसदीय दलकाे नेता चयनपछि मुख्यमन्त्रीकाे टुंगाे

इकागज |
पुस १०, २०७९ आइतबार २०:१७ बजे

मकवानपुर- राजनीतिमा प्रचुर सम्भावना रहन्छ भनिन्छ । यस्तै सम्भावना आइतबार एकाएक भएकाे छ । गत निर्वाचनमा प्रतिनिधि सभामा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेपछि राष्ट्रपतिले ७ दिनकाे समय दिएर बहुमतकाे सरकार गठनकाा लागि आव्हान गरेकी थिइन् ।

धेरैकाे अनुमान थियाे सत्ता गठबन्धन दलहरूकै समर्थनमा प्रधानमन्त्रीकाे दाबी हुन्छ र गठबन्धनकै सरकार बन्नेछ । सत्ता गठबन्धनकाे शनिबारसम्म पदीय सहमति जुटाउने प्रयास सम्भव नभएपछि आइतबार त्यसकाे टुङ्गाे लगाउने कसरत भयाे । तर एकाएक नेपाली काँग्रेसले सहमति पालना नगरेकाे भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बालुवाटारबाट बाहिरिएपछि नेकपा एमालेसहितका ७ दलीय गठबन्धन प्रधानमन्त्रीमा दाबी पेस गर्न बन्याे । साेही अनुसार प्रधानमन्त्रीमा माओवादी अध्यक्ष प्रचण्डकाे दाबी संविधान सम्मत भएकाेले उनलाई प्रधानमन्त्रीमा नियुक्ति गरिएकाे छ ।


संघीय गठबन्धनमा एक्कासि आएकाे परिवर्तनकाे असर बागमती प्रदेशमा समेत पर्ने निश्चित छ । गत निर्वाचनमा बागमती प्रदेशमा समेत कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेकाे छैन । आइतबारकाे केन्द्रीय राजनीतिकाे घटनाक्रमले नेपाली काँग्रेस प्रतिपक्षमा सीमित हुने छ । प्रदेशहरूकाे अंकगणितमा आकस्मिक फेरबदल नभए ७ वटै प्रदेशमा नेपाली काँग्रेस प्रतिपक्षमा रहने चुनावी परिणामले बताउँछ ।

बागमती प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरी १ सय १० सिट रहेकाेमा नेपाली काँग्रेसले ३७ सिट प्राप्त गरी पहिलाे दल बनेकाे छ । नेकपा एमाले २७ सिटसहित दाेस्राे बनेकाे प्रदेशमा नेकपा माओवादी केन्द्र २१ सांसदसहित तेस्राे स्थानमा रहेकाे छ । यस्तै राप्रपाकाे १३ सांसद रहेकाेमा नेकपा एकीकृत समाजवादीकाे ७ सिट रहेकाे छ । प्रदेशमा नेपाल मजदुर किसान पार्टी ले ३ सिट प्राप्त गर्दा हाम्राे नेपाली पार्टीले २ सिट ल्याएकाे छ ।

यसरी संसद् संख्या हेर्दा नेपाली काग्रेस र नेकपा एसकाे बहुमत पुग्ने देखिँदैन । संघीय सहमतीकाे अहिलेकाे गठबन्धनमा तलमाथि नभए बागमती प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी र राप्रपाकाे बहुमतकाे सरकार बन्ने लगभग पक्का जस्तै छ । ती तीन दलकाे सांसद संख्या ६१ रहेकाेले स्पष्ट बहुमत पुग्ने छ । प्रदेशमा बहुमतकाे सरकार बन्न ५६ सांसदकाे आवश्यक हुन्छ ।

बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरूले संसदीय दलकाे नेता चयन गरी सकेका छैनन् । प्रदेशमा पनि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आव्हान समेत गरेका छैनन् । सांसदहरूकाे सपथ ग्रहण पुष १३ र १४ गतेका लागि ताेकिएकाे छ । यसअघि २०७४ काे निर्वाचनबाट पहिलाे पटक गठन भएकाे प्रदेशमा नेकपा एमालेबाट डाेरमणी पौडेल र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भएका थिए । ३ वटा मुख्यमन्त्री पाएकाे बागमतीमा तत्कालिन नेकपा विभाजन भएपछि माओवादीले माैका पाएकाे थिएन । यस पटक प्रदेशहरूकाे गठबन्धन र पदीय बाँडफाँट मिल्न गए बागमती प्रदेशमा माओवादी केन्द्रकाे नेतृत्वमा सरकार बन्ने अवस्था भने देखिन्छ ।

केन्द्रीय सरकारको नेतृत्व माओवादी केन्द्रले गर्ने भएकाेले बागमती प्रदेश सरकारमा भने एमाले र माओवादी केन्द्र दुवैको बलियो दाबी देखिन्छ । विगतमा वाम गठबन्धनमा रहेर प्रदेश सरकारको नेतृत्वमा एमालेलाई सहयोग गरेकाले यस पटक बागमती प्रदेशमा आफूहरूले सरकार बनाउन पाउनु पर्ने माओवादी केन्द्र दाबी गरेकाे छ ।

माओवादी केन्द्रबाट संसदीय दलको नेताका लागि यसअघि २०७४ मा दलको नेता भइसेकाका शालिकराम जम्कट्टेल, माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेल, युवराज दुलाल ‘शरद’ र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरेर जितेका नेपाल समाजवादी पार्टीका नेता गंगा नारायण श्रेष्ठ बीच कडा प्रतिस्पर्धा देखिन्छ । संसदीय दलको नेता छान्ने रस्साकस्सी भने जारी छ । सम्भव भए सहमतिमा नभए चुनावै गरेर दलको नेता चयन गर्ने मनस्थितिमा माओवादी देखिन्छ ।

यता एमालेबाट भने पार्टीका केन्द्रीय सदस्य जगन्नाथ थपलिया दलको एक्ला दाबेदारका रूपमा देखिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेका थपलिया यसअघि मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार भएर काम गरिसकेका व्यक्ति हुन् । चितवनबाट निर्वाचित थपलिया बागमती प्रदेश सरकारकाे नेतृत्व एमालेले गर्ने सहमति भए मुख्यमन्त्रीका दाबेदार रहेकाे बताइएकाे छ ।

शीर्ष तहका नेताहरूबीच हुने समझदारीका आधारमा प्रदेश सरकारको नेतृत्व कुन पार्टीले गर्ने भन्ने कुराको टुंगो लाग्ने प्रतिनिधित्व गर्ने दलहरूले बताएका छन् । संघीय सरकारमा शक्ति बाँडफाँट भएपछि प्रदेश सरकार गठनका विषयमा छलफल अघि बढ्ने बताइएकाे छ ।


Author

थप समाचार
x