बागमती

संसदीय दलको नेता छान्दै बागमती प्रदेशका दल

इकागज |
पुस १२, २०७९ मंगलबार २०:५६ बजे

मकवानपुर- केन्द्रीय राजनीतिक समीकरणसंगै प्रदेशको पनि समीकरण बदलिएको छ । केन्द्रीय सत्ता गठनपछि मात्रै प्रदेश सरकार गठनको आव्हान गर्ने तयारीमा प्रदेश प्रमुखको कार्यालय रहेको थियो । एक्कासि बदलिएको केन्द्रीय सत्ता समीकरणले प्रदेशको समीकरण बदलिएको अवस्थामा बागमतीका दलहरूले संसदीय दलको नेता छान्ने गरी मिति घोषणा गरेका छन् ।

बागमती प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पुस १३ गते भोलि हेटौंडामा दलको नेता छान्न निर्वाचन गर्दै छ । दलको नेताका लागि कांग्रेसबाट प्रदेश सभापति इन्द्रबहादुर बानीयाँ तथा केन्द्रीय सदस्य बहादुर लामाबीच प्रतिस्पर्धा हुने देखिएको छ । बानियाँ मकवानपुरबाट र लामा नुवाकोटबाट प्रदेशमा प्रत्यक्ष निर्वाचित सदस्य हुन् । 


मंगलबार पार्टीबाट निर्वाचित सदस्यको बधाई स्वागत कार्यक्रमपछि दलको नेताका प्रत्यासी यी दुई नेताले आ-आफ्नो गुटगत भेला समेत गरेको बताइएको छ । ३७ सदस्य रहेको कांग्रेसको संसदीय दलको नेता हुन १९ मतको आवश्यक पर्छ । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेशको संसदीय दलको नेता चयनका लागि पुस १४ गते हेटौंडामा निर्वाचन हुने भएको छ । एमालेमा संसदीय दलको नेतामा धेरैले आकांक्षा राखेका छैनन् । मुख्यमन्त्रीका दाबेदार नेताहरू मंसिर ४ गतेको चुनावमा पराजित भएपछि जगन्नाथ थपलिया संसदीय दलको नेता हुने संभावना रहेको छ । 

एमालेका केशवप्रसाद पोखरेलको नाम समेत दलको नेतामा चर्चामा रहेको अवस्थामा एमाले केन्द्रीय सदस्य थपलिया सर्वसहमतिबाट बागमती प्रदेशको संसदीय दलको नेतामा चुनिने संभावना प्रबल रहेको बताइन्छ । 

प्रदेश सभाको दोस्रो ठूलो दल एमालेको यस प्रदेशमा २७ जना प्रदेश सभा सदस्य रहेका छन् । 

यसैगरी नेकपा माओवादी केन्द्रले पुस १६ गतेभित्र दलको नेता छान्ने बताएको छ । माओवादी  केन्द्रको संसदीय दलको नेतामा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम  जम्कट्टेल,  माओवादी  केन्द्रका  बागमती  प्रदेश  अध्यक्ष  सरल  सहयात्री  पौडेल,  सिन्धुलीबाट माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ र प्रदेशका पूर्वमन्त्री युवराज दुलालको दाबी रहेको छ । माओवादी केन्द्रको यस प्रदेशमा २१ जना प्रदेश सभा सदस्य छन् । 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेशको संसदीय दलको नेतामा उद्धव थापा चयन भएका छन् । काठमाडौँ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ८ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित थापा काठमाडौँमा सोमबार भएको संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेता चयन भएका हुन् । बागमती प्रदेश सभामा राप्रपाको १३ जना प्रदेश सभा सदस्य रहेका छन् । 

प्रदेश सभामा ७ जना प्रदेश सभा सदस्य रहेको नेकपा (एकीकृत समाजवादी) को नेतामा कृष्णप्रसाद शर्मा खनाल सर्वसम्मत चयन हुने सम्भावना रहेको छ । यसैगरी प्रदेश सभामा तीन जना प्रदेश सभा सदस्य रहेको नेपाल मजदुर किसान पार्टीको संसदीय दलको नेताको निर्वाचन प्रदेश सभा सदस्यको शपथपछि मात्र हुने भएको छ । 

प्रदेशका निर्वाचित सदस्यहरूको सपथ ग्रहण पुष १४ गते हुने गरी तयारी भएको छ । त्यस अघि प्रदेश सभा संचालनका लागि जेष्ठ सदस्यको शपथ पुष १३ गतेका लागि प्रदेश प्रमुखको कार्यालयले तोकेको छ । प्रदेश सभा सदस्यहरू मध्येका ज्येष्ठ सदस्य ७२ वर्षीय रामप्रसाद ढुंगानाले १३ गते शपथ लिएपछि सभामुख निर्वाचित नभएसम्म सभाको संचालन गर्ने छन् ।
 


Author

थप समाचार
x