बागमती : संसदीय दलको नेता बन्न बानियाँ र लामाको शक्ति प्रदर्शन
मकवानपुर - नेपाली कांग्रस बागमती प्रदेश संसदीय दलको आज चयन गरिँदैछ । नेता चयनको लागि तीव्र प्रतिस्पर्धामा रहेका इन्द्र बहादुर बानियाँ र बहादुर सिंह लामा दुवैले आ-आफ्नो शक्ति प्रदर्शन गर्ने क्रममा भोज गरेपछि कार्यकर्ताहरू रुष्ट भएका छन् ।
भोज भतेरमा भोट किन्ने र बेच्ने शैलीको अन्त्य हुनुपर्नेमा कार्यकर्ताहरूको जोडबल छ । यद्यपि नेतृत्वले आफ्नो शत्ति प्रदर्शन गर्न छाडेको छैन । दुवै उम्मेदवारहरूले आफ्नो समर्थकहरूलाई होटलमा भेला गराएर पार्टी गराएका थिए । लामाले हेटौंडाको एभोकाडो होटलमा र बानियाँले रिगल हेटौंडा रिसोर्टमा मंगलबार राति भोज गराएका थिए ।
संसदीय दलको नेता बन्नका लागि पार्टी केन्द्रीय सदस्य लामा र प्रदेश सभापति बाँनियाबीच तँछाड मँछाडको अवस्था छ । केन्द्रीय सदस्य त्यसमा पनि प्रतिनिधीसभाको उम्मेदवारीबाट पछि हटेर संघमा झरेका लामाले यसलाई प्रतिष्ठाको विषय मानेका छन् । त्यस्तै, प्रदेश सभापति रहेका बाँनियाले गठबन्धन कायम रहँदाको समयदेखि मुख्यमन्त्रीका रुपमा आफूलाई प्रचार गर्दै आएकाले दलको नेता जिताएर देखाउनुपर्ने चुनौती छ ।
बागमती प्रदेशमा कांग्रेसको ३७ जना सांसद छन् । दलको नेता बन्नका लागि १९ जना सांसदको समर्थन आवश्यक पर्दछ ।
दलको नेताका आकांक्षी दुवैजना कांग्रेस संस्थापन पक्षका हुन् । लामालाई शेखर गगन समूहको पनि समर्थन रहेको चर्चा छ । तर चुनावका बेलामा प्रदेश सभापति बानियाँले आफू निकटकालाई टिकट दिएर जिताएको पनि बताइन्छ । एउटै खेमाको भए पनि दलको नेतामा चुनिनुलाई दुवै पक्षले प्रतिष्ठाको विषय ठानेकाले कडा प्रतिष्पर्धाका बीचबाट दलको नेता चयन हुने देखिएको छ ।
कांग्रेस माओवादीसहितको तत्कालीन गठबन्धन टुटेर प्रतिपक्षीको हैसियतमा झरे पनि राजनीतिक कोर्स जुनसुकै बेला बदलिनसक्ने भएकाले दुवैले भविष्यको सम्भावित मुख्यमन्त्री आफैं हुने प्रचार गर्ने गरेका छन् ।
बानियाँविरुद्ध उजुरी
संसदीय दलको नेता चुनिनको लागि चुनावी मैदानमा रहेका इन्द्रबहादुर बानियाँ विरुद्ध उजुरी दर्ता भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँमाथि पार्टी केन्द्रीय कार्यालयमा गम्भीर आरोपसहित उजुरी परेको खुलेको छ ।
संसदीय दलको निरवाचनमा उम्मेदवार रहेका उनै बानियाँविरूद्व पार्टी केन्द्रीय कार्यालय अनुशासन समितिमा १६ मंसिर २०७९ मा उजुरी परेको हो । उनीमाथि पार्टी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना र मकवानपुरको प्रदेशसभा क्षेत्र नम्बर १ को २ बाट निर्वाचन लडेका आनन्दराम पराजुलीलाई चुनाव हराएको आरोप लगाइएको छ । उजुरी १८ मंसिरमा पार्टी केन्द्रीय कार्यालयमा ६५ नम्बरमा दर्ता भएको पाइएको छ ।
वाम लोकतान्त्रिक गठबन्धनबाट डीना मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उम्मेदवार थिइन् । उजुरीमा डीनासँग प्रतिस्पर्धा गरेका राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहसँग आर्थिक लाभ लिएको बानियाँमाथि गम्भीर आरोप लगाइएको छ । बानियाँले सिंहसँग आर्थिक लाभ लिई आफ्नै पार्टीको विभिन्न तहको संरचनामा नै लोभ, लालच र धम्कीसमेत दिएर राप्रापाका सिंह जिताउन लागेको स्पष्ट भएको उजुरीमा दाबीसहित कारबाहीको माग गरिएको छ ।
उजुरीमा नेता बानियाँ मात्र नभई कांग्रेस मकवानपुरका सभापति बुद्व लामा र मकवानपुर प्रतिनिधिसभा १ को २० का सभापति तथा हेटौँडा उपमहानगरका उपमेयर राजेश बानियाँलाई पनि साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न माग गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया