बागमती

बागमती : प्रदेश सांसदहरूको शपथ आज, एमालेले आजै संसदीय दलको नेता चुन्‍ने

इकागज |
पुस १४, २०७९ बिहीबार ६:५८ बजे

मकवानपुर - बागमती प्रदेश सभामा आज नेकपा (एमाले) ले संसदीय दलको नेता चयन गर्दैछ । एमालेको संसदीय दलको नेता चयन गर्नका लागि ११ बजेका लागि बैठक बोलाइएको छ । त्यसपछि नेता चयन गर्ने तयारी गरिएको छ ।

एमाले संसदीय दलको बैठकबाट सर्वसम्मत् दलको नेता चुनिने छ । एमालेका केन्द्रीय सदस्य समेत रहेका जगन्नाथ थपलियालाई संसदीय दलको नेता चयन गर्ने तयारी एमाले बागमतीको छ । थपलिया चितवनबाट निर्वाचित प्रदेश सांसद हुन् ।


प्रदेशका सांसदहरूको छलफल र केन्द्रको निर्देशन बमोजिम संसदीय दलको नेता चयन गर्ने भएकाले अहिलेसम्मको अवस्थामा दलको नेतामा थपलिया हुने लगभग पक्का भएको एमाले बागमती प्रदेश कमिटीले जनाएको छ ।

यता आजै दिउसो २ बजेका लागि प्रदेशसभा सचिवालयमा १०९ जना प्रदेश सांसदहरूको सपथग्रहण कार्यक्रम गर्ने तयारी गरेको छ । त्यसभन्दा अगाडि संसदीय दलको नेता चयन भइसक्ने र सपथग्रहण कार्यक्रममा सहभागि हुने एमाले मकवानपुरका अध्यक्ष तथा प्रदेशसभाका सदस्य एकालाल श्रेष्ठले बताए ।

हालसम्म एमालेले बागमती प्रदेश सरकारको नेतृत्व पनि गर्ने केन्द्रमा सहमति भएको छ । त्यसैले एमालेले आज संसदीय दलको नेता चयन गरेपछि प्रदेशको मुख्यमन्त्री बन्ने बाटो पनि खुल्ला रहने छ ।


Author

थप समाचार
x