बागमती

चितवनमा पनि आजदेखि १५ दिन निषेधाज्ञा

इकागज |
बैशाख १६, २०७८ बिहीबार ८:५० बजे

चितवन : चितवनमा आजदेखि १५ दिनको लागि निषेधाज्ञा लागू भएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जिल्लामा कोभिड-१९ को जोखिम तीव्र बढ्दै गइरहेको र अस्पतालमा क्षमता भन्दा बढी संक्रमितहरु हुने देखिएपछि निषेधाज्ञा जारी गरेका हुन् ।

आजबाट बैशाख ३१ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी भएको छ ।  चितवनमा बुधबारसम्म ५ सय बढी सक्रिय संक्रमित थिए । सक्रिया संक्रमित ५ सय बढेलगतै कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।


निषेधाज्ञामा अत्यावश्यक काम नभई घरबाहिर ननिस्कन प्रशासनले भनेको छ । निस्कनै परेमा अनिवार्य मास्क र जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्नेछ  । कुनै पनि सभा, सम्मेलन, गोष्ठी, तालिम सेमिनार संचालन गर्न पाइने छैन । सिनेमा, हेल्थक्लब, पार्टी प्यालेस, फनपार्क, फुटसल, पुस्तकालय, दोहोरी साँझ, जिमखाना, स्पा, स्विमिङपुल, ब्युटिपार्लर, सैलुन, फुटपाथ पसल संचलान गर्न नपाइने भएको हो ।

यसैगरी शिक्षण संस्थाहरुमा भौतिक उपस्थितिमा पठनपाठन नहुने, विवाह, ब्रतबन्ध गर्नुपरेमा घरमै १५ जनाभन्दा माथि नहुने गरी जनस्वास्थ्यका मापदण्ड पालना गरी गर्न पाइने प्रमुख जिल्ला अधिकारी लामिछानेबाट जारी आदेशमा उल्लेख छ । यस्तै मृत्यु संस्कारमा सहभागि हुनुपर्ने अवस्थामा शवबाहन बाहेकको सवारी प्रयोग गर्नु पर्ने भएमा प्रशासनको स्वीकृत लिनुपर्नेछ । 


Author

थप समाचार
x