बागमती

हेटौंडा उपमहानगरकाे बजेट आकार बढ्याे

इकागज |
पुस १४, २०७९ बिहीबार २१:८ बजे

मकवानपुर- हेटौंडा उपमहानगरपालिकाकाे बजेट आकार बढेकाे छ । गत असारमा सम्पन्न ११ औं नगर सभा अधिवेशनबाट आर्थिक वर्ष २०७९।०८० का लागि स्वीकृत बजेटमा करिब ३४ कराेड बजेट बढेकाे हाे । उपमहानगरपालिकाकाे बिहीबार सम्पन्न १२ औं नगर सभा अधिवेशनमा संशाेधित बजेट वक्तव्य मार्फत ३३ कराेड २१ बजेट आकार बढाइएकाे हाे ।

चालू आर्थिक वर्षका लागि स्वीकृत भएको हेटौंडा उपमहानगरपालिकाका बजेटको आकार छ महिना मै बढेको हाे । आर्थिक वर्ष २०७९/८० का लागि गत असार २० गते ११ औं नगर सभा अधिवेशनबाट २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ बजेट स्वीकृत गरिएकाे थियाे । बिहीबारकाे १२ औं नगर सभा अधिवेशनबाट संशाेधित बजेटको आकार ३ अर्ब ५ करोड पुगेको छ । संशाेधित बजेट बिहीबारको नगरसभाले सर्वसम्मत स्वीकृत समेत गरेको छ । 


संघीय सरकारबाट सरुवा भइ आउने कर्मचारी, आन्तरिक पदपूर्ति भएका करार कर्मचारीको तलब भत्ता र सञ्चालन खर्च, नगर कार्यपालिकाबाट निर्णय भएका कार्यक्रम खानेपानी न्यूनतम् महसुल भुक्तानी, इन्जिनियरिङ कलेज सञ्चालन खर्च तथा गत आर्थिक वर्षबाट दायित्व सरी आएकाे खर्च भुक्तानी लगायतले थप बजेट र अन्य आवश्यक कार्यक्रमहरूका लागि आन्तरिक श्रोत व्यवस्थापन गरी संशोधित बजेट ३ अर्ब ५ करोड पुर्‍याइएको उपमहानगरपालिकाकाे १२ औं नगर सभा अधिवेशनमा नगर उपप्रमुख राजेश बानियाँले प्रस्तुत गरेकाे नीति कार्यक्रम एवम् बजेट समिक्षासहितकाे संशाेधित बजेट वक्तव्यमा उल्लेख छ ।

उपमहानगरले चालू आर्थिक वर्षको हालसम्मको अवधिमा आय तर्फ संघीय सरकार समानीकरण तथा सशर्त अनुदान तर्फ ५५ करोड ४६ लाख ६ हजार, प्रदेश सरकार समानीकरण तथा सशर्त अनुदान तर्फ ३७ करोड ५० हजार, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँट तर्फ ६ करोड ७ लाख ६८ हजार र आन्तरिक श्रोत कर, राजश्व श्रोत र गत वर्षको समेत गरी ८७ करोड ८७ लाख ८ हजार  आम्दानी गरेको बानियाँले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ ।

उपमहानगरको खर्च तर्फ  कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा १७ करोड ५८ लाख ६४  हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा १ करोड ८० लाख ५२ हजार, पूर्वाधार विकास तर्फ १३ करोड ६९ लाख ९२ हजार, सामाजिक विकास तर्फ ३० करोड ७४ लाख १२ हजार, आर्थिक विकास तर्फ २ करोड ४० लाख ६४ हजार समेत गरी कुल ६६ करोड २३ लाख ८५ हजार रुपैयाँ गरेको जनाएको छ ।

नगर सभामा प्रस्तुत प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको स्वीकृत २ सय ५८ योजना मध्य ४८ वटा सम्पन्न भएको र २ सय १० वटा सम्झौता भई कार्यान्वयनको चरणमा रहेका छन् । गत आर्थिक वर्ष २०७८।०७९ मा जिम्मेवारी सरेर आएका योजना मध्य ८४ वटा सम्पन्न भएका छन् ।

हेटौंडा उपमहानगरपालिकामा प्रज्ञा प्रतिष्ठान गठन हुने

हेटौंडा उपमहानगरपालिकामा प्रज्ञा प्रतिष्ठान गठन हुने भएकाे छ । १२ औं नगर सभाले हेटौंडा उपमहानगरपालिका प्रज्ञा प्रतिष्ठान विद्येयक, २०७९ सर्वसम्मत पारित गरेपछि प्रज्ञा प्रतिष्ठान गठनका लागि प्रक्रिया अघि बढ्ने भएकाे हाे । प्रज्ञा प्रतिष्ठान ऐन बनेपछि प्रतिष्ठान गठन प्रारम्भ हुने बताइएकाे छ । यसअघि मकवानपुरकाे बकैया गाउँपालिकाले प्रज्ञा प्रतिष्ठान गठन प्रक्रिया थालिन गरिसकेकाे छ ।

यस्तै हेटौंडा उपमहानगरपालिकाले जनस्वास्थ्य सेवा विद्येयक, २०७९ समेत स्वीकृत गरेकाे छ । नगरसभाले हेटौंडा उपमहानगरपालिका बाल अधिकार संरक्षण नीति २०७९ समेत पास गरेको छ । हेटौंडा उपमहागरपालिका बालबालिका सम्बन्धी ऐन, २०७७ को पहिलो संशाेधन विधेयक, २०७९, हेटौंडा उपमहागरपालिका​​शिक्षा ऐन, २०७४ को पहिलो संशाेधन विधेयक, २०७९, हेटौंडा उपमहागरपालिका वातावरण संरक्षण ऐन, २०७७ को पहिलो संशोधन विधेयक, २०७९ समेत स्वीकृत गरिएकाे छ ।

२ वटा समिति गठन

यसैगरी उपमहानगरपालिकाकाे १२ औं नगर सभा अधिवेशनबाट स्थानीय सरकार संचालन ऐन, २०७४ अनुसार २ वटा समिति समेत गठन गरिएकाे छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २२ मा भएको व्यवस्था अनुसार हेटौंडा ९ का वडा अध्यक्ष सुकराम केशीको संयोजकत्वमा विद्यायन समिति र हेटौंडा १९ का अध्यक्ष नरनाथ सुवेदीको संयोजकत्वमा लेखा समिति गठन गरेको हाे । उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाको अध्यक्षतामा भएको नगरसभा भएको हो । 

हेटौंडाको विकासका लागि एकताबद्ध भएर काम गर्ने संघ र प्रदेश सांसदको प्रतिबद्धता

हेटौंडाको विकासका लागि एकताबद्ध भएर काम गर्ने संघ र प्रदेश सांसदहरूले प्रतिबद्धता जनाएका छन् । हेटौंडा उपमहानगरपालिकाले गरेकाे मकवानपुर जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित प्रत्यक्ष र समानुपातिक सांसदहरूकाे स्वागत तथा बधाई कार्यक्रममा उक्त प्रतिबद्धता जनाइएकाे हाे ।

मकवानपुरबाट निर्वाचित भएका संघ र प्रदेशसभाका सदस्यहरूले हेटाैंडाकाे विकासका लागि दलगत स्वार्थ भन्दा माथी उठेर काम गर्ने प्रतिवद्धता जनाएका हुन् । कार्यक्रमका मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेश कुमार बतौंलाले हाम्राे आफ्नै नगरकाे विकासका लागि दल तथा गठबन्धन नभनी एक जुट भएर लाग्नु पर्ने बताए । ‘नगरकाे विकासका लागि बजेटकाे कमी छैन,’ उनले भने, ‘गुणस्तरीय काम हुन जरुरी छ ।’

कार्यक्रममा नेपाली कांग्रेसबाट मकवानपुर क्षेत्र नम्बर–२ को (१) बाट निर्वाचित प्रदेश सभा सांसद इन्द्रबहादुर बानियाँले हेटौंडाका सडक फराकिलो बनाउनुपर्ने बताए । सडक विकाससँग समेत जाेडिएकाेले आवश्यक पूर्वाधार नभएकाे तथा साँघुराे सडकका कारण बजार विस्तार समेत गर्न नसिकएकाे भन्दै अहिले पनि प्रदेशसभाका सदस्यहरू हेटौंडाको राजधानी सार्न लागिरहेकाे उनले बताए । अब राजधानी सार्ने हाेइन उपमहानगरपालिकालाई विकास गरेर महानगर बनाउनुपर्ने तथा प्रदेश राजधानी समेत यहीँ स्थायी बनाउन पहल गर्ने बताए ।

कार्यक्रममा एमालेका तर्फबाट विजयी मकवानपुर क्षेत्र नम्बर–१ को (२) का प्रदेश सांसद एकालाल श्रेष्ठले स्राेतमा धनी प्रदेशकाे एक मात्र उपमहानगरपालिकाले तत्कालीन गर्नुपर्ने काम र दिर्घकालीन कामहरू पहिचान गरी कार्य गर्नुपर्ने बताए । उनले करकाे दरभन्दा दायरा फराकिलो पार्नु पर्ने बताएका छन् ।

यस्तै माओवादीका तर्फबाट विजयी मकवानपुर क्षेत्र नम्बर–१ को (१) का प्रदेश सांसद प्रेमबहादुर पुलामीले विकासका लागि सबै एकजुट भएर काम गर्नु पर्ने बताए । कार्यक्रममा प्रदेशसभामा मकवानपुरबाट एमालेका समानुपातिक सांसद भारती पाठक, कांग्रेसका समानुपातिक सांसद लक्ष्मी श्रेष्ठ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

विजयी प्रतिनिधि सभा तथा प्रदेश सभा सांसदहरूलाई नगर प्रमुख मिनाकुमारी लामा उप प्रमुख राजेश बानियाँले बधाईसहित मायाकाे चिनाे मकवानपुरे ठेकी प्रदान गरेका थिए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य राप्रपाका दिपकबहादुर सिंह तथा प्रदेश सभा २(१ ) का कुमारी माेक्तान उपस्थित थिएनन् ।

उकृष्ट २ वटा वडा पुरस्कृत

यसैबीच हेटाैंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८।०७९ मा उत्कृष्ठ वडाका रूपमा २ वटा वडालाई नगदसहित सम्मान गरेकाे छ । गत आर्थिक वर्षमा वडाले गरेकाे वित्तीय प्रतिशतकाे आधारमा सम्मान गरेकाे हाे ।

हेटौंडा उपमहानगरपालिकाकाे वडा नम्बर १४ र १५ लाईं उत्कृष्ट वडाकाा रूपमा सम्मान गरिएको हाे । वडा नम्बर १४ ले गत आर्थिक वर्षमा ९७.३८ प्रतिशत वित्तीय प्रगति हासिल गरी प्रथम भएकाे हाे । साथै वडा नम्बर १५ ले गत आर्थिक वर्षमा ९७.०६ प्रतिशत वित्तीय प्रगति हासिल गरी द्वितीय भएकाे हाे ।

प्रथम र द्वितीय हुने वडालाई सम्मान पत्र तथा नगर २० लाखसहित प्रतिनिधि सभाका सांसद महेशकुमार बर्ताैला तथा प्रदेश सभाका सांसद इन्द्रबहादुर बानियाँले सम्मानित गरेका हुन् ।


Author

थप समाचार
x