पोल्ट्री दिवस :
'सरकार राहत दिन वर्षौँ लगाउँछ, बैंकले एक दिन पनि ढिला मान्दैन, हामी सधैँ मारमा'
मकवानपुर- नेपाल कृषि प्रधान देश । तर कृषिमा आत्मर्निभर बन्न नसक्दा कृषिजन्य सबैजसो बस्तु आयात मै भरपर्नुपर्ने बाध्यत्मक अवस्था छ । बागमती प्रदेशमा पुस ११ गतेबाट १७ गतेसम्म राष्ट्रिय पोल्ट्री दिवस सप्ताहव्यापी रुपमा मनाइँदै छ ।
सरकारले मन्त्रालय र होटलहरूमा पोल्ट्री दिवस मनाइरहँदा पोल्ट्री व्यवसाय नै धरासायी बन्दै आएको छ । अहिले कृषि तथा पशुपक्षी विकास मन्त्रालय बागमती प्रदेशले १० औं राष्ट्रिय पोल्ट्री दिवस सप्ताहव्यापी रुपमा मनाइरहेको छ ।
मन्त्रालयले मातहतका निकाय तथा सरोकारवाला संस्थाहरूसँगको सहकार्यमा दिवस मनाइरहँदा पोल्ट्री व्यवसायमा लागेकाहरूलाई भने ऋणको ब्याज तिर्न नसकेर व्यवसाय धरासायी बन्दै आएको चिन्ताले पिरोलिरहेको व्यवसायी नकुल चौलागाई बताउँछन् ।
सरकारी स्तरबाट बारा जिल्लाको परवानीपुरमा निर्मित सेन्ट्रल ह्याचरी २०१७ साल पौष १७ गते उद्घाटन गरिएको थियो । त्यस दिनको ऐतिहासिक महत्वलाई दृष्टिगत गरी २०७० सालबाट हरेक वर्ष पौष १७ गतेलाई राष्ट्रिय पोल्ट्री दिवसको रुपमा मुलुकभर मनाउँदै आइएको छ ।
दिवस मनाए पनि पोल्ट्री व्यवसायीहरूको पीडामा मल्हम पट्टी लगाउने कुनै काम नभएको अगुवा पोल्ट्री व्यसायीहरूको गुनासो छ । कुखुरा व्यवसायको बीमा गर्न बीमा कम्पनीहरूले नमानेको कारण पनि व्यवसायीहरू मारमा छन् । पछिल्लो ९ महिनायता मात्रै व्यवसायीहरूको क्षति वापतको राहत राज्यले ५७ करोड ८० लाख क्षति व्यवासयीलाई दिन बाँकी रहेको कुखुरा व्यवसायी संघ मकमवानपुरका निवर्तमान अध्यक्ष राजु अधिकारीले बताए ।
हाल पोल्ट्री क्षेत्रको समस्याग्रस्त अवस्थामा समेत बागमती प्रदेशको अर्थतन्त्रमा यसबाट विशिष्ट योगदान पुग्दै आएको छ । मन्त्रालयका अनुसार प्रदेशभित्रका विभिन्न स्थानमा सञ्चालित पोल्ट्री व्यवसायले मुलुकको कुल मासु उत्पादनमा २२ प्रतिशत र कुल अण्डा उत्पादनमा ६० प्रतिशत योगदान गरेको छ ।
कृषि तथा पशुपक्षी मन्त्रालयका मन्त्री बसुन्धरा हुमगाईं किसान हितको लागि धेरै कामको आधार आफ्नो कार्यकालमा तयार भएको बताउँछन् । 'किसानको वर्गिकृत परिचय पत्र वितरणको लागि अन्तिम तयारीमा पुगेका छौँ, अनुदान कार्यक्रमबाट किसानले राहत नपाएको पुष्टि भएपछि अनुदान कार्यक्रम हटाएका छौँ' मन्त्री हुमगाईंले भने 'कुखुराको बीमाको लागि सरकारले ६० प्रतिशत सहुलियत दिएको बैंकहरूले बीमा गर्न मानेन भने उजुरी गर्नुस् न किन नगर्ने बीमा ?'
व्यवसायीहरूले आफूहरू बैंकको ब्याजदरमा थिचिइरहेको गुनासो गरिरहँदा सरकारले भने दिवस मनाउनकै लागि होटलहरूमा अन्तरक्रियाको नामका खर्च गरिरहेको छ । बेलाबेलामा फैलने बर्ड फ्लू जस्ता समस्याको कारण आजित भएका व्यवसायीहरूलाई उनीहरूको दीगो व्यवसायीक जीवनस्तर उकास्ने उपायको खोजी सरकारबाट हुनु जरुरी भएको अधिकारीले बताए ।
'महामारीपछि सरकारले दिने राहत वर्षौ ढिला गर्छ, बैंक एक दिन ढिलाई गर्न मान्दैन, हामी व्यवसायी सधैँको मारमा छौँ' अधिकारीले भने 'यही हालतको कारण युवा व्यवसायीहरू दिनदिनै अन्य पेशातर्फ लाग्न बाध्य भएका छन् ।'
आर्थिक वर्ष २०७७ /०७८ मा नेपालको अर्थतन्त्रमा पोल्ट्री क्षेत्रले ५ प्रतिशत योगदान गरेको थियो । यसै गरी कृषिजन्य कुल ग्राहस्थ उत्पादनमा करिब ८ प्रतिशत योगदान पोल्ट्री व्यवसायको छ । यसैगरी उक्त आवमा ५ लाख २० हजार ६४२ मेट्रिक टन मासु उत्पादन भएको थियो भने १४ लाख ९३ हजार ५५० हजार अण्डा उत्पादन भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया