बागमती

माओवादी बागमतीमा दलकाे नेता बने जमरकट्टेल, चित्त नबुझेपछि बैठकबाटै बाहिरिए प्रदेश अध्यक्ष

इकागज |
पुस १६, २०७९ शनिबार १७:४७ बजे

मकवानपुर- बागमती प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन् ।

माओवादी केन्द्रले सर्वसम्मत नेता चयन गर्न शुक्रबारबाट पहल थालेको थियो । शुक्रबार सहमति नभएपछि संसदीय दलको आज शनिबार बसेको बैठकले जमरकट्टेललाई सर्वसम्मत नेता चयन गरेको हो । बैठकले सर्वसम्मत रूपमा जमरकट्टेललाई नेता चयन गरेको भने पनि पार्टीका प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले असन्तुष्टी जनाएका छन् ।


संसदीय दलको नेतामा माओवादीबाट पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल र पार्टी प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलको पनि दाबी रहेको थियो । संसदीय दलको बैठकले पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री र हाल आर्थिक मामिला मन्त्री समेत रहेका जमरकट्टेललाई संसदीय दलको नेता चयन गरेको हो ।

संसदीय दलको नेतामा जमरकट्टेलको नाम प्रस्तुत भएपछि सरल सहयात्री बैठक कक्ष छोडेर बाहिरिएका थिए । 

संसदीय दलको नेता बनाउन चुनाव नगर्ने, सर्वसहमतिबाट टुङ्गो लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले निर्देशन दिएका थिए । प्रचण्डको निर्देशन पनि सहमति जुटाउनका लागि माओवादी नेताहरू हितमान शाक्य, नारायण दाहाललगायत खटिएका थिए ।

सहमति भनिएको नाममा पौडेलले असहमति जनाएका छन् । संसदीय दलको नेताका लागि चुनाव हुनुपर्ने उनको माग थियो । उनले सामाजिक सन्जाल मार्फत असन्तुष्टी प्रकट गरेका हुन् ।


Author

थप समाचार
x