बागमती

केन्द्रीय सहमति नटुंगिँदा वाग्मतीमा सरकार गठन आव्हान हुनै सकेन

इकागज |
पुस १९, २०७९ मंगलबार १४:२९ बजे

मकवानपुर । मंसिर ४ को निर्वाचनपछि गठन भएको वाग्मती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सोमबारबाट सुरु भएको छ । तर सरकार गठनको लागि आह्वान नै हुन सकेको छैन ।

सरकार कि सदन पहिले भन्ने सम्बन्धमा स्पष्ट व्यवस्था नहुँदा प्रदेश सरकार गठनको आव्हान नै हुन नसकेको हो । मुख्यमन्त्रीमा दावी गर्दै आएका दलहरु केन्द्रीय सहमतिको पर्खाइमा रहेका कारण सरकार गठनमा ढिलाइ भएको हो ।

नेकपा एमाले, नेकपा माओवादी  केन्द्र र राप्रपाले प्रदेश सरकारको दावी गरेका छन् । ती दलका संसदीय दलका नेताहरू जगन्नाथ थपलिया, शालिकराम जम्मकट्टेल र उद्धव थापाले आ-आफ्नै दावी मुख्यमन्त्रीमा गरे पनि सत्तारुढ दलहरुले वाग्मती प्रदेशमा कस्को नेतृत्वमा सरकार बनाउने टुंगो लगाउन सकेका छैनन् ।

३७ सदस्य भएको नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा नेकपा एमालेले आफूले प्रदेशको नेतृत्व गर्न पाउनु पर्ने बताउँदै आएको छ । एमाले संसदीय दलको नेता थपलिया आफू मुख्यमन्त्रीको दाबेदार रहेको बताउँछन । तर केन्द्रीय सहमति जे हुन्छ त्यही अनुसार अघि बढ्नु पर्ने वाध्यता रहेको समेत स्वीकार गर्छन् ।

यस्तै माओवादी केन्द्रका संसदीय दलका नेता जम्मरकट्टेल प्रदेशको पहिलो कार्यकालमा आफूहरूले एमालेलाई सहयोग गरेकोले यो पटक माओवादीको सरकार बन्नु पर्ने बताउँछन् । प्रदेशको मन्त्रीको जिम्मेवारीमा रहिसकेको अनुभवले समेत आफू मुख्यमन्त्री बन्नु पर्ने उनको भनाइ छ ।

यता अन्य प्रदेशमा दावी नगरी वाग्मती प्रदेशमा राप्रपाले मुख्यमन्त्री दावी गरेको छ । संसदीय दलको नेता थापा सरकार गठनको लागि राप्रपा निर्णायक रहेकोले समेत आफ्नो पार्टीको नेतृत्वमा प्रदेश सरकार गठन हुनु पर्ने दावी गर्छन् । ३ दलका ३ नेताले मुख्यमन्त्रीको दावी गरिरहे पनि बदलिएको राजनैतिक परिवेशमा केन्द्रीय तहमा सहमति र भागबन्डा जसरी बन्छ वाग्मती सरकार पनि त्यही अनुसार गठन हुने नेताहरू बताउँछन् । वाग्मती प्रदेश सरकार पुस महिना भित्रै गठन भइसक्ने दावी नेताहरूको छ ।

१ सय १० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३, हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।

सभामुखको निर्वाचन तालिका सार्वजनिक

यसैबीच बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकले सभामुखको निर्वाचन मिति तय गरेको छ । नेपालको संबिधानको धारा १८२ को उपधारा १ मा प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन भित्र प्रदेश सभा सदस्यहरुले आफू मध्येबाट सभामुख गर्नु पर्ने प्रावधान छ ।

संवैधानिक प्रावधान अनुसार निर्वाचन मिति तय भएसँगै प्रदेश सभाका सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । सोमबार बसेको प्रदेश सभाको पहिलो बैठकले सभामुखको निर्वाचनको लागि पुस २९ को मिति तय गरेको हो ।

प्रदेश सभा सचिवालयले पुस २९ गते शुक्रबार बिहान ११ बजे निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो । प्रदेश सभा सचिवालयका सचिव कृष्ण हरि खड्काका अनुसार सभामुखको निर्वाचनका लागि २८ पुसमा मनोनयन दर्ताको लागि बिहान १०ः३० देखि दिउँसो २ बजेसम्म, मनोनयन फिर्ताको समय सोही दिन दिउँसो २ः३० देखि ३ः३० बजेसम्म रहने छ ।

यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन अपराह्न ४ बजे गरिने कार्यतालिका रहेको छ । सभामुखको निर्वाचन पुस २९ गते शुक्रबार ११ बजे बस्ने प्रदेश सभाको बैठकमा हुनेछ ।



Author

थप समाचार
x