कोभिड संक्रमितका कुरुवा डिसी : पेटीमा बस्छिन्, बरन्डामा सुत्छिन्
हेटौँडा : हेटौँडा अस्पतालले छोटो समयका लागि १० बेडको आइसियूसहितको एचडियू सेवा सुरु गर्यो । सेवा सुरु भएको पहिलो दिन १ जना र दोस्रो दिनमा ३ जना हुँदै बिहीबारसम्म १० जना गम्भीर कोभिड-१९ संक्रमितहको उपचार भइरहेको छ । यसअघि २ जना स्वास्थ्यमा सुधार भएसँगै डिस्चार्ज भएर घर फर्केका छन् ।
आजबाट २० बेडको संक्रमित राख्न एचडियू बेड सञ्चालनमा आउँदैछ । संक्रमितहरुका लागि राम्रो सेवा प्रदान गरे पनि कुरुवामा भने निराशा छाएको छ । कोभिड-१९ उपचार कक्ष नजिकैको अस्पताल क्वार्टर भवनको सानो पेटीमा उनीहरु म्याट ओछ्याएर सुत्न बाध्य छन् । अस्पतालले कुरुवाका लागि कुनै पनि व्यवस्था नगरिदिँदा आफन्तहरु अस्पताल बाहिरको पेटीमा रात बिताउन बाध्य छन् ।
‘कोभिड-१९ संक्रमणको डर त छदै छ, खुला स्थानमा बस्नुपरेको छ’ कुरुवा मन डिसीले भनिन् । कोरोना संक्रमित ५० वर्षीय भाइलाई आइसियूमा भर्ना गरेर उनी बाहिर बस्दै आएकी छिन् । ‘उपचार कक्षभित्र जान पाइँदैन । औषधि खरिद गर्नुपर्ने भएपछि सिस्टरले बोलाउँछन् । नजिकै बस्नुपर्छ । बस्नलाई बेन्च पनि छैन । पेटीमै बस्नु परेको छ ।’ उनी हेटौंडाकी स्थानीय वासिन्दा हुन् । दिनभरि बाहिर पेटीमा बस्ने गरेको भएपनि रातमा अस्पताल बाहिरको बरन्डामा सुत्ने गरेको उनको भनाई छ ।
भाईको स्वास्थ्यमा सुधार आएको जानकारी आएपछि आफूले बाहिर झेलेको समस्यालाई भुलेको उनले बताइन् । हेटौँडामै यस्तो उपचार पाउँदा खुसी लागेको उनको भनाई छ । हालसालै कोभिड उपचार कक्ष निर्माण गरी संचालनमा आएका कारण कुरुवालाई व्यवस्थापन गर्न नसकिएको अस्पतालले जनाएको छ । अब उनीहरुको पनि व्यवस्थापन हुने अस्पताल प्रशासनले जनाएको छ । हेटौंडा-५ का मिलनकुमार कार्की पनि कोभिड-१९ उपचार कक्ष बाहिर खुल्ला आकाशमा बस्न बाध्य छन् । उनी आमालाई कोभिड पुष्टि भएसँगै उपचार कक्षको बाहिर उच्च जोखिम क्षेत्र नजिकै बस्दै आएका छन् ।
हेटौँडा अस्पतालको आइसीयुमा हाल १० जनालाई अक्सिजन दिएर उपचार भइरहेको छ । जसमध्ये ९ जना हेटौंडा उपमहानगरपालिकाका र १ जना महोत्तरी जलेश्वरबाट उपचारका लागि हेटौंडा आएका हुन् । हेटौंडामा उपचारको बाहिरी जिल्लाबाट आएकालाई पनि आइसियूमा राखिएको चिकित्सक सागर काफ्लेले जानकारी दिए । मकवानपुरमा हालसम्म ३ सय २५ सक्रिय संक्रमित छन् । अस्पतालले गम्भीर प्रकृतिका ५० जनासम्म संक्रमितहरुलाई उपचार दिन सक्ने जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया