कार्यकाल सकिँदै गर्दा बागमतीका मन्त्रीलाई समीक्षाको चटारो
मकवानपुर- बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुस २५ गते सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका छन् ।
कार्यकाल सकिँदै गर्दा बागमतीका मन्त्रीहरूलाई आफ्नो नेतृत्वमा भएको काम पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्न भ्याइनभ्याइ छ । आज एकै प्रदेशका मुख्यमन्त्रीसहित ३ मन्त्रीहरूले पत्रकार सम्मेलन मार्फत आफ्नो कार्यकालको समीक्षा सार्वजनिक गरे ।
समीक्षात्मक पत्रकार सम्मेलनमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो कार्यकालमा आधारभूत पाटोका धेरै राम्रा सुधारका कामहरू भएको दाबी गरे । कृषिमा आत्म निर्भरताका लागि प्रदेश सरकारले विभिन्न योजनाहरू लागू गरेको उनकाे भनाइ छ ।
प्याज र लसुनमा आत्मनिर्भर बनाउनका लागि उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम गरिएको, कृषि बाली वस्तुको न्यूनतम समर्थन मूल्य तोक्न चितवन, धादिङ्ग र काभ्रेपलाञ्चोक जिल्लालाई पाइलट कार्यक्रमका रूपमा अघि बढाइएको मुख्यमन्त्री पाण्डेले बताए ।
यसैगरी पूर्वाधार विकास क्षेत्र अन्तर्गत सडक निर्माण तथा विस्तारमा रहेको अवरोध हटाउन सडक क्षेत्रमा पर्ने घर टहराको क्षतिपूर्ति निर्धारण कार्यविधि, २०७८ स्वीकृत गरी काममा तीव्रता दिइएको, अत्यावश्यक स्थानमा पूर्वाधार निर्माण गर्ने नीति अवलम्बन गर्ने क्रममा झोलुङ्गे पुल रणनीति, २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको, प्रदेशको सबै स्थानीय तहको केन्द्रसम्म पक्की सडकले जोड्ने नीति अन्तर्गत २० वटा स्थानीय तहका केन्द्र जोड्ने १४७ किमी सडक कालोपत्रे हुँदै गरेको पाण्डेले बताए ।
सडक पूर्वाधारतर्फ कच्ची सडक १६० किमी ग्राभेल खण्डास्मिथ सडक २ सय किमी, कालोपत्रे सडक ११६ किमी ढलान सडक ७४ किमी र सडक पुल १९ वटा तथा झोलुङ्गे पुल, ट्रस ब्रिज ६ वटा सम्पन्न भएको पाण्डेले बताए ।
यसैगरी यही बीचमा भवन पूर्वाधारतर्फ नयाँ भवन निर्माण २१२ वटा, पार्क तथा अन्य संरचना निर्माण २६४ वटा, सरकारी भवन मर्मत ५७ वटा, जनता आवास इकाई निर्माण ६८८ वटा सम्पन्न भएका छन् ।
सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाउन प्रदेशभित्र आर्थिक २०७८, ०७९ मा थप २१ वटा प्रहरी इकाई भवन निर्माणाधीन रहेको साथै यस आवमा थप १४ वटा प्रहरी इकाई भवन निर्माण कार्य अगाडि बढाइएको बताइएको छ ।
प्रदेश राष्ट्रिय गौरवको योजनाका रूपमा प्रदेश चक्रपथ निर्माण कार्यका लागि बजेट व्यवस्था गरी निर्माण कार्य सुरुवात गरिएको छ । फुसको छानाको सट्टा जस्ताको छाना लगाउन अनुदान उपलब्ध गराई फुसको छाना उन्मुलन कार्यक्रमको सुरुवात भएको, बागमती प्रदेशको राजधानी हेटौंडाको प्रशासनिक भवनका लागि आवश्यक जग्गा पहिचान गरी जग्गा प्राप्तिका लागि नेपाल सरकार समक्ष अनुरोध गरी पठाइएको पाण्डेले बताए ।
प्रदेशमा विज्ञान तथा प्रविधिको विकास सम्बन्धी कार्यका लागि नीतिगत आधार तयार गर्न प्रदेश विज्ञान तथा प्रविधि, अनुसन्धान र नवप्रवर्तन नीति, २०७८ स्वीकृत गरी कार्यान्वयन ल्याइएको छ ।
सामुदायिक क्याम्पसको भौतिक तथा शैक्षिक पूर्वाधार विकास गर्न २३ वटा क्याम्पसहरूलाई २० लाखका दरले अनुदान उपलब्ध गराइएको बताइएको छ
यसैगरी बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ र स्वास्थ्य मन्त्री निमा लामाले पनि आजै पत्रकार सम्मेलन मार्फत आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गरे ।
संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले आफ्नो कार्यकालमा धेरै राम्रा काम भएको र अब बन्ने सरकारले समेत मन्त्रालयले आगामी कार्यदिशका रूपमा तय गरेको योजनाहरूलाई कार्यान्वयनमा ल्याउनु पर्ने श्रेष्ठकाे भनाइ छ ।
आजै स्वास्थ्य मन्त्री लामाले पनि आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रमा धेरै सुधारोन्मुख कार्य भएको दाबी गरे । कोरोना महामारीका बेलामा आफ्ना नागरिकको स्वास्थ्य बचाउनका लागि गरेको काम नै मन्त्रालयको सबैभन्दा उत्कृष्ट काम रहेको मन्त्री लामाको दाबी छ ।
मन्त्री र सचिव स्तरबाट आफ्नो कार्यकाल सफल रहेको दाबी गरिरहँदा आमसर्वसाधारणले भने सरकारले प्रदान गर्दै आएको सेवा प्रवाह अझै प्रभावकारी नभएकाले सुधार आवश्यक रहेको बताएका छन् ।
प्रविधिको युगमा समेत हरेक कार्यालयहरूमा व्यक्तिगत विवरणहरू दिँदै हिँड्नुपर्ने, छिटो छरितो काम नहुने गरेको युवा स्वास्थ्यकर्मी प्रमोद लामिछानेले गुनासाे गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया