१५ दिनभित्र प्रतिवेदन पेस गर्ने
बागमतीमा मन्त्रालय घटाउन कार्यदल गठन
मकवानपुर - बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउन कार्यदल बनाउने निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नियुक्त भएलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेश सरकारको मन्त्रालयहरू घटाउने निर्णय गरेको हो ।
मुख्यमन्त्रीसंगै अन्य दुई जना मन्त्रीहरूले आफ्नो पदभार ग्रहण गरेसँगै दुईवटा निर्णय गरेका छन् । मन्त्रिपरिषदको पहिलो बैठकले देशैभर चर्चामा रहेको मन्त्रालयको संख्या घटाएर निर्धारण गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
सचिवको नेतृत्वमा गठिन पाँच सदस्यिय कार्यदलले आगामी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने छ । यसैको आधारमा मन्त्रालय संख्या टुंगोमा पुर्याउने मुख्यमन्त्री जम्मकट्टेलले जानकारी दिए ।
पाँच सदस्य कार्यदल बागमती प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन भएको हो । कार्यदलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, कानुन सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासन महाशाखा प्रमुखलगायत पाँच सदस्य रहेका छन् ।
बागमतीमा निवर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको कार्यकालमा आठबाट मन्त्रालय संख्या १४ पुर्याइएको थियो । जम्बो मन्त्रिपरिषद् बनाइएपछि पाण्डे नेतृत्वको गठबन्धन सरकारको आलोचना भएको थियो । मन्त्रालय संख्या बढाउने तत्कालीन गठबन्धनको निर्णयमा वर्तमान मुख्यमन्त्री जम्मकट्टेलको समेत समर्थन थियो ।
प्रतिपक्षमा बसेर मन्त्रालय सङ्ख्या घटाउन दबाब दिंदै आएको एमालेले अहिले मन्त्रालय घटाउने पहिलो एजेण्डा उठाएको हो । पाण्डे नेतृत्वको सरकारमा रहँदा आवश्यकता अनुसार मन्त्रालय फुटाएको र यसको औचित्य पुष्टि हुने बताउँदै आएका हालका जम्कट्टेल अहिले नयाँ गठबन्धनमा आएपछि आफैंले सरकारको नेतृत्व गर्दा मन्त्रालय संख्या घटाउन तयार भएका हुन् ।
अब बागमती प्रदेशमा बढीमा ११ वटासम्म मन्त्रालय रहने जम्मकट्टेलले बताए । बैठकले संघीय सरकारसँग योजना माग गर्ने सम्बन्धमा दोस्रो निर्णय गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया