बागमती

व्यवसायीलाई बैंकको ब्याज र घरभाडाको चिन्ता

सुसन लामिछाने |
बैशाख १८, २०७८ शनिबार १०:४७ बजे

हेटौंडाः ०७६ सालको चैत्र पहिलो साताबाट सुरु बन्दाबन्दीले अधिकांश व्यावसायी थला परे । चैत पहिलो साताबाट सुरु भएको बन्दाबन्दी लम्बिदैं साउनसम्म पुग्यो । अहिले पुनः कोभिड–१९ संक्रमण तीब्र रूपमा बढिरहेको छ । सरकारले नियन्त्रण तथा रोकथाम गर्न विभिन्न क्षेत्रमा निषेधाज्ञा लागू गरेको छ । यो कहिलेसम्म जान्छ भन्न सकिने अवस्था छैन । दोश्रो चरणको निषेधाज्ञा लागू भएपछि पुनः व्यवसायीहरू चिन्तामा परेका छन् । 

‘बल्ल–तल्ल लकडाउनबाट थलिएको व्यवसायमाथि उठ्न खोजेको थियो । फेरि बन्द हुने भयो,’ ब्यवसायी उमेश शर्माले भने । मकवानपुरमा उनी राम लक्ष्मण फर्निचर उद्योग संचालन गर्छन् । ‘एक करोड पुँजी लगानी गरेको छु, ५ जना कामदारलाई रोजगारी पनि दिएको छु । तर के गर्ने लकडाउन भएपछि व्यापार ठप्प हुने भयो । बैंकको किस्ता र पसलको भाडा तिर्न समस्या हुनेभो’, व्यवसायी शर्माले भने, ‘यसअघिको लकडाउनको आधी भाडा घरबेटीलाई बुझाको छु, अरु तिर्ने बाँकी छ ।’ 


जिल्लामा संक्रमण बढेसँगै मकवानपुरमा व्यवसायीहरूलाई बारअनुसार व्यवसाय संचालन गर्न प्रशासनले भनेको थियो । हेटौंडा बजार क्षेत्रमा धेरै भीडभाड हुन नदिन प्रशासनको गरेको निर्णयले काम गरे पनि व्यवसायीहरू भने मारमा परे । शर्मा भन्छन् मासिक एक लाख किस्ता र ६० हजार रुपैयाँ त घरभाडा अनिवार्य जुटाउनैपर्छ । अहिले नै बजारमा ग्राहक छैनन् । उनले थपे, ‘आजभोलि नै जिल्लामा निषेधाज्ञा लागू हुने सुनिदैछ ।’ त्यसो त मकवानपुरमा अहिले ४ सय बढी सक्रिय संक्रमित पुगिसकेको छ । पाँच सय पुगेपछि जिल्लामा निधेषाज्ञा लगाउने प्रशासनको तयारी छ । 

शर्माले संकटमा राज्यबाट धेरै आशा त गरेका छैनन् । लकडाउन अवधिको बैंकको ब्याज र घरभाडामा छुटसम्म व्यवस्थापन गर्दिए हुने उनको आशा छ । ‘व्यापार बाहेक अन्य आय छैन, परिवार पनि पाल्नुपर्छ यसै व्यवसायबाट,’ उनले भने । 

यसैगरी जिल्लामा ०३३ सालदेखि ग्लासको व्यापार गर्दै आएका गोपाल श्रेष्ठ अहिलेसम्मको व्यवसायिक जीवनमा यस्तो संटकको सामना गर्न नपरेको सुनाउँछन् । उनले जबदेखि व्यापारमा हात हाले ०७६ सालको पहिलो लकडाउन र अहिलको कोभिड–१९ को समय यसअघि कहिल्यै आएन । श्रेष्ठ भन्छन्, ‘जसो तसो यो संकट पनि टर्छ, यही हो घरभेटीलाई भाडा बुझाउन नसके पसल छोडेर जानुपर्छ ।’ व्यापार त आलोपालो बजार संचालन गर्दा ठप्प जस्तै बनिसक्यो ।

कोभिड–१९ यस्तो परिस्थितिमा राज्यले व्यवसायीलाई सम्बोधन गनुपर्ने बताउँछन् मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी एसिस रिजाल । ‘व्यवसाय त अहिले जोर बिजोर र आलोपालो बजार संचालनले गर्दा चौपट भइसक्यो,’ रिजालले भने, ‘ग्रामिण क्षेत्रबाट आउने ग्राहकहरूलाई पनि धेरै समस्या छ ।’ 

राज्यले नेपालमै बसेर केही गर्छु भन्ने व्यवसायीहरूलाई हेनुपर्ने उनको धारणा थियो । यस्तो महामारीको संकटमा राज्यले बैंकको ब्याज नपर्ने निर्णय मात्र गर्दिए पुग्ने उनको भनाइ छ । ‘त्यसो त अहिले ब्यापार गर्नेको भन्दा बिचौलीयाहरूको मुनाफा बढी छ’ उनले भने ।  

८० हजार मासिक दुई पसलको सटर भाडा बुझाउनुपर्छ । कर्मचारीसहित अहिले ९ जनाको टिम छ । रिजालले भने, ‘अहिले जोखिम धेरै छ, बाँचे अझै बढी गरौला भन्ने लाग्छ ।’ 

यता मकवानपुर उद्योग वाणिज्य संघ पनि व्यवसायीहरूको गुनासो सम्बोधन गर्न सक्ने अवस्थामा नरहेको बताउँछ । ‘लकडाउन कति समय हुन्छ थाहा छैन, घरभाडा र बैंकको ब्याज तिरिदिन संघले सक्दैन,’ उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष क्रिष्ण कटुवालले भने, ‘व्यवसायीहरूको लागि ठोस खालको राहत दिने कोष संचालनमा समेत छैन ।’

यसअघिको लकडाउनमा सरकारले बैंकको ब्याजमा २ प्रतिशत ४ महिनाको लागि छुट दिए पनि त्यतिले पर्याप्त नभएको उनले बताए । यसअघिको लकडाउनमा ७ सय देखि ८ सय व्यवसायीले ब्याजमा २ प्रतिशत छुटको सुविधा लिएको उनको भनाइ छ । राज्यले यस्तो संटकमा लकडाउन हुँदा सोही अवधि भरको कर छुट, घरभाडा छुट, बैंकको ब्यामा छुट दिनुपर्ने उनले बताए । 

व्यवसायीलाई राज्यले सम्बोधन गर्छ भन्ने आशा गरेको उनले जनाए । मकवानपुरमा २९ सय ९२ व्यक्ति उद्योग वाणिज्य संघमा आबद्ध छन् । यसबाहेक धेरै संघमा पनि आबद्ध छैनन् । सबै व्यवसायीलाई टिकाउन राज्यले विशेष सम्बोधन गर्न आवश्यक भएको अध्यक्ष कटुवाल भन्छन् । उनले लकडाउनको समयमा घरभेटीले मात्रै नभएर सबैले सकेको घरभाडा छुट दिन पनि आग्रह गरे । ‘यस्तो कार्यको सुरुवात सरकारबाटै सुरु हुनपर्छ’ उनले भने ।


Author

थप समाचार
x