बागमती

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने

इकागज |
माघ ३, २०७९ मंगलबार ९:१८ बजे

फाइल तस्बिर

मकवानपुर- बागमती प्रदेशसभाको आज बस्ने छैटौ बैठकमा बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने भएका छन् । प्रदेश सभामा रहेका ११० सांसद मध्ये ७० जना सांसदको समर्थनमा जम्कट्टेल मुख्‍यमन्त्री चयन भएका हुन् ।

बागमती प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकोले संविधानको धारा १८६ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएको जम्कट्टेलले नियुक्ति भएको एक महिनाभित्र सदनमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ। गत पुस २५ गते बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले पुष २६ गते पद तथा गोपनियताको सपथ लिएका थिए ।


नेकपा एमाले नेकपा माओवादी केन्द्र राप्रपा नेकपा समाजवादी र हाम्रो नेपाली पार्टीसहित ५ दलको समर्थमा मुख्यमन्त्री बनेका उनलाई विश्वासको मत आउँदा ६९ मत आउने अपेक्षा गरिएको छ । राप्रपाका समानुपातिक सांसद भुवन कुमार पाठक सभामुख चयन भएकाले उनले मतदान प्रक्रियामा भाग लिन र मत दिन नपाउने व्यवस्था छ ।

मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई विश्वासको मत दिन आग्रह समेत गरेका छन् । एकाएक भत्किएको चुनावी गठबन्ध पछि बनेको नयाँ सत्ता समिकरणमा पहिलाे दल काँग्रेस बाहिर रहेको अवस्था छ । तर संघिय सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली काँग्रेसले समेत विश्वासको मत दिएकाले बागमती प्रदेश सभामा समेत काँग्रेसले विश्वासको मत दिन सक्ने बताइएको छ ।

तर प्रदेशसभाको सबै भन्दा ठुलो दल नेपाली कांग्रेसले सत्तारुढ दलहरुसंग सभामुख पद माग गरेको थियो । तर, केन्द्रीय सत्ता समिकरणमा राप्रपाको भागमा परेको सभामुख नपाएपछी कांग्रेसले विश्वासको मत नदिने अठोट गरेको काँग्रेसका एक नेता बताउँछन् । तर, मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने नदिने विषयमा कांग्रेस संसदीय दलको बैठक आज बिहान संसदीय दलको कार्यालयमा बस्ने काँग्रेस सांसद बताउँछन् ।

आज दिउँसो साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा जम्कट्टेलले विश्वासको मत दिन लागेका हुन । उनी नेकपा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सांसद गरि ७० जनाको समर्थनमा मुख्यमन्त्री चयन भएका हुन ।


Author

थप समाचार
x