बागमती

कर्मचारी अभावले काम गर्न समस्या : मुख्यमन्त्री जम्मकट्टेल

इकागज |
माघ ६, २०७९ शुक्रबार १७:४५ बजे

मकवानपुर- कर्मचारीको अभावमा काम छिटो छरितो रूपमा सम्पादन गर्न नसकिएको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बताएका छन् ।

पछिल्लो समय १४ सय २० जना कर्मचारी नियुक्त गरेपछि काममा केही सहज भएको उनले बताए । प्रदेश निजामती ऐन छिटो निर्माण गर्ने प्रक्रियामा रहेको उनले बताए । प्रदेश लोक सेवा आयोगको तेस्रो वार्षिकोत्सवका अवसरमा बोल्दै उनले सात वटा प्रदेशमा बागमती प्रदेश लोकसेवा आयोगले नेतृत्वदायी भूमिका खेलेको दाबी गरे ।


प्रदेश आफैँमा नयाँ भएको र संघीय कानुनसँग बाझिएकाले केही समस्या भएको उनकाे भनाइ छ । पछिल्लो समय केही सहज जम्मकट्टेलले बताए । 

दरबन्दीभित्र अझै ३ हजार ५ सय कर्मचारी अपुग रहेको र अब कर्मचारी भर्ना गर्न ऐन निर्माण गरिसकेपछि थप सहज हुने मुख्यमन्त्री जम्मकट्टेलले उल्लेख गरे ।

'सुशासन कर्मचारी संयन्त्रसमक्ष बढी इङ्गित गरेका छौं तर हामी आफैँले पनि त्यो पालना गरौं,' उनले भने ।

लोकसेवा आयोगलाई दोस्रो कार्यकालको सरकारले सहयोग गर्ने बताउँदै उनले भने, 'आयोगलाई परेका कानुनी अड्चन फुकाउँदै लैजान हामी तयार छौं ।' सुशासनयुक्त बागमती प्रदेश बनाउने अभियानमा सबैलाई सहयोग गर्न उनले आग्रह गरे । 

कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश लोक सेवा आयोगले तीन वर्षको कठिन यात्रा पार गरेकाेमा बधाई दिए । तीन वर्ष पहिले प्रदेश सरकारले आफ्नै अस्तित्व कायम राख्न चुनौती रहेको समयमा लोक सेवा आयोगका ऐन, नियम नभएको समयमा निकै समस्या भएको स्मरण गरे ।

सबैले विश्वास गर्ने, आस्थाको संस्थाका रूपमा रहेको लोक सेवा आयोगको विश्वसनीयता कायम गर्न उनले आग्रह गरे ।


Author

थप समाचार
x