बागमती

वडाध्यक्षकै ट्याक्टर अवैध नदीजन्य पदार्थ ओसार्दै

इकागज |
माघ ७, २०७९ शनिबार २०:३५ बजे

मकवानपुर- देशभर नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा रोक लगाइएका बेला मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाको एउटा वडाका अध्यक्षकै ट्याक्टर नदीजन्य पदार्थ ओसार्दै गर्दा समातिएको छ ।

ट्याक्टरले नदीजन्य पदार्थ ओसार्न लाग्दा रातको समयमा समातिएको हो ।


मकवानपुरगढीको ५ नम्बर वडाका वडाध्यक्ष दिपेश दाहालको प्रदेश–२–०३–००१ त ४३ ७२ नम्बरको ट्याक्टर शुक्रबार राति करिब १० बजे ६ नम्बर वडास्थित डुम्रेकुनामा समातिएको हो ।

नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा रोक लगाइएका बेला रातको समयमा गिट्टी बोकिएको भन्दै स्थानीय युवाहरूले ट्याक्टर नियन्त्रणमा लिएका हुन् ।

उक्त ट्याक्टरलाई शुक्रबार राति नै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको छ । मकवानपुरका प्रहरी प्रमुख बामदेव गौतमले अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको फेला परेपछि ट्याक्टरलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

 नियन्त्रणमा लिएको ट्याक्टर प्रहरी कार्यालयले सोमबारसम्म यतै राख्ने बताएको छ ।

आज शनिबार र भोलि आइतबार पनि सार्वजनिक बिदा परेकाले सोमबार मात्रै ट्याक्टर सम्बन्धित स्थानीय तहमा बुझाउने भएको हो । प्रहरीले ट्याक्टर चालकलाई भने हिरासत मुक्त गरिसकेको छ ।

वडाध्यक्ष दाहालले भने ट्याक्टर आफ्नो नभएको दाबी गतेका छन् । उनले होमनाथ गौतमको नाममा ट्याक्टर रहेको बताउँदै आफ्नो दाइ दिनेश दाहालले ट्याक्टर सञ्चालन गरिरहेको बताए ।

आफ्नो दाइले उक्त ट्याक्टर सञ्चालन गरिरहेको भन्दै वडाध्यक्ष दाहालले आफ्नो भने नभएको भनेर ‘दिउँसै रात पार्न खोजेको’ स्थानीय युवाको भनाइ छ। ‘ट्याक्टर मेरो हैन । मेरो दाइले चलाउँदै आएको हो,’ उनले सन्चारकर्मीसँग भने ।

वडाध्यक्ष दाहालले ६ नम्बर वडाकै सरमपुर भन्ने स्थानमा लुमन्ती भन्ने संस्थाले एक वृद्धको घर बनाइरहेकाले सहयोगका लागि गिट्टी पठाइएको बताए । उनले आफ्नो घर बनाउँदा बाँकी रहेको क्रस गिट्टी पठाइएको दाबी गरे ।

घर बनाउन लागेको गिट्टी राति नै किन पठाएको भन्ने प्रश्नमा उनले दिउँसो जान नभ्याएर राति गएको हुन सक्ने बताएका छन् । गलत तरिकाबाट गिट्टी नपठाइएको उनले दाबी गर्दै राति जाँडरक्सी खोनेहरूले गलत काम गरेको आरोप लगाए । 

यता गाउँपालिका कार्यालयले भने नदीजन्य पदार्थको कर हाल काटेको छैन । गाउँपालिकाले आन्तरिक विकास निर्माणमा कर नलाग्ने बताए पनि वडाध्यक्ष दाहालले उक्त ट्याक्टरमा गिट्टी कता पठाउँदै थिए भन्ने प्रमाणित भएको देखिँदैन । यदी उनले गिट्टी बाहिर निकासी गर्न खोजेको हो भने कर छली गर्न खोजेको आशंका स्थानीयहरूले गरेका छन् ।

मकवानपुरगढीमा यसअघि पनि रातिराति नदीजन्य पदार्थ र माटो ओसारपसार गरिरहेको प्रमाणित भएको थियो ।

करिब महिना दिनअघि २ नम्बर वडास्थित शिखरकटेरीमा ट्याक्टरले माटो ओसारपसार गरिरहेको फेला परेको हो । गाउँपालिकाबाट अवैध रूपमा नदीजन्य पदार्थ र माटो बाहिर निकासी भइरहँदा पनि जनप्रतिनिधिहरू मौन बसेका छन् ।

स्थानीयले जनप्रतिनिधिहरूको संलग्नतामा गाउँपालिकाको राजश्व गुमिरहेको आरोप लगाएका छन् ।


Author

थप समाचार
x