बागमती

बागमतीमा को-को हुँदैछन् मन्त्री ?

इकागज |
माघ १०, २०७९ मंगलबार १२:२४ बजे

फाइल तस्बिर

मकवानपुर - मन्त्रालय बाँडफाँटमा आन्तरिक भागबन्डा नमिल्दा बागमती प्रदेश सरकारले मन्त्री परिषद्‍लाई पूर्णता दिन सकेको छैन । प्रदेश सरकार गठन भएको दुई साता बितिसक्दा समेत मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो । गत पुस २६ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्रीको सपथ लिएका थिए । सोही दिन अन्य दुई जनालाई मन्त्रीको जिम्मेवारी दिएका जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

मन्त्रालयको टुङ्गो लगाएर मात्रै मन्त्रिपरिषद् विस्तारमा लाग्ने तयारीमा मुख्यमन्त्री जम्कट्टेललागिरहँदा सत्ता साझेदार दलका सांसदहरूले भने मन्त्री बन्न लबिङ तिव्रता दिएका छन् ।


सांसदहरूले आफू अनुकुल मन्त्रालयका लागि पार्टीका शीर्ष नेतृत्वसँगको भेटलाई बाक्लो बनाएका छन् ।  

हाल प्रदेशमा सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रबाट मन्त्रीमा आठ जनाको चर्चा रहेको छ । जसमा प्रदेशसभाकी पूर्वउपसभामुख राधिका तामाङ, पूर्वसामाजिक विकास मन्त्रीहरू युवराज दुलाल र कुमारी मोक्तान, पार्टीका प्रदेश अध्यक्ष सरल सहयात्री, नेताहरू गंगा नारायण श्रेष्ठ, युवराज चौलागाई, प्रेमबहादुर पुलामी र युवराज चौलागाईंको नाम चर्चामा रहेको छ । 

पुलामीले कुनै पनि हालमा आफूलाई एउटा मन्त्रालय दिनेमा पार्टी अध्यक्ष प्रचण्डनै कन्भिन्स भएको दाबी गरेका छन् । 

यता माओवादी केन्द्रले चार वटा मन्त्रालय दाबी गर्दै आएको छ ।

प्रदशे सरकारमा सबैभन्दा ठुलो दल एमालेले पाँच वटा मन्त्रालय दाबी गरिरहेको बेला पार्टीबाट मन्त्रीको आकाक्षीको रुपमा थप पाँच जनाको नाम चर्चामा रहेको छ ।

एमालेबाट प्रकाश श्रेष्ठ, केशवप्रसाद पोखरेल, भारती पाठक, एकालाल श्रेष्ठ, अमन कुमार मास्केलगायतको नाम चर्चामा छ । एमालेबाट जगन्नाथ थपलिया यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्री बनिसकेका छन् भने उपसभामुखमा अप्सार चापागाईं निर्वाचित भइसकेकी छिन् ।

यस्तै राप्रपाबाट प्रदेश सरकारको मन्त्रीमा कुमारी तामाङ, राजु विष्ट, डम्बरबहादुर तामाङ, लक्ष्मी  घिमिरे, राजेन्द्र प्रजापतिलगायतले आकांक्षा व्यक्त गरेका छन् । राप्रपाबाट प्रदेशको सभामुखमा भुवन कुमार पाठक निर्वाचित भइसकेका छन् भने उद्धव थापा बिना विभागीय मन्त्री बनिसकेका छन् । मन्त्रालयको टुङगो लागेसंगै थापालाई एउटा मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ ।

सरकारलाई समर्थन गरेको हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्रचार्य पनि मन्त्रीको लागि तीव्र लविङमा छन् । यस्तै सरकारलाई विश्वासको मत दिएको एकीकृत समाजवादीले पनि शक्तिशाली मन्त्रालय आफूहरूले पाउनु पर्ने दाबी गरेको छ । पार्टीगत रूपमा एकीकृत समाजवादीले दुई वटा मन्त्रालय दाबी गरिरहँदा यो पार्टीबाट कृष्णप्रसाद शर्मा खनाल, लक्ष्मण लम्साल, बसन्तप्रसाद मानन्धर, रमा आले मगर, राजेन्द्रमान श्रेष्ठ लगायतले मन्त्री पदको लागि लभिङ गरिहेका छन् ।

बागमती प्रदेशमा कुल ११० सदस्यमध्ये कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकीपाको ३ र हाम्रो नेपाली पार्टीको दुई जना सांसद छन् । 


Author

थप समाचार
x