बागमती

यो वर्ष चितवनमा वन्यजन्तुको आक्रमणबाट ६ जनाले ज्यान गुमाए

इकागज |
बैशाख १९, २०७८ आइतबार १२:५९ बजे

चितवन : चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट तीन, गैँडाको आक्रमणबाट दुई र बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार चालु आर्थिक वर्षमा २३ जना वन्यजन्तुको आक्रमणबाट घाइते भएका छन् । तीमध्ये गैँडाबाट १०, भालुबाट सात, बँदेलबाट पाँच र हात्तीको आक्रमणबाट एकजना घाइते भएका हुन् । गत आर्थिक वर्षमा मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट छ जनाको मृत्यु भएको थियो ।


हात्ती र गैँडाले तीन÷तीन जनालाई आक्रमण गरी मारेको थियो । गत वर्ष वन्यजन्तुबाट ३४ जना घाइते भएको उहाँले जानकारी दिनुभयो । त्यसमध्ये गैँडा र बँदेलले १३/१३, मगर गोही र हात्तीले तीन÷तीन तथा भालु र अजिङ्गरले एक/एक जनालाई घाइते बनाएको थियो । मध्यवर्ती क्षेत्रमा वन्यजन्तुबाट आक्रमण भई मृत्यु भएका परिवारलाई सरकारले राहत दिने व्यवस्था छ । वन्यजन्तुबाट हुने क्षति राहत निर्देशिका २०६९ को तेस्रो संशोधन २०७५ अनुसार मृतकले रु १० लाख पाउने व्यवस्था छ ।

अधिकारीका अनुसार घाइतेका हकमा रु दुई लाखसम्म निकुञ्ज कार्यालयले दिने व्यवस्था छ । अङ्गभङ्ग भएर लामो समय उपचार गर्नुपर्ने अवस्थामा सरकारी अस्पतालमा गरेको उपचारको सबै खर्च सरकारले व्यहोर्ने ऐनमा व्यवस्था छ । आकस्मिक अवस्थामा भने जुनसुकै अस्पतालमा उपचार गर्न पाउने व्यवस्था छ । विगतका वर्षमा राहत ढिलो प्राप्त हुने समस्या रहेकामा हाल भने निकुञ्जको कार्यालयले राहत दिने भएकाले प्रक्रिया पूरा गरी तत्काल भुक्तान गरिँदै आएको छ ।


Author

थप समाचार
x