बागमती

बागमती प्रदेशको पाँच अस्पतालबाट अक्सिजन उत्पादन गरिने

सुसन लामिछाने |
बैशाख २१, २०७८ मंगलबार १२:१ बजे

फाइल तस्‍बिर

हेटौंडाः बागमती प्रदेशको पाँच जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडानगरी अक्सिजन उत्पादन गरिने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले ठूला अस्पतालहरूमा अक्सिजन प्लान्ट जडान गरेर अक्सिजन उत्पादन गर्न सुरु गर्ने भएको हो । प्रदेशको सिन्धुली अस्पताल र त्रिशुली अस्पतालमा अक्सिजन प्लान्ट जडान गरेर उत्पादन सुरु भइसकेको सामाजिक विकास मन्त्रलायका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईले बताए ।

‘प्रदेश सरकारले प्रति अक्सिजन प्लान्ट राख्न ८० लाख रुपैयाँ खर्च गर्दैछ’, उनले भने, ‘अहिले सिन्धुली जिल्ला अस्पताल र नुवाकोटको त्रिशूली अस्पतालमा अक्सिजनको ठूलो प्लान्ट राखिएको छ ।’ यसैगरी प्रदेशको धादिङ र भक्तपुर जिल्ला अस्पतालसँग अक्सिजन प्लान्ट राख्न सम्झौता भई उत्पादनको अन्तिम चरणमा पुगिसकेको उनले जानकारी दिए ।  


मन्त्रालयले प्रदेशको राजधानी हेटौंडामा समेत ठूलो अक्सिजन प्लान्ट राखेर अक्सिजन उत्पादन गरी बिक्री गर्ने योजना बनाएको छ । अहिले हेटौंडा अस्पतालमा अक्सिजन सिलिन्डर मात्रै प्रयोग हुँदै आइरहेको छ । तर निकट भविष्यमा अस्पतालले नै अक्सिजन उत्पादन गरेर सिलिन्डरमा भरेर बिक्री गर्ने प्रवक्ता सेढाईले बताए ।   

कोभिड–१९ को अहिलेको अवस्थामा प्रदेशमा अक्सिजन अभाव नहुने उनको भनाइ छ । पाँचै अस्पतालबाट अक्सिजन उत्पादन भएर सिलिन्डरमा भरेर अन्यत्र लैजान सकिने उनले जनाए । यसैगरी स्वास्थ्य आपू्र्ति तथा व्यवस्थापन केन्द्र बागमती प्रदेशसले ठूलो सिलिन्डर ८० थान मौज्दात राखेको छ । ‘केन्द सरकारबाट पनि अक्सिजन सिलिन्डर उपलब्ध हुँदैछ भने प्रदेश सरकारले सिलिन्डर खरिद पक्रिया अघि बढाउँदैछ’,उनले भने, ‘हामीले अक्सिजनको अभाव नै नहोस भनेर काम गरिरहेका छौं । सकभर त्यस्तो समय नआए पनि हामी तयारी अवस्थामै छौं ।’ प्रदेशको पाँचै अस्पतालबाट अक्सिजन उत्पादन सुरु भएपछि करिब १ हजार जनालाई अक्सिजन दिन सकिने डा. सेढाईको अनुमान छ । हाल प्रदेशमा ४ सय १५ आइसीयू बेड रहेकोमा २ सय ९७ जना आइसियूमा उपचाररत छन् । यस्तै प्रदेशभर १६० भेन्टिलेटर रहेकोमा ११३ जना भेन्टिलेटरमा उपचारत छन् ।  

यता नुवाकोटको त्रिशूली अस्पतालले एक महिनादेखि अक्सिजन उत्पादन गर्दै आएको छ । प्रदेश सरकारको सहयोगमा अक्सिजन प्लान्ट राखेर प्रति मिनेट ३ सय घनलिटर अक्सिजन उत्पादन हुँदै आएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट दिपेन्द्र पाण्डेले जानकारी दिएका छन् । अस्पतालको ५० बेडमा अक्सिजन जाने भए पनि ७६ थान अक्सिजन सिलिन्डर अस्पतालले स्टक राखेको छ । ‘अक्सिजन अहिले उत्पादन गरेर सिलिन्डरमा भर्न कार्य भने भएको छैन । अबको १५ दिनभित्र बुस्टर खरिद भएर आएपछि उत्पादित अक्सिजनलाई सिलिन्डरमा भरिनेछ’ उनले भने । मेसु श्रेष्ठले खरिद प्रक्रिया अघि बढिसकेको र कोभिडको यस्तो समयमा अस्पतालमा अक्सिजन उत्पादन भएपनि सिलिन्डरमा भने प्रयोग नभएको जानकारी गराए । अहिलेसम्म अस्पतालले उत्पादन गरेको अक्सिजन प्रयोगमा आएको उनले बताए । 

सिन्धुली जिल्ला अस्पतालले जडान गरेको अक्सिन प्लान्टले २४ घण्टामा १४ सय लिटर अक्सिजन उत्पाद गर्न सक्छ । अहिले अस्पतालले उत्पादन गर्ने अवस्थामा भने छैन । अस्पताल जनशक्ति अभाव रहेकोले कोभिड अस्पताल संचालन हुन नसकेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट उमेश प्रधानले जानकारी दिए । अक्सिजन प्लान्ट राखिए पनि बुस्टर आवश्यक पर्ने भएकोले त्यसको खरिद प्रक्रिया अघि बढाएको उनको भनाइ छ । ‘अक्सिजन प्लान्टमा बुस्टर जडान भएपश्चात २४ घण्टामा १४ सय १० लिटर अक्सिजन उत्पादन हुनेछ । उत्पादन भएको अक्सिनज सिलिन्डरमा समेत राखेर बिक्रि गर्न सकिन्छ’ उनले भने । अक्सिजन प्लान्ट चल्दा मासिक २ लाखको बिजुलकीको शुल्क उठ्छ । सिलिन्डरमा अक्सिजन भरेपछि बिक्री गरेर त्यसको पूर्ति हुने उनले बताए ।  


Author

थप समाचार
x