बागमती

काठमाडौँ महानगरपालिकाले थप पीडा दिएको भूमिहीनहरूको गुनासो

इकागज |
फागुन ८, २०७९ सोमबार १९:५० बजे

फाइल तस्बिर

काठमाडौँ- ​भूमिहीनहरूले काठमाडौँ महानगरपालिकाले आफूहरूलाई थप पीडा दिएको गुनासो गरेका छन् ।

विश्व सामाजिक न्याय दिवसको अवसर पारेर सोमबार काठमाडौँमा आयोजित ‘सामाजिक न्याय संवाद श्रृङ्खला’ कार्यक्रममा बोल्दै पीडित जानुका पोखरेललगायतले आफूहरूको बस्तीमा डोजर आतंक फैल्याएर काठमाडौँ महानगरपालिकाले झनै पीडा दिएको बताएका हुन् । काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएकी पोखरेलले खाना, छाना र नानाको अभावमा रहेका आफूहरूलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले झनै उठिबास लगाउन खोजेको भन्दै आक्रोश व्यक्त गरिन् ।


उनले आफूहरूमाथि अन्याय नगर्न पनि काठमाडौँ महानगरपालिका र संघीय सरकारलाई आग्रह गरिन् । गरिबको पक्षमा सबै तहका सरकारले काम गर्नुपर्नेमा दुःख दिएको उनको दुखेसो थियो । पोखरेलले भनिन्, ‘गरिबीको भोगाई छ । भोकको पीडा छुट्टै छ । महामारी, सरकारको दिएको यातना । यी सबैको पीडा हामीले भोग्नु परेको छ । हामीमाथि नै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले पनि डोजर चलाएर आतंकित पारेका छन । उनी आएपछि त झन हामीले पीडा भोग्नु परेको छ ।’

यता, काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त नवराज प्याकुरेलले भने भूमिहीनहरूको समस्या समाधानका लागि आफूहरू सम्बन्धित पक्षसँग सहकार्य गरेर अघि बढ्न लागि परेको दाबी गरे । उनले त्यसका लागि ठोस योजना ल्याउन स्थानीय सरकार र संघीय सरकारको ध्यानाकर्षण समेत गराए । विकास आयुक्त प्याकुरेलले काठमाडौँ उपत्यका भित्र सामाजिक न्याय स्थापित हुने गरी पीडितहरूको माग सम्बोधन गराउने काममा आफूहरूले काम काम गरिरहेको पनि बताए ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणले सबैको बस्न पाउने अधिकारलाई सुनिश्चित गर्न आफ्नो तर्फबाट सक्दो पहल गरिरहेको पनि विकास आयुक्त प्याकुरेलले बताए । 


Author

थप समाचार
x