बागमती

राष्ट्रपति भण्डारीद्वारा हेटौंडा अस्पताल उद्घाटन

इकागज |
फागुन ९, २०७९ मंगलबार १३:११ बजे

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरको हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको आज उद्घाटन गरेकी छन्।

प्रतिष्ठानको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले स्वस्थ मानिसबाट मात्रै स्वस्थ समाज र सुदृढ राज्य निर्माण कार्यलाई यथार्थ कार्यरूप दिने र प्रतिष्ठानले यो अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । नेपालको संविधानमा नागरिकका लागि सुनिश्चित स्वास्थ्य सेवाको अधिकार लागू गराउनमा प्रतिष्ठानले टेवा पुर्‍याउने उनले बताइन् । " नेपालको औद्योगिक क्षेत्रको रूपमा रहेको प्रदेशको राजधानीमा, स्थापित यो प्रतिष्ठानले  जनतालाई माया गर्ने स्वास्थ्यकर्मी उत्पादन गर्न सक्दामात्रै र स्वास्थ्य अनुसन्धानको क्षेत्रमा काम गर्दा मात्रै जननेता मदन भण्डारीको नाममा स्थापित यस प्रतिष्ठानको उदेश्य सार्थक हुनेछ" उनले भनिन् ।


राष्ट्रपति भण्डारीले जनताकाे स्वास्थ्यका निमित्त स्वास्थ्य क्षेत्रमा विकास हुन जरुरी रहेको बताइन् । आम नागरिकलाइ गुणस्तरीय सेवा प्रदान गर्न मदन भण्डारीकाे स्मृतिमा भवन निर्माण हुनुले आफूलाई  खुसी लागेकाे उनले बताइन् । "केवल राेग नलाग्नु मात्र स्वस्थ हुनु हाेइन स्वस्थ हुन सकारात्मक रहनु नै वास्तवमा स्वस्थ रहनु हाे, हाल व्याप्त जनसंख्या वृद्धि, संक्रामक राेगहरुकाे प्रकाेपलाई न्यूनीकरण गर्ने कुरामा मध्यनजगर गर्दै सार्वजनिक स्वास्थ्य सेवालाई सुदृढ गर्न तिनै तहकाे महत्त्वपूर्ण भूमिका रहने उनले बताइन् ।

कार्यक्रममा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले २०७४ सालकाे निर्वाचन पश्चात् स्थापना भएकाे वाग्मती प्रदेश सरकारले शिक्षा र स्वास्थ्यलाई पहिलाे प्राथमिकतामा राखेर काम गरेकाे बताए । 

 २०७६ असाेज २ गते मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले वाग्मती प्रदेश सभाबाट विधिवत रुपमा नामाकरण भएकाे थियो ।  वाग्मती प्रदेशकाे दूरदराजका गाउँहरुमा स्वास्थ्य  जनशक्ति उपलब्ध गराउने काममा प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्नु पर्ने  मुख्यमन्त्री जम्कट्टेलले बताए । 

उद्घाटनपछि राष्ट्रपति भण्डारीले अस्पतालकाे अवलाेकन तथा निरीक्षण समेत गरेकी थिइन् । 

हेटाैडा उपमनपा-१ स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटाैडा अस्पतालकाे परिसरमा अस्पतालकाे नवनिर्मित भवन उद्घाटन समाराेह कार्यक्रम मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति विश्वराज जाेशिकाे सभाध्यक्षता तथा वाग्मती प्रदेश प्रमुख यादव चन्द्र शर्मा, वागमती प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति शालिक राम जमर्कट्टेल, प्रदेश सरकारका प्रथम मुख्यमन्त्रि डाेरमणि पाैडेल, प्रदेश सभामुख भुवन पाठक, प्रतिष्ठानका सहकुलपति  तथा स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, प्रतिनिधि सभा सदस्य महेष बर्ताैला, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई लगायतकाे विशिष्ट आतिथ्यतामा करिब चार सय जनाकाे उपस्थिति थियो ।


Author

थप समाचार
x