बागमती

निषेधाज्ञाको पीडा : रोगसँगै भोकले मर्ने चिन्ता !

सुसन लामिछाने |
बैशाख २२, २०७८ बुधबार ११:३६ बजे

हेटौंडा :  ‘बिहानैदेखि बेलुकासम्म सडक छेउमा आएर बसेँ तर कामै पाइएन’ २४ वर्षका सदाम हुसेनले सुनाए । 

निषेधाज्ञा लागू भएपछि हेटौंडामा उनले काम नै पाएनन् । हुसेन भन्छन्,‘हाइवेमा सवारी चलेपनि रोक्न पाइदैन । ट्रक, ट्रयाक्टर नरोको हाम्रो काम हुन्न ।’ 


ट्रक तथा ट्याक्टरको त्रिपाल सिलाउने काम उनले गर्दै आएका थिए । जितपुर घरभएका उनी ६ वर्षदेखि हेटौंडामा काम गर्दै आइरहेका छन् । ‘महामारीले हाम्रो रोजीरोटी नै खोस्ला भन्ने पीर छ’,उनले भन्छन्,‘अरु नयाँ काम गर्न आउँदैन काम पाए हुन्थ्यो ।’ 

मुख्य वर्षातको समयमा त्रिपाल सिलाउने काम बढी हुने भए पनि निषेधाज्ञाले कामै नपाएको उनी गुनासो गर्छन् । हेटौंडा उपमहानगरपालिकामा निषेधाज्ञा लागू भएपनि हाइवेमा गुड्ने सवारीहरूलाई रोकिएको छैन ।

दिनैभर कुरेर पनि काम पाउन नसेकेकोमा आरिफ अन्सारी चिन्ता व्यक्त गर्छन् । उनीहरू कोठा भाडामा लिएर बसेका छन् । कामै पाउन छोडेपछि आरिफले भन्छन्,‘अब ऋण लिएर दैनिकी गुजारा चलाउँछौँ ।’ मासिक १० हजार खर्च कटाएर जोगाउने गरेको भएपन उनीहरूले तीन दिनदेखि काम पाउन सकेका छैनन् । 

कोभिड–१९ जोखिम न्यूनिकरण गर्न प्रशासनले जारी गरेको निषेधाज्ञामा उनीहरू मात्रै होइनन् सवारी चालकहरु पनि बेरोजगार बन्न पुगेका छन् । हेटौंडामा ८ वर्षदेखि टेम्पो चलाउँदै आएकी जुना थिङ निषेधाज्ञाले बेरोजगार बनाएको बताउछिन् । कति दिन बेरोजगार बस्नुपर्ने हो उनलाई थाहा छैन । यसैगरी म्याजिक चालक हरिशरण थापा गतवर्षको लकडाउनमा १ सय ८० दिन सवारी थन्काएर राख्नुपरेको सुनाउँछन् । 

अब फेरि कति दिन गाडि थन्काउनुपर्ने हो, थापा चिन्ता व्यक्त गर्दै भन्छन्,‘सवारी बन्द हुँदा दैनिक आम्दानी नै गुम्यो ।’ 

दैनिक ३ हजार खर्च कटाएर बचाउने गरेका थापालाई अब बंैकको किस्ता तिर्ने चिन्ता थपिएको छ । 


Author

थप समाचार
x