बागमती

हेटौंडा अस्पतालको 'हाइ डिपेन्डेन्सी' बेड भरियो

इकागज |
बैशाख २३, २०७८ बिहीबार ११:३८ बजे

हेटौंडाः हेटौंडा अस्पतालले शुक्रबारबाट संचालनमा ल्याएको २० हाइ डिपेन्डेन्सी (एचडीयू) बेड भरिएको छ । कोडिड–१९ उपचार कक्षको २० एचडीयू बेडमा १९ जना गम्भीर संक्रमितहरू भर्ना भएर बसेका छन् । यस्तै ४ जना आइसीयूमा रहेको कोभिड इन्चार्ज डा.सागर काफलेले जानकारी दिए । उनकाअनुसार एचडीयू बेडमा १२ जना पुरुष र ७ जना महिला उपचाररत छन् भने छुट्टै आइसीयूमा ३ पुरुष र एक महिला उपचाररत छन् । उनीहरूमध्ये ३ जनालाई अक्सिजन दिएर राखिएको छ भने एक जनालाई भेन्टिलेटरको सहायतामा राखिएको छ । 

अस्पतालबाट ८ जनाको अवस्था सामान्य भएपछि डिस्चार्ज भएका छन् । अस्पतालले प्रसुति सेवा र आकस्मिक सेवा बन्द गरेर आइसीयू वार्डलाई पनि कोभिड वार्डमा परिणत गरेको छ । अस्पतालमा अहिले १७ आइसीयू बेड रहेकोमा ४ जनाले सेवा लिइरहेका छन् । यस्तै अस्पतालले ५० जनासम्म गम्भीर प्रकृतिका कोभिड संक्रमितहरूलाई उपचार दिन सक्ने अस्पताल प्रमुख डा. प्रविण श्रेष्ठले जानकारी गराए । हेटौंडा अस्पतालाई अब आवश्यकता अनुसार हेटौंडा उपमहानगरले स्वास्थ्यकर्मीहरू पठाउने निर्णय भएको छ ।


हेटौंडा अस्पतालमा रहेको ६ भेन्टिलेटर मध्ये ४ वटामात्र प्रयोगमा छन् । उच्च अक्सिज दिँदा नभए संक्रमितलाई भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ । आइतबारदेखि अस्पतालको कोभिड–१९ उपचार कक्षमा दैनिक रूपमा संक्रतिहरूको मृत्यु हुन थालेको छ । मृत्यु हुनेहरूमा दिर्घरोगीहरू भएको अस्पतालले जनाएको छ । आइतबारदेखि बुधबारसम्म कोभिड उपचार कक्षमा ६ जना संक्रमितको मृत्यु भएको छ ।

निजी अस्पतालाई कोभिड अस्पताल बनाइँदै  
हेटौंडाको एक निजी अस्पताललाई कोभिड अस्पताल बनाइने भएको छ । बुधबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले चुरेहिल अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । गम्भीर संक्रमितहरू बढ्दै गएपछि आइसियूसहि २५ बेड को कोभिड अस्पताल संचालनमा ल्याइने भएको हो  । चुरेहिल अस्पतालमा अहिले ८ आइसीयू बेड छन् भने एक मात्र भेन्टिलेटरको सेवा उपलब्ध भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण पराजुलीले बताए ।  कोभिड आइसीयू भनिए पनि भेन्टिलेटरको नभई आइसीयूसहितको सेवा मात्र उपलब्ध हुने भएको छ । 

 


Author

थप समाचार
x