बागमती

वडामै पुगेर योजना सम्झौता

इकागज |
चैत २४, २०७९ शुक्रबार ६:५१ बजे

सिन्धुपाल्चोक - हिउँदे अधिवेशनबाट छनोट भएका योजनाको वडामै पुगरे उपभोक्ता समिति दर्ता तथा योजना सम्झौता हुन थालेपछि स्थानीयले गाउँमै सिंहदरबार आएको महसुस गर्न थालेका छन् । मेलम्ची नगरपालिकाले स्थानीयको समस्यालाई मध्यनजर गर्दै योजना वडास्तरमा नै सम्झौता थालेको हो ।

नगरपालिकाले वडा नं १, २, ३ र ५ का योजनाको नगरबाट सम्बन्धित वडा कार्यालयमै पुगेर अनलाइन प्रणालीबाट उपभोक्ता समिति दर्ता तथा योजना सम्झौता गर्ने कार्य सम्पन्न भएको योजना शाखाका प्रमुख रामकुमार केसीले जानकारी दिए। नगरपालिकाले योजना सम्झौता हुनुभन्दा अगाडि १३ वटै वडामा गएर उपभोक्ता समितिलाई  अनुशिक्षण कार्यक्रम समपन्न गरिसकेको छ ।


स्थानीयलाई पालिका केन्द्रसम्म धाउन सास्ती हुने भन्दै जनप्रतिनिधि र कर्मचारीको टोलीले वडामा पुगेर योजना सम्झौता गरेको वडा नं १ का वडाध्यक्ष कृष्णमुरारी चौलागाईंले जानकारी दिए । उपभोक्ता समितिका तीन जना मुख्य पदाधिकारी नगरमै आएर सम्झौता गर्नुपर्नेमा यसरी टाढाको दूरीमा रहेकालाई वडामै गएर सम्झौता गर्दा उपभोक्ता समितिलाई सहज हुनुका साथै पालिकासम्म आउने खर्चसमेत कम हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए।

समयमै एकमुष्ट सबै योजना सम्झौता गरिँदा योजनाको काम पनि समयमै सम्पन्न हुने गरेको स्थानीयको भनाइ छ । अनलाइन प्रणालीबाट योजना सम्झौता हुने हुँदा पहिलाको जस्तो झन्झटिलोसमेत नहुने योजना शाखाका कर्मचारी माया खड्काले बताए। यसअघि १२औँ अधिवेशनबाट विनियोजित योजना पनि नगरबाट टाढाको दूरीमा  रहेका वडा कार्यालयमा पुगेर नै योजना सम्झौता गरिएको नगर उपप्रमुख उमा प्रधानको भनाइ छ ।

यसले योजना कार्यान्वयनमा सहजता भएको उहाँको भनाइ छ । उपभोक्ताको सहजताका लागि वडा–वडामै पुगेर योजना सम्झौताको काम गरेको नगरपालिकाका प्रमुख आइतमान तामाङले बताए। नगरवासीको सहजताका लागि आगामी दिनमा समेत प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने उहाँले जानकारी दिए । रासस


Author

थप समाचार
x